विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी यस वर्ष मात्र ११ करोड रुपैयाँले घट्ने निश्चित भएको छ । तर, खर्च भने घटेको छैन । खर्च कटौती गर्न स्वेतपत्र सार्वजनिक गरेर काम थालेका महानगरका पदाधिकारीले गर्ने फजुल खर्चको अवस्था नै पत्याइनसक्नु छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा महानगरका मेयर उपमेयरले मात्रै झन्डै ६० लाख रुपैयाँ बराबरको इन्धन जलाएको उल्लेख गरेको छ ।
गत आवमा २०८९/२०८० मा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलगायत पदाधिकारीहरुले ५९ लाख ९९ हजार १९६ रुपैयाँको इन्धन जलाएको महालेखाको उक्त प्रतिवेदनमा उल्लेख छ ।
महानगरपालिकाका पदाधिकारीहरुले मात्र होइन महानगरका कर्मचारीहरुले त्यस वर्ष १ करोड रुपैयाँ भन्दा बढीको पेट्रोल तथा डिजेल जलाएका छन् । महालेखाको प्रतिवेदन अनुसार १ करोड ६ लाख ९५ हजार ९२७ रुपैयाँको पेट्रोल जलाएका हुन् । माहनगरपालिकाले एक आर्थिक वर्षमा जम्मा १ करोड ६६ लाख ९५ हजार ९६ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
महानगरमा ५ वटा गाडी, दमकल ५ वटा, लोडर दुईवटा, बु्रमर, ट्रिफर, नगर प्रहरी भ्यान, एम्बुलेन्स, शव वाहन, विद्युतीय हाइड्रोलिक गाडी, वटार ट्रयाक एक एक थान रहेका छन् । मोटरसाइकल ३४ वटा र १० वटा स्कुटर रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले इन्धन प्रयोग खर्चलाई मितव्ययी बनाउन भनेको छ । इन्धन उपयोग सम्बन्धमा निश्चित मापदण्ड तयार गरी कार्यान्वन गर्नेतर्फ महानगरले ध्यान दिनुपर्छ प्रतिवेदनमा भनिएको छ ।
यस्तै महानगरले सवारी साधन शिर्षकमा ६८ लाख ६९ हजार २४७ रुपैयाँ खर्च गरेको छ । मेसिनरी औजार मर्मत शीर्षकमा ६७ लाख ५९ हजार ३० रुपैयाँ खर्च गरेको जनाएको छ । यी दुई शीर्षकमा महानरले १ करोड ४५ लाख २८ हजार २७७ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
तर, महानगरको आन्तरीक राजश्वमा भने गिरावट आएको छ । चालु आवको सोमबार सम्ममा ५३ करोड राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजश्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । चालु वर्षमा ८७ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ५३ करोड मात्र राजश्व संकलन गरेको राजश्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए ।
आन्तरिक राजश्व बढाउन महानगरले चालु वर्षको कर तथा राजश्वको दरमा हेरफेर र क्षेत्रहरु विस्तार गरेको भएपनि राजश्व वृद्धिमा भने महानगर चुकेको छ । गत आर्थिक महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको भन्दा ८ करोड बढी राजश्व संकलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आय गर्ने अनुमान गरेको छ । तर यो पनि लक्ष्यमा पुग्न समस्या हुने कर्मचारीहरु बताउँछन् ।
घरजग्गामा पासबाट प्राप्त हुने राजश्व घट्नु नै आन्तरिक आम्दानी कम हुनुको मुख्य कारण भएको महानगरपालिका कर्मचारीहरु बताउँछन् । महानगरमा ४० प्रतिशत करदाताले विराटनगरमा कर नबुझाउने गरेको महाशाखा प्रमुख गौतमले बताए । पहिला कुरा त विराटनगरमा जबसम्म आवश्यकता पर्दैन तबसम्म कोही पनि कर तिर्न आउदैनन् । छोराछोरी विदेश पठाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा लिनुपर्ने र महानगरबाट केही सेवा सुविधा लिनु पर्ने भएमा मात्र कर तिर्ने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ । अहिले विराटनगरका ४० प्रतिशत मानिस कर तिर्न आउँदैनन् महाशाखाका प्रमुख गौतमले भने ।
संस्थागत बहाल कर संघीय सरकारले लिएका कारण पनि घटेको अनुमान कर्मचारीहरुको रहेको छ । नोबेल मेडिकल कलेज, ठुला अस्पताल, ठुल्ठुला बोर्डिङहरु कम्पनी मार्फत दर्ता भएका र तिनिहरुको राजश्व आन्तरिक राजश्व कार्यालयबाट उठाउनु पर्ने भएकाले पनि राजश्व घटेको राजश्व महासाखा प्रमुख गौतमले बताए ।
जनताका इच्छा आकाक्षा पूरा गर्न सके आफैं राजश्व बढ्ने पूर्व उपमेयर इन्दिरा कार्की बताउँछिन् । ‘पहिलाभन्दा राजश्व बढेको मैले देखेको छु उनले भनिन् ‘तर खर्चको अवस्था मैले अध्ययन गर्न पाएको छैन । जनताका इच्छा आकांक्षा जनप्रतिनिधिहरुले पूरा गर्दा आन्तरिक आयमा कमी आउँछजस्तो मलाई लाग्दैन ।’ उनले खर्चमा पनि महानगरले मितव्ययी भएर काम गर्नुपर्ने बताइन् ।
फजुल खर्चलाई कम गर्न भनेर संघीय सरकारले भने पनि स्थानीय तहले भने त्यसलाई ध्यान दिएका छैनन् । नेता तथा मेयर उपमेयरका आसेपासेलाई समेत पेट्रोल डिजेल दिने गरेका कारणले महानगरको खर्च बढेको कर्मचारीहरु बताउँछन् ।