गोकुल पराजुली
नेपाली राजनीति गर्माएको छ । भर्खरै संघीय सरकार परिवर्तन भएको छ । प्रधानमन्त्रीको रुपमा १८ महिना सरकारको नेतृत्व गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाहिरिएका छन् । अब प्रचण्डले प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका पाउने छन् । प्रचण्ड सरकारबाट बाहिरिदै गर्दा नेपाली राजनीतिमा एउटा भाष्य जबरजस्त रुपमा स्थापित भएको छ । त्यो भाष्य हो ‘धोका’ ।
नेकपा एमालेसँग चार महिना अगाडिमात्र सत्तामा साझेदारी गरेका प्रचण्डले पूर्व समझदारीविरुद्ध गएर अध्यक्ष ओलीबाट धोका भएको प्रतिनिधि सभा बेठकमै रेकर्ड गराए । राजनीतिमा आपसी सहमति, समझदारी र शर्तबन्दीहरु पालना हुने विश्वास गरिन्छ । त्यसको पालना नभएपछि धोका वा बेइमानीको संज्ञा दिने पुरानै प्रचलन हो । उसैपनि राजनीतिलाई कुटिल नीतिहरुको प्रयोग गर्ने विधाको रुपमा लिइन्छ । बुद्धि, विवेक, ज्ञान र नीतिहरुको कुशल प्रयोग गरेर विपक्षीलाई वशमा पार्ने अनि शासन सत्तामा स्थापित हुने रणनीतिको भरपुर प्रयोग राजनीतिमा स्वभाविक रुपले हुन्छ नै । नेपालको राजनीतिमा उल्लेखित विषय बाहेक छलछाम, षड्यन्त्र, बेइमानी र धोकाको गुञ्जायस सबैभन्दा बढी भेटिन्छ ।
कोतपर्व, भण्डारखाल पर्व हुँदै नारायणहिटी पर्वसम्मको राजनीतिलाई हेर्ने हो भने त शासन र सत्ताका लागि शासकहरु के सम्म गर्न तयार हुन्छन् भन्ने सहज अनुमान गर्न सकिन्छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन (कसैले हत्या पनि भन्छन्) को विषय अझैं शंकाको घेरामा छ । जसलाई शासन सत्तामा स्थापित हुनका लागि वा शक्ति सुरक्षा गर्नका लागि रचिएको काण्डको रुपमा बुझ्नेहरुको संख्या समाजमा उल्लेख्य छ । त्यसैले हाम्रो नेपाली राजनीतिमा बेइमानी, षड्यन्त्र र धोकापूर्ण व्यवहारहरुको कुनै कमी देखिदैन । धोकेबाज पात्रहरु फरक हुन सक्छन् । धोकाको मात्रा र त्यसले पार्ने प्रभावहरुमा फरक पर्न सक्छ । तर यो विधिलाई समकालीन नेताहरुले कुनै न कुनै रुपमा प्रयोग गर्दै आइरहेका छन् । अहिले प्रचण्डले पाएको धोका पनि पुरानै निरन्तरताको एउटा शृङ्खला मात्र हो ।
हुन त पछिल्लो १६ वर्षमा नेपाली समकालीन राजनीतिका शीर्ष नेताहरुमा सबैभन्दा धेरै धोका पाउने नेतामा प्रचण्ड नै हुन् । अहिले प्रचण्डले पहिलो पटक धोका पाएका होइनन् । खुला राजनीतिमा आएपछि प्रचण्डले सबैभन्दा पहिले तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबाट धोका पाएका थिए । तत्कालीन प्रधान सेनापति रुक्मांगत कटुवाललाई कारवाही गर्न सहमति दिएका खनालले पछि जिम्मेवारी नलिइदिँदा प्रचण्डको सरकार ढलेको थियो । त्यसभन्दा अगाडि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर पूर्व सहमतिमा धोका दिइसकेका थिए ।
