पुण्य पि अधिकारी
‘ग्याङ्ग फाइट’ को जमना सकियो भन्ने मध्येमा तपार्इँ पनि एक जना हुनुहुन्छ होला । हो पनि ‘ग्याङ्ग फाइट’ को जमना सकियो भन्नेमा तपाई हामी धेरैको मत मिल्छ । तर, हालै विराटनगरमा भएको एउटा घटना ‘ग्याङ्ग फाइट’ को घटनाले धेरेको ध्यान खिँचेको छ । अझ, उच्च शिक्षाका लागि छोराछोरीलाई विराटनगरमा राखेर पढाइ रहेका अभिभावकहरू हालैको घटनाबाट सबैभन्दा बढी सचेत हुनु आवश्यक छ ।
चेतनाको स्तर बढेसँगै ‘ग्याङ्ग फाइट’ का घटना कम भएको प्रहरीसहित राज्यको नै मूल्यांकन छ । तर, विराटनगरमा ज्यानै जाने गरी भएको एउटा ‘ग्याङ्ग फाइट’ को घटनामा बालकको संलग्नता देखिएपछि सबैले निधार खुम्च्याएर सोच्नु पर्ने अवस्था सिर्जना भएको छ ।
मोवाइलको अत्यधिक प्रयोगका कारण बालबालिका हुलहुज्त, हत्या, चोरीजस्ता घटनामा प्रत्यक्ष संलग्न नहुने वा कम भएको धेरै अभिभावकको मत छ । तर, विराटनगरको घटनाले समाजमा अझै पनि ‘ग्याङ्ग फाइट’ को धङ्गधङी अधवैंशे उमेर भन्दा तन्नेरी र बालबालिकाको उमेर समूहमा रहेको देखिन्छ ।
‘ग्याङ्ग फाइट’ को घटनामा २१ वर्षीय करण कामतको मृत्यु भएको छ । युवती जिस्क्याएको निहुँमा ज्यान लिने गरी ‘ग्याङ्ग फाइट’ मा भिड्नेमा एक बालकको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले सो घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा बालकको समेत ‘ग्याङ्ग फाइट’ मा संलग्नता देखिएपछि यसले समाजमा थप चिन्ता बढाएको छ । विश्वका हरेक मुलुकको कल्पना अपराधरहित समाजको निर्माण गर्नु हो । तर, व्यवहारमा शत प्रतिशत लागु नहुने भएपनि व्यक्तिको बाँच्ने पाउने अधिकार नै समाप्त हुने गरी भएका ‘ग्याङ्ग फाइट’ का घटनामा बालबालिकाको संलग्नता देखिनुले समाजलाई पारिवारिक संस्कारका विषयमा थप चुनौती दिएको मान्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य र विभिन्न खाले अवसरका कारण विराटनगर सबैको आकर्षणको केन्द्र बनिरहेको छ । तर, त्यही आकर्षणभित्र अपराधका घटना थेरै हुन थालेका छन् । सीमावर्ती क्षेत्र भएकाले विराटनगर व्यापारीसहित दुई नम्वरी कारोवारीका लागि प्रमुख केन्द्र बनिरहेको छ । लागू औषध प्रयोगकर्तामा धेरै बालबालिकाको संलग्नता रहेको प्रहरीका विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । लागू औषध ओसारपसारमा १६ वर्षदेखि १९ वर्ष उमेरसमूह भएकाहरुको बढीभन्दा बढी संलग्नता र प्रयोग भएको पाइने गरेको छ ।
अपराधरहित समाजको निर्माणमा प्रहरीको मात्र सक्रियताले पुग्दैन । अपराध न्यूनीकरणमा सबै तह र तप्पाको साथ उत्तिकै मात्रा आवश्यक हुन्छ । अझ, बालबालिका नै ‘ग्याङ्ग फाइट’ को नाममा ज्यान लिनेसम्मका घटनामा संलग्न हुन्छन् भने त्यसले समाजमा दूरगामी प्रभाव पक्कै पार्छ । तसर्थ, अभिभावकले बालबालिकालाई स्वतन्त्रता दिएपनि उनीहरुको गतिविधि र सङ्गतलाई मिहिन ढङ्गले केलाउन आवश्यक छ ।