केशव निरौला
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै अहिले कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया अघि बढिरहेको छ । कक्षा ११ र १२ पढाइ हुने विभिन्न सामुदायिक एवम् संस्थागत विद्यालयहरूले विज्ञापनमार्फत पनि नयाँ भर्नाको सूचना सम्प्रेषण गरिरहेका छन् । कैयौँ विद्यालयमा प्रवेश परीक्षासमेत भइसकेको छ । विशेषतः संस्थागत विद्यालयहरूले विज्ञापनको सन्दर्भमा आफ्नो पूरा नाम लुकाइ ‘कलेज वा प्लस टु’ भन्ने गरेको पाइन्छ ।
कक्षा ११ र १२ मात्र पठनपाठन गर्ने विद्यालयले पनि ‘प्लस टु’ वा फलानो ‘कलेज’ भन्दै विज्ञापन गर्ने होडबाजीले अन्ततः विकृति बढाउँदै छ । यिनमा ‘साइन्स’, ‘कमर्स’, ‘एजुकेसन’, ‘ल’, ‘फाइन आट्र्स’, ‘आट्र्स’ आदि सङ्काय वा फेकल्टी भन्ने गरिन्छ । यस्तै विभिन्न सञ्चार माध्यममार्फत पनि ‘प्लस टु वा कलेज’ भनी यस्तै प्रकृतिका विज्ञापन निरन्तर सम्प्रेषण भइरहेको छ । यसबाट विद्यार्थीवर्गमा पनि १० कक्षापछि ‘कलेजको पढाइ हुन्छ’ भन्ने गलत बुझाइमा कमी आएको छैन ।
वास्तवमा विद्यालयीय शिक्षाअन्तर्गत बालकक्षादेखि १२ कक्षासम्म नै स्कुल÷विद्यालय भन्नुपर्ने हुन्छ । यसमा पनि कक्षा ९ देखि १२ सम्म माध्यमिक तह हो । विद्यालयीय शिक्षामा कहीँकतै पनि ‘सङ्काय’ वा ‘फेकल्टी’ भन्ने हुँदैन । बरु ‘सङ्काय’को सट्टा ‘विषय समूह’ सम्म भन्दा पाच्य हुन्छ । यसमा पनि सबै ऐच्छिक विषयको नाम उल्लेख गर्नु उत्तम विकल्प ठहरिन्छ । परम्परागत विद्यालयीय तहमा परिवर्तन भई हाल आधारभूत र माध्यमिक गरी दुई तह रहेको अवस्थामा पनि कतिपय विद्यालयले ‘उच्च मावि’ भन्ने गरेका छन् । यही ‘उच्च मावि’को नाम कैयौँ मिडियामार्फत बारम्बार सम्प्रेषण भइरहेको हुन्छ । त्यसै गरी उच्च माविको साविक सन्दर्भअनुसार विद्यालयका प्रधानाध्यापक वा प्रिन्सिपललाई ‘प्राचार्य’ भन्ने चलन पनि पूरै हट्न सकेको छैन ।
स्वघोषित रूपबाटै हो वा अद्यावधिकताको अभावबाट हो अहिले पनि विद्यालयलाई ‘उच्च मावि’ र प्रधानाध्यापक वा प्रिन्सिपललाई ‘प्राचार्य’ भनिरहनु कत्तिको उक्तिसङ्गत होला ? यस्तै ‘१०+२ वा +२ वा कलेज’ भनी कहीँ नभएको नाममा कहिलेसम्म भ्रम पैदा गरिरहने हो ? सम्बन्धित निकायले यसतर्फ पनि ध्यान दिन आवश्यक हुन्छ । विद्यालयीय शिक्षामै कलेज वा क्याम्पसको नामकरण गरेर विद्यार्थीमात्रै भ्रममा पर्ने गरेका छैनन्, अभिभावक र समग्र समाज नै त्यही दलदलमा फँसिरहेको छ । यस्तै कतिपय विद्यालयमा अहिले पनि ‘उच्च मावि’ वा ‘+२ कलेज’ लेखिएका बोर्ड, लेटरप्याड, स्टाम्प आदिको अशोभनीय प्रयोग हुने गरेको भेटिँदै छ । ‘इन्टरनेसनल स्कुल वा कलेज’ भनेर विद्यालयको नाम राख्ने प्रचलन पनि विशेषतः ठुला भनिएका अधिकांश सहरहरूमा मौलाइरहेको छ । यस्ता इन्टरनेसनल स्कुल वा कलेजको नामबाटप्रत्यक्ष वा परोक्षरूपले विद्यार्थीलाई विदेशप्रतिको जिज्ञासा बढ्ने तर्क पनि हुँदै आएका छन् ।
वस्तुतः मौजुदा शिक्षा ऐनअनुसार कुनै पनि अतिरञ्जनाबिना सम्पूर्ण विद्यालयले आफ्नो पूरा नामसहित कक्षा ११ का लागि नयाँ भर्नाको विज्ञापन आह्वान गरून् । जसबाट विद्यार्थी, अभिभावक र समग्र समुदायले कक्षा १२ पछि मात्रै कलेज वा क्याम्पस स्तरीय उच्च शिक्षा आर्जन गर्न सकिन्छ भन्ने ज्ञान पस्किन सकियोस् । यस्ता विषयसन्दर्भको प्रचारप्रसारमा सञ्चारकर्मीको पनि अहम् भूमिका हुने हुँदा पूर्णतः अद्यावधिक भएर सरोकारित सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यता खड्किरहेको छ ।
सही विषयको उठान भयो गुरु ।