सर्वसाधारण ठग्ने सहकारी सञ्चालक अझै फरार

धरान । बचतकर्ताको अर्बौ रकम डुबाई बेपत्ता बनेका सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकबहादुर खापुङ (लिम्बू) अझै पक्राउ परेका छैनन् ।

पीडितमध्ये १०६ जनाले सुनसरी जिल्ला अदालतमा २०७९ चैत १७ गते अध्यक्ष खापुङविरुद्ध ठगीको मुद्दा दायर गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको भएपनि उनी पक्राउ नपरेका हुन् ।पीडित बचतकर्ता धरान–१५ श्यामचोकबासी ६८ वर्षीय रामबहादुर तामाङसमेतले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै सुनसरी जिल्ला अदालतले चैत १७ मै पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ हुन नसकेको भन्दै सुनसरी जिल्ला अदालतलाई २०८० जेठ २२ गते ‘पक्राउ पुर्जी तामेली सम्बन्धमा’ जानकारी गराएको थियो । पीडित समूहका संयोजक वेभकुमार राईले धरान प्रहरीले पक्राउ नगरेपछि गत वर्ष गृहमन्त्रालय, अपराध अनुसन्धान, अध्यागमन विभाग, जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि उजुरी दिई पक्राउ गर्न आग्रह गरिएको बताए ।
सो सहकारीले ८६२ जनालाई ठगी गरेको पीडितहरूले जारी गरेको कागजातमा देखिन्छ । तर, एस ढकाल एन्ड एसोसिएटका लेखा परीक्षक सन्तोष ढकालले गरेको अडिटअनुसार श्रेया सहकारीको शेयर सदस्य संख्या १३६ मात्र छ । त्यसमध्ये बचतकर्ता ३६ जना मात्र छन् ।

सहकारीले २५ लाख ३२ हजार ७०० रुपैयाँ बचत संकलन गरेको अडिट रिपोर्टमा उल्लेख छ । सहकारी पीडितहरूबाट बनेको संघर्ष समितिकी पूर्वसंयोजक सुजता येङ्देनका अनुसार आफूहरूले हालसम्म प्राप्त गरेको रेकर्डअनुसार १ अर्ब १३ करोड रुपैयाँ ठगी गरेको छ ।
अदालतमा मुद्दा दायर गर्नेहरूको १०६ जना, अर्को समूहमा ६०५ जना र अर्को समूहमा १५१ जना पीडित छन् । येङ्देनका अनुसार घर बनाउन तयार गरेको ३८ लाख रुपैयाँ तीन महिनाको लागि राखेकोमा पैसा निकाल्न जाँदा सहकारीमा ताला लागेको थियो ।अध्यक्ष खापुङलाई दुई पटक पक्राउ पुर्जी जारी भएपनि प्रहरीकै संरक्षणमा रहेको पीडितको आरोप छ । सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग राख्दै आइरहेका छन् ।

पीडितहरूमध्ये सबैभन्दा सुरुमा २०७९ पुस १९ गते धरान उपमहानगरपालिकामा ९४ जना बचतकर्ताले १८१ जनाको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ बचत फिर्ता गर्न माग गर्दै उजुरी दिएका थिए । उजुरी दिएका ९४ मध्ये २० जना मात्रै सहकारीको सदस्य रहेको खुलेको छ । उपमहानगरले कागजात छानबिन गर्दा बचत रकमको हिसाब नै देखिएको छैन ।

बिहिबार, २१ असार, २०८१, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page