विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्कमार्फत आगामी बजेटका योजना छनौट गरेर अगाडि बढ्ने बताएका छन् ।
योजना एकतिर र बजेट अर्कोतिर हुने परिपाटी अन्त्य गर्न योजना बैंकमार्फतका योजनामा बजेट निर्माण गर्ने गरि अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।
प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिए । योजनाहरु कार्यान्वयनमा प्रदेश सभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदारहरु र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
योजना बैंक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले आगामी दिनमा बिकृति रोक्ने बताए । प्रदेश स्थापना भएको अवधिमा प्रदेशमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भएपनि यसको प्रचार गर्न नसक्दा प्रदेशविरुद्ध वितृष्णा फैलाइएको उनले बताए । ‘दुई ठूला दल मिलेपछि प्रदेश संरचना चाहिँदैन भन्ने आवाज केही व्यक्तिहरूबाट आउन थालेको छ’ उनले भने, यसले अराजकता निम्ताउन सक्छ । बरु हामीले यसलाई बलियो बनाउनेतर्फ लाग्नु पर्छ ।’
प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । त्यसका लागि स्थानीय स्रोत, साधन र खनिज पदार्थको अधिकतम् उपयोग र निर्यात गर्न आवश्यक रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनको उत्पादन वृद्धि र जलविद्युतको निर्यात जरुरी रहेको बताए । पर्यटक आवागमन वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित वासस्थानमा व्यवस्था गरी दुई छिमेकी देशका नागरिकहरूलाई आकर्षण गर्नुपर्ने कार्कीलेब बताए ।
भारतीयहरूलाई नेपाल आगमनमा सहजता दिन भारतीय रुपैयाँ ५ सय र एक हजारको नोट एवं २५ हजारभन्दा बढी रकम ल्याउनका लागि पहल गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी र्दिका छन् । त्यसो हुन सकेमा प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग मिल्ने उनको भनाइ छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले प्रदेशका योजना व्यवस्थित गर्न काम गरिरहेको बताए । आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्ले, ओमधरानन्द राजोपाध्याय र डा.अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखी विकासको कामलाई गति दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष प्रा.डा.जगदीशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।