अनन्तराज न्यौपाने
ओली प्रधानमन्त्री भए अब केही हुन्छ ? अब सुधार हुन्छ होला हैन ?
हिजोआज हामी पत्रकारलाई अधिकांश व्यवसायी र सर्वसाधारणले सोध्ने प्रश्न यिनै हुन् । प्रचण्डको पल्टुराम शैलीले नेपाली राजनीति र संसदीय परम्परा नै विकृत र विद्रूप भइरहेको थियो । प्रचण्डकै कारणले छ–छ महिनामा समीकरण र सरकार परिवर्तन हुँदा सर्वसाधारणमा बडो निराशा र वितृष्णा व्याप्त छ । अझ प्रचण्डले कहिले म बाँचुन्जेल उथलपुथल भइरहन्छ र कहिले ३२ म्याजिक नम्बर हो भन्ने भाषण गरेर आफ्नो सत्तालोलुप वैशिष्ट्यलाई देखिने गरी प्रदर्शन गरेका थिए ।
केही महिनाअघि प्रचण्डले कांग्रेससितको सत्ता सहकार्य तोडेर एमालेलाई संवरण गरेपछि उनको ढुलमुले चाला अझ उदांगो भएको थियो । र, त्यही बेला कांग्रेसका एक नेताले संसदमा भनेका थिए– प्रचण्डजी तपाईंबाट धोका पाएकाहरू एक दिन एकै ठाउँमा उभिए भने तपाईं कहाँ पुग्नुहोला ? नभन्दै वर्तमान कांग्रेस–एमाले समीकरण प्रचण्डका भिक्टिमहरूको गठजोड हो भन्दा फरक नपर्ला ।
यसैबिच बेचन झा पक्राउ परे । त्यसपछि भाउजूको मनमा ढ्यांग्रो ठोकियो । अनि दाजुभाउजूले ओलीसित ३ घण्टा कुरा गरे । लगत्तै सत्ता समीकरण बदलियो । यसरी आजको सत्ता–गठबन्धनको मुख्य कारक बेचन झा नै हुन् । भलै अरू महत्त्वपूर्ण र सहायक कारण थुप्रै छन् । र, प्रधानमन्त्रीका पदमा ओली आसीन हुन पाए ।
के ओलीले देशका व्यवसायी र सर्वसाधारणले गरेको आशालाई मूर्त रूप देलान् त ? अहिलेको ज्वलन्त प्रश्न यही नै हो । यस विषयमा म ओलीको मात्र कुरा गर्दिन, ओली, देउवा र प्रचण्डको तुलनात्मक समीक्षा गर्ने प्रयास गर्दछु । मेरो अध्ययनमा देउवा कति बेला माछा पर्ला भनेर पोखरीमा बल्छी थापेर रुँघिरहन्छन् । माछा परेपछि त्यसलाई नखसाई फुत्त बल्छी निकालेर सत्तारूपी भोजनको व्यवस्थापन गर्न कुशल छन् ।
प्रचण्ड बल्छी थाप्तैनन् । उनी पोखरीको पानी धमिल्याएर माछा मार्ने पात्र हुन् । त्यसैले उनी पानी फोहर पार्नमै व्यस्त रहन्छन् । उनको यही चरित्रका कारणले केही समययताको संसदीय राजनीति फोहर बन्दै गएको हो । विश्वासको मत लिने दिन असार २८ का दिनदेखि नै उनले पानी धमिल्याउन सुरु गरिसकेका छन् । उनी त्यस दिन आफ्नो ६ हजारभन्दा बढी शब्दको मन्तव्यमा ओलीप्रति आक्रामक भए तर देउवाप्रति नरम । यो उनको पानी धमिल्याउने तरिका थियो ।
तर सत्ता राजनीतिका लागि ओलीजी यस्ता पात्र हुन्, उनी जे पनि गर्छन् । उनी बल्छी थाप्ने र पानी धमिल्याउने दुबै काम गर्छन् । त्यति मात्र होइन, त्योभन्दा अझ खराब गर्न सक्छन् । उनी सत्तारूपी माछाका लागि बल्छी थाप्ने र पानी धमिल्याउने मात्र होइन मौका प¥यो भने पोखरीकै पानी पनि सुकाइदिने दुस्साहस गर्छन् । यस्तो लाग्छ, उनलाई माछा भए पुग्छ, पोखरीमा पानी चाहिँदैन । त्यसैले उनी पोखरीमा ठुलो खाले पम्पसेट लगाएर सबै पानी सुकाइदिन तयार हुन्छन् ।यसअघिको संसद्को विघटनको नामको प्रतिगमन ओलीको यही पानी सुकाउने एउटा असफल प्रयास थियो ।
यस परिप्रेक्ष्यमा सर्वसाधारण र सानामझौला व्यवसायीले ओलीप्रति राखेको आशा सास छउन्जेल आश भन्ने उखानको सार्थकता मात्रै हो । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी, सत्तरी करोड लगायत दर्जनौँ र ठुला भ्रष्टाचारका नाइके ओलीले यो मुलुकको रूपान्तरण गर्लान् भन्ने चाहिँ दस मनमा एक मनले पनि नसोचे हुन्छ । किनकि त्यो अब उनको विषय रहेन । बाहिर देखाउने एजेन्डा त उनका अनेकौँ छन्– रेल, पानीजहाज, घरघरमा ग्यासको पाइप, कसैले भोकै मर्नुनपर्ने, सबै नेपालीलाई दालभात र तरकारी खान पुग्ने । सम्झँदै मुच्र्छा पो परिन्छ कि जस्तालाग्ने ओलीका एजेन्डा ।
के ओली प्रधानमन्त्री भएपछि बजारका सामान विक्री हुन थाल्छन् ? के उनको प्रधानमन्त्रीत्व कालमा वैदेशिक लगानीको ओइरो लाग्छ ? के उनको शासनअवधिमा व्यवसायीको उधारो उठ्छ ? कि उनी सरकार प्रमुख भएका बेला औद्योगिक उत्पादनमा वृद्धि हुने, आयात बढ्ने र अर्थतन्त्र चलायमान् हुने ग्यारेन्टी छ ? खासमा केही छैन । यसअघिको उनको इतिहास र पृष्ठभूमि हेर्दा उनबाट आसा गर्ने ठाउँ छैन । तर पनि मुलुकका सर्वसाधारण र व्यवसायी आशावादी देखिन्छन् । अप्टिमिस्टिक हुनु राम्रो कुरा हो ।