किसानलाई छैन रासायनिक मलको चिन्ता

धानखेतीका लागि पर्याप्त खादमल मौज्दात

विराटनगर । धान खेती गर्ने समयमा विगत वर्षमा किसानले रासायनिक मल पाउन नसकेको समाचारहरु आउँथे । रसायनिक मलसँग जोडेर अनेक कोणबाट समाचारहरु बन्थे यो सिजनमा । तर, अघिल्लो वर्षदेखि रसायनिक मलको अभाव भएको समाचारहरु खासै आएको छैन ।

यस वर्ष धान खेती सुरु भएको छ । कोशी प्रदेशमा झण्डै २५ प्रतिशत धान रोपाइँ पनि भइसकेको छ । यस अवधिमा रसायनिक मलको अभाव किसानहरुले झेल्नु परेको छैन । त्यसैले यो विषय अहिले सञ्चार माध्यमको समाचार पनि बनेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको विराटनगरस्थित प्रादेशिक कार्यालयसँग धानखेती गर्न आवश्यक पर्ने रसायनिक मल पर्याप्त मौज्दात छ । त्यसैले यो सिजनमा रसायनिक मलको कुनै अभाव नहुने कार्यालयले जनाएको छ ।विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा रोपाइँ गर्न चाहिने मल रहेकोले किसानको माग अनुसार गाउँगाउँम आपूर्ति पनि गरिरहेको छ । कार्यालयका प्रदेशिक प्रवन्धक नरेशकुमार सापकोटाले भने ‘हामीसँग पर्याप्त मल स्टकमा छ, अझै पनि रसायनिक मल आउने पाइपलाइनमा छ त्यसैले धानखेतीका लागि रसायनिक मलको कुनै अभाव हुँदैन ।’ उनले किसानलाई ढुक्क भएर खेती गर्न आग्रह पनि गरेका छन् । उनले भने ‘मल पाइदैन कि भन्ने चिन्ता लिन पर्दैन ।’

प्रादेशिक कार्यालय विराटनगरसँग युरिया मल ४ हजार ५८ मेट्रिक टन मौज्दात रहेको छ । प्रादेशिक कार्यालय अन्तर्गतका विराटनगर, धनकुटा, इटहरी, इलाम, बिर्तामोड, गाईघाटमा ४ हजार ५४१.७५ मेट्रिक टन युरिया मौज्दात रहेको कार्यालयले जनाएको छ । त्यस्तै डिएपी १ हजार ७४३.५० मेट्रिकध टन र पोटास १ हजार ७२८.९५ मेट्रिक टन मौज्दात रहेको प्रादेशिक कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । धान रोपाइँको लागि सबै भन्दा बढी डिएपी मल आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा मौज्दात रहेको डिएपी नै कृषकको माग भन्दा बढी रहेको उनले बताए ।

कार्यालयका अनुसार सम्झौता अनुसार प्रादेशिक कार्यालयमा १७ सय मेट्रिक टन डिएपी र १५ सय मेट्रिक टन युरिया आउने क्रममा रहेको छ । प्रादेशिक कार्यालयमा भारतको जोगवनी र विरगंज नाकाबाट रसायनिक मल ल्याउने सम्झौता छ । प्रादेशिक कार्यालय प्रमुख सापकोटाले भने –‘ सम्झौता अनुसार मल पूरा नआए पनि निरन्तर आइरहेकोले किसानले आवश्यकता अनुसार मल पाउनेमा कुनै चिन्ता हुन्न ।’स्थानीय अनुदानको रसायनिक मल वितरण व्यवस्थापन समितिको सिफारिस अनुसार प्रादेशिक कार्यालय विराटनगरले सहकारीलाई रसायनिक मल दिँदै आएको छ । विराटनगर कार्यालयबाट मोरङका ३२० वटा सहकारी मार्फत वितरण हुँदै आएको जनाएको छ । पहिले आएको मल रोपाइँको लागि पर्याप्त रहेको कार्यालयले जनाएको छ ।

प्रादेशिक प्रमुख सापकोटाले सिफारिस लिएर आएका सहकारीलाई अहिले आवश्यक नपर्ने युरिया दिन भने गरेको छ । ‘आवश्यक पर्ने मल थपेर पनि दिँदै छौं,’ उनले भने –‘मनसुन सुरु भएको बेला आवश्यक नपर्ने पोटास र आवश्यक भन्दा बढी माग गरिएको युरिया आपूर्तिमा हामीले कडाइ गरेका छौं । किनभने रोप्ने बेलामा डिएपी बढी चाहिन्छ अनि धान सरिसकेपछि गोड्ने बेलामा र पसाउने बेलामा युरिया बढी चाहिन्छ, यहि सन्तुलन मिलाएर हामी आपूर्ति गर्छौं ।’

रोपाइँ सम्पन भएको केही समयपछि धान गोड्ने बेला युरिया बढी माग हुने गरेको छ । तर अहिले नै सरकारीहरुले माग गर्ने गरेकाले हामी त्यसमा कडाइ गरेको उनले बताए । केही वर्ष यता गहँ धर्ने बेला युरियाको अभाव हुने गरेको व्यापक गुनासो आउने गरेकाले हामी त्यसतर्फ सजग रहेको उनले बताए ।

माग अनुसारको आवश्यक रसायनिक मलको मौज्दात प्रयाप्त रहेकाले अभाव नहुने उनले बताएका हुन् ।

बिहिबार, २१ असार, २०८१, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर