अभयकुमार राई
राष्ट्रिय खेल भलिबल भएपनि विराटनगरमा खेलकुदप्रेमीको रोजाई भने क्रिकेट र फुटबल नै छ । सामूहिक रुपमा हुने खेलको आनन्द लिन दर्शक र खेलप्रेमीलाई खुला मैदानमा नै पुग्नुपर्ने हुन्छ । त्यहाँ खेलको वातावरण नै फरक रहन्छ । चार भित्ताको कभर्डहलभित्र र रंगशालाको एक कुनामा हुने खेलकुदले कम महत्व पाउँछन् । खेलकुदका लागि मैदानको आवश्यकता पर्छ । विराटनगरमा खेलका लागि मैदान भनेर किटान नभएपनि २००६ सालतिर हालको सरस्वती मन्दिरतर्फ फुटबल खेलिन्थ्यो । २००७ सालको राजनीतिक क्रान्तिपछि विशेश्वरप्रसाद कोइरालाले सो मैदानलाई हवाईफिल्डका रूपमा परिणत गरे । अर्कोतर्फ आदर्श विद्यालय अघिल्लोतर्फ अर्को खुला मैदान थियो । जहाँ राजनीतिक घटनाक्रम हुन्थ्यो, नेताहरूको भेटघाट र भेला भाषणले स्थान पाउने गर्दथ्यो । राजनीतिक भाषण गर्ने थलोको रुपमा रहेको खुला चौर नै २००७ सालपछि सहिद मैदान कहलियो । नेपालको लागि पहिलो अन्र्तराष्ट्रिय फुटबलमा सहभागिता जनाएका विराटनगर ९ का विष्णु बरालका अनुसार खुला मैदानको नाम राणा शासनविरुद्ध लडेर ज्यान दिएका सहिदहरुप्रतिको सम्मानमा राखिएको हो । क्रान्तिमा निधन भएकाहरुको सम्झानामा सहिद मैदानको नाम दिइएकोमा अहिले पनि त्यहि नामले चिनिन्छ ।
विष्णु बरालसँगै विराटनगरको खेलकुदमा द्वारिकाबहादुर श्रेष्ठ, रामभक्त श्रेष्ठ, केशव कोइराला, श्रीहर्ष कोइराला, तारिणीप्रसाद कोइराला, प्रकाश कोइराला, रामभक्त श्रेष्ठ, शालिग्राम दाहाल, ऋषिराज आचार्य, जयनारायण चौधरी, पार्थसारथी सेन गुप्ता, राम थापा, गोविन्दप्रसाद दाहाललगायतको योगदान बिर्सन सकिँदैन । उनीहरुले फुटबलसँगै क्रिकेट, कराँते, एथलेटिक्स, भारोत्तोलन, भलिबललगायतका खेलको बीजोरोपण गरेको मानिन्छ । तत्कालिन समय बडाहाकिमको तजबीजमा खेलिने फुटबलले विराटनगरमा २००९ सालबाट औपचारिकता पाएको थियो । जुनबेला खेलकुद मन पराउने युवा जमात द्वारिकाबहादुर श्रेष्ठ, रामभक्त श्रेष्ठ, तारिणीप्रसाद कोइराला, केशवप्रसाद कोइराला, मास्टर बाजे, रमाप्रसाद रिजाललगायतको अग्रतामा क्लबको स्थापना भएको थियो । टाउन क्लबले फुटबललाई अघि बढाउन र खेलाडीलाई अवसर दिन थालेको थियो । विराटनगरमा २००९ सालको फागुनबाटै एथलेटिक्सको सुरुवात भएको देखिन्छ । रानीस्थित हालको प्रहरी तालिम केन्द्रमा तत्कालिन बडा हाकिम नीरविक्रम राणा, तारणीप्रसाद कोइराला, केशव कोइराला लगायतले एथलेटिक्स गतिविधि अघि बढाएको मानिन्छ । क्रिकेट खेल भने बनारस पढेर २०१० सालतिर विराटनगर आएका प्रकाश र श्रीहर्ष कोइरालाले अघि बढाएका हुन् । त्यसबाहेक अन्य खेलहरु ३० को दशकमा विराटनगरमा खेल्न थालिएको हो ।
फुटबल र विराटनगर
फुटबलसँग विराटनगरबासीको पुरानो सम्बन्ध छ । सरस्वती टोलमा रहेको खेलमैदामा २००६ साल अगाडि फुटबल खेलिन्थ्यो । राजनीतिक क्रान्तिपछि सो मैदानलाई वीपी कोइरालाले हवाईफिल्डका रुपमा प्रयोग गरे । औपचारिक रुपमा भने विराटनगरमा ७२ वर्षअघि फुटबलले स्थान पाएको हो । २००९ सालमा पहिलोपटक टाउनक्लब गठन भएपछि औपचारिक रुपमा खेल गतिबिधि सुरु भएको सो क्लबको सदस्यसमेत रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो अन्र्तराष्ट्रिय गोलकिपर विष्णु बराल सम्झन्छन् । ८३ वर्षीय बरालले भने, ‘टाउन क्लबपछि मोरङ ११ का रुपमा स्थापित हुँदैगयो । त्यसपछि विस्तारै विराटनगरमा फुटबलले जरा गाढ्दै गएको हो ।’ त्यसबेला मोरङ ११ को जन्म भइसकेको थियो । २०१६ सालपछि भारतको कोलकातामा रहेका अमर थापा, आइएस सुब्बालाई विराटनगर झिकाइयो । कोलकातामा रोजगारी गर्दै फुटबलमा भिजेका दुबैलाई राखेर टोली बनाउँदा अन्र्तराष्ट्रियस्तरमा मोरङ ११ ले दख्खल राखेको थियो । विराटनगरमा फुटबलको ठूलो प्रतियोगिता भने नरशमसेर ट्रफी नै हो । बरालको भनाइमा टाउन क्लब स्थापनापछि मोरङ ११ को सुरुआतसँगै औपचारिक रूपमा विराटनगरमा फुटबलका दायरा बढेको हो । त्यसक्रममा नर शमशेर ट्रफीमा मोरङको सहभागिता अहम रहन्थ्यो । नेपाली फुटबलको इतिहासमा जनकको रूपमा स्थापित नर शमसेरको नाममा ट्रफीपछि विराटनगरमा विस्तारै अनन्त मेमोरियल रनिङ शिल्ड, वडा हाकिम रनिङ शिल्ड, अञ्चलस्तरीय प्रतियोगिता हुँदै आएको थियो ।
बरालका अनुसार २०१८ सालमा तत्कालिन राजा महेन्द्रको नामबाट फुटबल आयोजना गरियो । फुटबल मास गेम भएको हुँदा दर्शकको उपस्थिति बढ्दो थियो । विदेशी क्लबहरू पनि आउँदा दर्शकको झुकाव बढी रहन्थ्यो । २०१८ सालमा सम्पन्न पहिलो संस्करणमा मोरङ ११ टोली उपविजेता भएको थियो । त्यसपछि, २०१९ मा, मोरङ ११ ले भारतीय क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । सो समय गोल्डकप आयोजना हुँदा सहिद मैदान खुला चौर नै थियो । जहाँ खेल हुने स्थान वरिपरि तारजालीको घेराबारा हुन्थ्यो र सवारी साधनको डढेको मोविलले रेखाङ्कन गरिन्थ्यो ।
नरशमसेरकै अग्रसरतामा पहिलो पटक नेपाली फुटबल टोली २०२० साल कार्तिकमा बंगलादेशको ढाकामा आयोजित आगा खाँ गोल्डकप फुटबल प्रतियोगिता सहभागी भएको हो । नोस्टाल्जियामा फर्कदै बराल भन्छन्, ‘पहिलोपटक अन्र्तराष्ट्रिय गोल्डकपमा सहभागी हुँदै थियौं । ढाकाको ठूलो मैदान । हामी मैदान हेर्नसमेत पटक–पटक पुग्थ्यौं । विपक्षीसँगको खेल हाम्रो लागि निकै कौतुहलता पूर्ण रहन्थ्यो । गोल्डकपमा ढाका वन्डर्स र पाकिस्तान वेस्टर्न रेल्वेसँग हामी पराजित भइसकेका थियौं । तथापि, तेस्रो खेलमा इष्टर्न पाकिस्तान पुलिसलाई एक–शून्यले पराजित गर्न सफल भयौं । त्यो क्षण अझै पनि हाम्रो मानसपटलमा ताजैछ ।’ काठमाडौं महावीर क्लबका प्रकाशविक्रम शाहले गरेको एकमात्र निर्णायक गोलले खेल नेपालले जितेको स्मरण उनी गर्छन् । त्यसपछि, विराटनगर फर्कदा उनीसँगै टोलीले पाएको स्वागतले खेल क्षेत्रमा सम्भावना देखिएको उनको भनाइ छ ।
२०१९ सालमा महेन्द्र गोल्डकप सुरु भएसँगै २०६० सालसम्म खेलप्रेमीलाई माया दिइरह्यो । त्यसपछि भने यसलाई ट्रष्ट बनाएर अघि बढाइएको छ । २०६७ सालमा नयाँ विधानसहित विराट गोल्डकप ट्रष्ट बनाएर २०६८ सालबाट विराट गोल्डकपको सुरुवात भएको एन्फाका पूर्व सहसचिव बसन्तराज अर्यालको भनाइ छ । वर्षको अन्तमा हुने सोही प्रतियोगिताले अन्य धेरै खेलकुदलाई पछाडि पार्ने गरेको अनुभव उनको छ । विराटनगरमा खेलकुदका गराउन सहयोगी हात खोज्न समस्या हुने गरेको बताएका अर्याल भन्छन्, ‘यहाँ फुटबलको एक अलग छाप रहेको हुँदा निजी क्षेत्रको साथ देखिन्छ । त्यसैगरि, क्रिकेटले पनि साथ पाउँदै गएको छ । त्यसबाहेक अन्य खेलकुद आयोजना गर्न खेलकुद संघलाई हम्मेहम्मे पर्छ । अरू खेलमा सहयोगी हात अघि बढ्न नचाहेको पाउँछौ । एकपटक साथ दिएपछि, अर्कोपटक सोही कार्यक्रम गराउन नयाँ सहयोगी खोज्नुपर्ने बाध्यता छ ।’
प्रतिबन्धमा कराते
२०१८ सालबाट निरन्तर रुपमा महेन्द्रकै नामबाट फुटबल चल्दै आएपनि विराटनगरमा अन्य खेलकुदको गतिविधि न्यून रहेको थियो । अन्य खेलकुदका लागि क्षेत्र, अञ्चल, राष्ट्रिय खेलकुदलाई पर्खनु पथ्र्यो । यसक्रममा आत्मरक्षाका लागि खेलिने मार्सल आर्टस् अन्तर्गतको कराते खेल पञ्चायतकालमा विराटनगरमा पूर्ण रुपमा प्रतिबन्धमा रहेको थियो । जतिबेला फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेल हुन्थे, त्यो बेला कराते खेल्न बन्देज थियो । कराते खेल्दै गर्दा प्रहरीले पक्राउ गर्ने त्रास खेलाडीमा रहन्थ्यो । तर, करातेको बीजारोपण पनि विराटनगरमा रोचक ढंगबाट भएको पाइन्छ । कराते र खेलाडी विशेषगरि हङकङ, चीनलगायतका चलचित्रबाट बढी प्रभावित थिए । २०३५÷३६ सालतिर ब्रुसलीका चलचित्र लुकेर हेर्ने, पोष्टर फेला पर्दा नक्कल गर्ने देखिएपछि, मार्सल आर्टसतर्फ धेरैको झुकाव बढेको बुझाई सतिश श्रेष्ठको छ । सो समय ताप्लेजुङबाट विराटनगर आएका ध्रुवनारायण श्रेष्ठले महेन्द्र मोरङ क्याम्पसमा आफ्नो हैकम चलाउन थालेका थिए । विराटनगर–८ का श्रेष्ठले दिएको जानकारी अनुसार क्याम्पसमा नेविसंघका विद्यार्थीमाथि प्रहार हुँदै आएकोले गिरिजाप्रसाद कोइरालाले अमृत अर्याल, राम रिमाल, नगेश बराल, उमेश गिरी, श्रेष्ठललगायतलाई कराते सिक्न दार्जिलिङ पठाएका थिए । त्यहीबाट विराटनगरमा कराते खेलले स्थान पाएको हो ।
श्रेष्ठका अनुसार पञ्चायत कालमा कराते खेल्न प्रतिबन्ध थियो । दार्जिलिङबाट विराटनगर बोलाइएका किशोर प्रधानले रायण बाबुको आँपबगैंचा, सिंघीया खोला किनार र जोगबनीको गोदामसम्म राखेर प्रशिक्षण गराउँथे । त्यसको उपयोग आत्मरक्षाका लागि क्याम्पसमा गर्ने गरेको उनी बताउँछन् । त्यसबेला जोगबनीमा भागवान यादवको द यंग म्यान क्लबमा कराते सिक्ने सिकाउने कार्य भएको थियो । यसक्रममा उमेश गिरी, अमृत अर्याल, राम रिमाल, मानिक दत्त, राम थापा, चन्द्र थापा, बालकृष्ण भट्टराईलगायत लुकीलुकी कराते सिक्न पुग्थे ।
२०३९ सालमा तत्कालिन राजकुमार धीरेन्द्र शाहले करातेमा लागेको प्रतिबन्ध फुकुवा गरेको कराते प्रशिक्षक विमल पोखरेलको भनाइ छ । कराते फुकुवा भएसँगै सिंगापुर प्रहरीमा रहेका सुनसरीका थानेश्वर राईले औपचारिक रुपमा करातेलाई सर्वसाधारणमाझ पुर्याए । आत्मरक्षासँगै यस खेललाई उनले नेपाली जनमानसमा पुराउदै खेलाडी उत्पादनमा समय खर्चिएको पोखरेल बताउँछन् । करातेबाट पहिलोपटक ०३९÷४० सालमा मलेशियामा सम्पन्न एशियन च्याम्पियन्सीप विराटनगरलाई प्रतिनिधित्व गर्दै महेशकुमार श्रेष्ठ सहभागी भएएका थिए । यसपछि कराते विराटनगरमा आकर्षण बढाउँदै गएको थियो ।
प्रजातन्त्र स्थापनापछि कराते विराटनगरमा थप विस्तार हुँदै गयो । खेलाडी उत्पादन, खाली चौरमा गी, विभिन्न बेल्टको निर्धारण गर्दै कराते खेलिन थालियो । यस क्रममा विराटनगर कोशी प्रोजेक्टकी जुनु राई, भानु टोलका राजेश श्रेष्ठ अन्तर्राष्ट्रिय छाप बनाउने खेलाडी भए । साफमा आयोजक राष्ट्रले दुई खेल राख्न पाउने प्रावधान अनुसार नेपालले कराते र तेक्वान्दो अघि सारेको थियो । जुन अन्य राष्ट्रका लागि नयाँ रहेको थियो । २०५६ सालमा काठमाडौंमा आयोजित आठौं साफमा पहिलो अवसर पाएको करातेले २८ वटा पदक हासिल गर्न सफल भयो । जसमा विराटनगरबाट जुनु राई र राजेश श्रेष्ठले स्वर्ण पदक हासिल गरे । महिलातर्फबाट विराटनगरको करातेलाई उचाईमा पुराउनेमा राईको भूमिका अहम् छ । सागमा स्वर्णपदक जितेकी राई लगत्तै चार महिनाको अन्तरालमा पुषमा थाइल्याण्डको बैंकक पुगिन् । जहाँ १३ औं एशियन खेलकुद आयोजना भएको थियो । त्यसपछि राई २०५२ सालमा प्रशिक्षकमा नियुक्त भएर केहीसमय विराटनगरमा खेलाडी उत्पादनमा लागिन् । सागमा स्वर्णपदक हासिल गरेकी राईलाई प्रोत्सहान स्वरुप सो समय एक निजी बैंकले रोजगारीसमेत दिएको थियो । विवाहपछि भने उनी कराते जीवन छाडेर गुमनाम भइन् । भानु टोलका श्रेष्ठ पनि १४ औं एशियन खेलकुदमा सहभागी भए । उनले पछिल्लो समय नेपाल पुलिस क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरे । करातेका प्रशिक्षक पोखरेलका अनुसार स्थानीय तहले चासो नदिँदा खेलाडी उत्पादनदेखि प्रतियोगितामा कमी देखिँदै गएको हो । करातेको संघ आर्थिक सम्पन्न नभएको हुँदा खेलाडीबाट ग्रेडिङ, प्रशिक्षण, गी लगायतका लागि स–सानो रकम उठाएर काम हुँदै आएको छ । जसका कारण कराते उपस्थिति पछिल्लो समय फितलो देखिँदै गएको छ ।
०००
२०४६ सालमा प्रजातन्त्रको उदय भएसँगै खेलकुद क्षेत्र विस्तारै आफ्नो गतिमा अघि बढ्यो । राज्य संरचनामा फेरबदल भयो । खेलकुदका संरचना र प्रक्रियामा समेत परिवर्तन ल्यायो । पञ्चायतको समयमा अञ्चलाधीशबाट खेलकुद गतिविधि गरिन्थ्यो । जिल्ला तहमा भने जिल्लाका प्रमुख र कार्यालयमा कर्मचारी सचिवले काम गर्दै आएको अवस्था थियो । प्रजातन्त्र स्थापनासँगै खेलकुद ऐन जारी भएपछि मोरङमा २०४९ सालमा जिल्ला खेलकुद विकास समिति गठन भयो । पहिलो अध्यक्ष सुधीर अज्र्याल भए । अज्र्यालका अनुसार सहिद मैदानको पक्की संरचनामा राजा वीरेन्द्र विराटनगर आउने क्रममा २०४१ सालमा एक–एक भाग गरि निर्माण भएको थियो । तत्कालीन मेयर रमेशचन्द्र पौडेलले दक्षिण पूर्वतर्फको संरचना मर्मत सम्भार गरेका हुन् । जसका लागि १० लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो ।
संरचना अभाव हुँदा त्यसको प्रत्यक्ष असर खेलकुदमा परेको छ । अज्र्यालका अनुसार फुटबल र क्रिकेट सामूहिक खेल भएकोले खेल हेर्न, हुटिङ गर्न दर्शकलाई मैदानमा नै उपस्थित हुनुपर्छ । यसको अर्कै आनन्द छ । ४० को दशकमा मार्सल आर्टस्ले पनि विराटनगरमा राम्रो स्थान पाएको थियो । पछिल्लो समय केही खस्किएको जस्तो देखिएपनि यसले आफ्नो पहिचानलाई कायम राखेको उनी बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा सदस्यको जिम्मेवारी वहन गरिसकेका किरण गिरीका अनुसार सहिद रंगशालामा २०४२ सालमा तत्कालिन अन्तर पञ्चायत खेलकुद आयोजना गर्नुपर्ने अवस्थामा हालको मञ्च, पूर्वपश्चिमतर्फको प्याराफिट निर्माण भएको हो । उनले भने, ‘सहिद मैदानको दक्षिणतर्फको कभर्डहल २०३८ सालमा शरदचन्द्र शाहले निर्माण गराएका हुन् । त्यसपछि २०४१ सालमा राजा वीरेन्द्रले पूर्वतर्फको प्याराफिट र पश्चिमतर्फ मञ्चसहित प्याराफिट बनाएका हुन् । उत्तरतर्फ भने २०७१ सालमा पक्की प्याराफिट बनाइएको हो । त्यसबेलासम्म जिल्ला प्रशासन कार्यालयको क्षेत्रफलमा तारको घेराबारा मात्र रहेको थियो ।’
बोर्ड सदस्य गिरीले भने, ‘नेपालगञ्जमा पौडी पोखरी निर्माणका लागि २०६९ सालमा बजेट विनियोजन भएको थियो । तर, त्यसको निर्माण कार्य हुन नसक्दा सो बजेट सहिद रंशालाको उत्तरतर्फको प्याराफिट निर्माणमा ल्याईएको थियो । त्यसपछि विराटनगर महानगरले पूर्वतर्फ खेलाडी र रेफ्रीका लागि चेन्जिङ रुपमा निर्माण गरेको हो ।’ विराटनगरमा गर्मीमा खेल्नुपर्ने बाध्यता अन्त्य गर्दै सहिद रंगशालामा पहिलोपटक २०७४ सालमा अस्थायी फ्लड लाइट्स जडान गरियो । तत्कालिन विराट गोल्डकपको संयोजक रहेका उद्योगी नविन रिजालको पहलमा बाँसको मचान बनाएर रात्रीकालिन फुटबलको सफलतापूर्वक यात्रा सुरु भयो । रात्रीकालिन फुटबलको स्वाद दशरथ रंगशालापछि पहिलो पटक मोफसलमा भएको थियो । त्यसपछि प्रदेश सरकार र विराटनगर महानगरले अग्रता दिँदै सहिद रंगशालामा स्थायी फ्लड लाइट्स जडान भएको छ । जसका कारण खेलकुद गतिविधि रात्रीकालिन समयमा गर्न सम्भव भएको छ ।