प्रचण्डलाई सबैभन्दा धेरै धोका भने एमाले अध्यक्ष ओलीबाट भएको देखिन्छ । प्रचण्डले ओलीबाट पटक पटक धोका पाए तर फेरि ओलीलाई विश्वास गर्न पनि छाडेनन् । २०७२ सालमा आलोपालो प्रधानमन्त्रीको सर्तमा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले सर्त बमोजिम आफूलाई सरकार हस्तान्तरण नगरेपछि देउवासँग मिलेर ओलीको सरकार ढालिदिए । २०७४ सालमा वाम गठबन्धन गरेर पार्टी एकताको लक्ष्यसहित चुनावमा गएका प्रचण्डलाई ओलीले आलोपालो प्रधानमन्त्री बनाउन अस्वीकार गर्दा शक्तिशाली नेकपा तीन टुक्रामा विभाजित बन्यो ।
संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने तीन ठूला दलहरुबीचको सहमतिमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाले धोका दिए । जसले गर्दा ओलीलाई पहिलो पटक प्रधानमन्त्री बन्न निक्कै सास्ती भयो ।
चुनावी गठबन्धन बनाउँदै भएको जेन्टलमेन्ट एग्रिमेन्ट पालना गर्न देउवा तयार नभई प्रचण्डलाई धोका दिने निश्चित भएपछि प्रचण्ड डेढ वर्ष अगाडि एमालेसँग मिलेर प्रधानमन्त्री बने । तीन महिना बित्न नपाउँदै प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेससँगै मिले । त्यसको एक वर्षपछि फेरि उनी एमालेसम्ग मिल्न पुग्दा काँग्रेसले धोका महसुस गर्यो । अहिले ठिकठाक सरकार चलिरहेको बेलामा अनायसै प्रचण्डले एमाले अध्यक्षबाट धोका पाए । धोकाको यो शृङखलाले नेपाली राजनीतिमा एउटा नकारात्मक भाष्य नै तयार गरेको छ । यहाँ एक जना कुनै नेता मात्र धोकेबाज देखिएनन् । धोका दिन सबका सब सिपालू छन् । तर षड्यन्त्र गर्नमा भने ओलीलाई अरुले भेट्न सक्ने बुझिदैन । धोका र षड्यन्त्र भने फरक कुरा हुन् । मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेश र उच्चाटनको कुशल प्रयोग नै षड्यन्त्र हो भनिन्छ । ओली यी मध्ये अधिकांश विधिहरुको उपयोग गर्न खप्पिस नै छन् । साम, दाम, दण्ड, भेद याज्ञवल्क्यको नीति हो । यो अधिकांश राजनीतिज्ञले अक्सर प्रयोग गरिआएकै छन् ।
अहिलेसम्म हाम्रा नेताहरुले एक आपसमा पाएको धोका र दिएको धोकाको चर्चा गरियो । निश्कर्षमा भन्नुपर्दा नेपाली जनताले पटक पटक पाएको धोकाको कुनै हिसाब नै छैन । नेपाली जनताले प्रजातन्त्र प्राप्तिपछिको ७५ वर्ष यस्तै धोकामै बिताइसकेका छन् । त्यसभन्दा अगाडि भएका धोका र बेइमानीको इतिहास लामो छ । त्यसैले अब नेपाली नेताहरुले मात्र जनताले पनि धोका नपाउने राजनीतिक संस्कार सुरु गर्न जरुरी छ । आपसमा धोका दिने र लिने नेताहरुले अब आफू पनि धोका नपाउने र जनतालाई पनि धोका नदिने गरी व्यवहार गरुन् । त्यस भन्दा पहिले नवनियुक्त प्रधानमन्त्री केपी ओलीले साझेदार दलका नेता शेरबहादुर देउवालाई जीवनको यो उत्तराद्र्धमा सहन गर्नै नसक्ने धोका अब नदिउन्, शुभकामना ।