मंकिपक्स संक्रमण रोक्न पूर्वतयारी

 सम्पादकीय

पूर्वतयारी र प्रतिकार्यको व्यवस्थान नहुँदा कोभिड–१९ को महामारीमा ठूलो क्षति भयो । सरकारी निकायबाटै नेपालीहरुको रोग प्रतिरोध क्षमता बलियो छ, हाच्छिउ गरेर कोरोना भगाउन सकिन्छ, अम्बाको पात खाएमा कोराना ठिक हुन्छ जस्ता उडन्ते र हावादारी प्रचार भए । जसको कारण १० हजारभन्दा धेरै नागरिकले ज्यान गुमाउन बाध्य भए । कोराना महामारीको कारण लामो समयसम्म गर्नुपरको लकडाउनको कारण आर्थिक रुपमा भएको क्षतिको मार अहिले पनि मुलुकले भोगिरहेको छ । नेपाल सुरक्षित छ भन्ने प्रधानमन्त्री र सरकारहरुकै लज्जास्पद कदमले विश्वमै नेपालको बेइज्जत भयो । अहिले फेरि नयाँ महामारीले घण्टी बनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकिपक्स रोगको महामारी फैलिएको जनाएको छ । तर, नेपालमा जोखिम नियन्त्रण र प्रतिकार्यका लागि तयारी भएको छैन । अफ्रिकी मुलुकहरूमा कैयौंको ज्यान लिइसकेको यो रोग पाकिस्तानमा देखिइसकेको छ भने नेपाल पनि जोखिममा छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार कोभिडभन्दा मंकिपक्स खतरनाक छ । श्वासकै माध्यमबाट एकअर्कामा सर्ने यसले जटिल अवस्था ल्याउनसक्ने चिकित्सकहरुले बताएका छन् । यसको संक्रमणबाट ज्वरो आउने, छाला, अनुहार, हत्केला र पैतालाहरूमा बिबिरा (डाबर)हरू देखा पर्ने, मांसपेशीहरू दुख्ने र संक्रमण जटिल बन्दै र बढ्दै गएर दृष्टि गुम्ने, निमोनिया हुने, मस्तिष्कमा असर पुग्ने र अन्तमा ज्यानै जाने जोखिम रहेको विज्ञहरुले बताएका छन् । सरकारले जोखिम न्युनिकरणको लागि नीतिगत तयारीसँगै स्वास्थ्य सेवा चुस्त दुरुस्त पार्ने, सकेसम्म रोग भित्रिन नदिने र भित्रिइहाले नागरिकको स्वास्थ्योपचार गर्ने आवश्यक तयारी अहिलेदेखि नै गर्न जरुरी छ । गत वर्ष नेपालमा एक जना विदेशी नागरिक एमपक्सबाट संक्रमित भएको पत्ता लागेको थियो । जसको कारण फेरि पनि संक्रमण आउँदैन भनेर ढुक्क हुने अवस्था छैन ।

विश्व स्वास्थ्य संगठनले यसअघि पनि मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । तर, त्यो समय भन्दा मंकीपक्सको नयाँ भेरियन्ट ‘क्लेड १ बी’ को संक्रमण दर बढिरहेको र घातक पनि मानिएको छ  । संक्रमण देखिने जोखिम रहेकोले सतर्कता र पूर्वतयारी सरकारी तवरबाट र नागरिक तहबाट पनि आवश्यक छ । भाइरस र यसको संक्रमणपछि देखिने लक्षण तथा साधारण÷जटिल स्वास्थ्य समस्या, व्यक्ति–व्यक्तिले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा पनि जनचेतना फैलाउन आवश्यक छ । अन्य संक्रमणमा जस्तै यसमा पनि बालबच्चा, वृद्धवृद्धा तथा गर्भवतीहरूलाई अतिरिक्त हेरचाह आवश्यक पर्छ । परिवारका सदस्यहरू यसप्रति संवेदनशील बन्नुपर्छ । आत्तिने र संक्रमणलाई कमजोर ठान्ने दुबै प्रबृत्ति गलत हुनेछ, त्यसले हानी मात्र पुर्याउनेछ । त्यसैले सचेत भएर संक्रमणको जोखिम न्युनिकरण गर्न पूर्वतयारीमा लाग्नुपर्छ ।

आइतबार, ०९ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर