रुपेश खतिवडा
नेपाली राजनीति अब आस्थाको विषय रहेन । यो व्यवसाय बन्न पुगेको छ । जहाँ हरेक कुरा नाफाको लागि गरिन्छ । राजनीतिमा बिधि, पद्दति विचार र सिद्धान्तप्रतिको आस्था अनि नेताकार्यकर्तामा आदर्श, त्याग, बलिदान र इमान्दारी जस्ता कुराको स्थान संकुचित हुँदै गइरहेको छ । यी सबै कुरा एकादेशको कथा हुन पुगेका छन् । यी विषयमा कुरा गर्नेहरू समयअनुरुप चल्न नजान्ने प्राणीको रूपमा दरिन्छन् । तिनीहरुलाई पार्टी संगठनमा बोझको रुपमा हेरिन्छ । त्यसविपरित भ्रष्ट, स्वार्थी, अवसरवादी, चाकडीबाज एवं अनैतिक व्यक्ति जसले नेतृत्वको गलत कुरालाई पनि सहि हो भन्दै कुर्लन र भ्रम छर्न सक्दछ वा नेतृत्वको भौतिक आवस्यक्ता परिपुर्तिमा सघाउ पुर्याउन सक्दछ, उ नै पार्टी संगठनको उपयुक्त व्यक्ति ठानिन्छ ।
वैचारिक पृष्ठभूमिबाट राजनीतिमा आबद्ध इमानदार र कर्मठ व्यक्तिहरुलाई आफ्नो स्वार्थको दुश्मन सम्झदै त्यसलाई विस्थापित गर्न जुनसुकै हर्कत गर्न पछि पर्दैनन् । त्यसका लागि उ दलभित्रका भ्रष्ट र विकाउलाई हातमा लिएर सम्पन्न गर्नपुग्छ । नेपालका पुराना दलहरू मात्रै नभएर नयाँ राजनीतिक दलहरुमा समेत अध्यक्ष भन्ने पद यति निरंकुश, निर्जिव र हिंस्रक भयो कि परिभाषा नै बदलिएको छ । ‘अध्यक्ष’ बाट ‘अदक्ष’मा रूपान्तरित भएको छ ।
दलका नेताहरू लोकतान्त्रिकरण, समानता, सामूहिकता, बहस छलफल, सहअस्थित्व आदि इत्यादि को कुरा गरेर कहिल्यै थाक्दैनन् । अझ कम्युनिष्ट पृष्ठभूमि भएकाको त जनवादको रटान कति हो कति ? तर, व्यवहार हिटलर, मुसोलिनी र जङ्गबहादुर जस्ताहरुको जस्तो गर्दछन् । आफ्नो गल्ती कमजोरीमाथि कसैले औंला न उठाइदियोस् । आलोचना नगरिदियोस् बरु जे भने पनि जे गरे पनि थभक दयकक ‘हुन्छ महासय !’ भनिदियोस् भन्ने सोच राख्दछन् । कसैले सत्य, यथार्थ कुरा गर्यो वा कमजोरी देखाइदियो भने कि त राजीनामा गर्न बाध्य पारिन्छ कि त निष्काशन । अर्कोतिर केन्द्रीय कमिटी÷समितिका महाधिवेशनहरुमा एकपटक हैन पटक–पटक एउटै ब्यक्ति जस्तोसुकै हर्कत गरेर भएपनि अध्यक्ष बन्नुपर्ने कस्तो बिडम्बना ?
अहिले भर्खर चलिरहेको एउटा पार्टीको केन्द्रीय महाधिवेशनमा देख्न सकिन्छ, १४ वर्ष एउटा पार्टीको प्रमुख भइसकेपछि पनि फेरि अर्को पटक अध्यक्ष नै चाहिएको छ । यिनीहरुको (बार–बार अध्यक्ष भएकाहरू) व्यवहारमा चरम हुकुमी शासन झल्किन्छ । यस्तो व्यवहारको निशानामा कयौं ईमान्दार र योग्य व्यक्तिहरु पारिएका छन् । जसका कारण विभिन्न राजनीतिक दलहरुमा कति आफ्नो अस्तित्व र स्वाभिमान गुमाएर ‘यस बोस’ भएर बसेका छन् भने कतिपयले आफ्नो अस्तित्व र स्वाभिमानलाई बचाएर हिजो आफूले अनकौं जोखिमहरु सहेर निष्ठापूर्वक गरेको संघर्ष, बलिदान त्याग, समर्पण र समाज परिवर्तनको सुन्दर सपनाहरु नै त्याग्न बाध्य भएका दर्जनौं उदाहरणहरु जीवितै छन् । यसको लेखाजोखा कहिँ कतै पाइदैन । के अब स्वाभिमानी, इमानदार, योग्य र सक्षमहरु नेपालको राजनितिमा अयोग्य भएकै हुन त ? प्रजातन्त्र आगमनदेखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न दलहरुमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, लोकेन्द्र बिष्ट मगरहरु आदि दर्जनौंले राजनीतिबाट सन्यास नै लिएर स्वतन्त्रता र स्वाभिमानको बाटो रोजे । अब नयाँ दल भनिएको रास्वपाका नेता मुकुल ढकाल लगायतकाले कुन बाटो रोज्ने छन्, हेर्न बाँकी छ ।
शुक्ष्म अध्यन गर्ने हो भने केन्द्रीय तहमा मात्रै नभएर प्रदेश जिल्ला र आधारभूत तहमा पनि ‘अदक्ष’ को कोपभाजनमा पारिएका इमान्दार पात्रहरु हजारौंको संख्यामा भेटिन्छन् । निष्कर्षमा नेपालको राजनीतिमा आज केहि गम्भीर प्रश्नहरु खडा भएका छन्, के अबको राजनीतिमा प्रसिद्ध राजनीतिक सिद्धान्तकार मेकियावेलिले भने जस्तै छलछाम मक्कारी जालझेल षड्यन्त्र गर्न जान्नेहरुले मात्र राजनीतिमा सहभागिता या नेतृत्व लिने हो त ?
आउने पुस्तालाई के सिकाउने ? कस्तो बनाउने ? राजनीतिप्रति आकर्षित गर्ने कि नगर्ने ? कि नेपाल र नेपाली राजनीतिप्रति भोलिका कर्णधारहरुलाई घृणा जगाएर विदेशीन बाध्य पारेर बाचुञ्जेल ‘अदक्ष’ को बिल्ला भिरिरहने हो ? या आफू र आ–आफ्नो दललाई सामूहिक निर्णय प्रणाली वा लोकतान्त्रिकरण गर्न तयार हुने हो ? यदि हैन भने सबै दलका निष्ठावान्, इमानदार नेता कार्यकर्ताहरुले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।