एसईई नतिजाले सुकाएको ओठतालु

  पुण्य पि अधिकारी

बितेको साता राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा सञ्चालन गरेको एसईईको नजिता प्रकाशन गर्यो । प्रकाशित नजिताले धेरै सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको ओठमुख सुक्यो । सोचेभन्दा धेरै फरक नजिता आएका कारण शिक्षक, अभिभावक र विद्यार्थीको ओठमुख सुक्नु स्वभाविक हो । राज्यलाई समेत नजिताले तरङ्गीत बनायो । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयको नजिता केही राम्रो आएपनि सन्तोषजनक भने आएन । देशका अधिकांश सामुदायिक विद्यालय फेल भए ।

शिक्षाको सुधार र सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न राज्यले वार्षिक अर्बौँ रुपियाँ शिक्षामा लगानी गरेको छ । झण्डैझण्डै प्रति विद्यार्थी राज्यले वार्षिक एक लाख रुपियाँ लगानी गरेको छ । तर, एसईईको नजिताले राज्यको अबौँ लगानी खेर गएको बहस चलिरहेको छ ।
एसईई नजितामा अधिकांश विद्यार्थी फेल भएपछि त्यसले विद्यार्थी, अभिभावक, शिक्षक र राज्यलाईसमेत अलगअलग कित्तामा विभाजन गरेको छ । निजी र सामुदायिक विद्यालयबिच खाडल झन् बढी फराकिएको छ । फेल भएका अधिकांश विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन राज्यले हतारमा गरेको निर्णयले विभिन्न खाले प्रश्न सतहमा ल्याएको छ ।

नतिजामा खरो सावित हुन नसकेको विद्यार्थीलाई राज्यको निर्णयले पुनः मौका परीक्षामा सहभागी हुन दिएको अनुमतिले परीक्षाका लागि आवश्यक तयारी नपुगेको विद्यार्थीको भविष्य के होला भन्ने प्रश्न सिर्जना गरेको छ । अर्कोतर्फ व्यक्तिको बौद्धिकताको विषय राज्यको निर्णय चल्छ वा चल्दैन वा व्यक्तिको बौद्धिकतामाथि राज्यको भद्दा मजाक हुन सक्छ वा सक्दैन भन्ने प्रश्न उब्जिएको छ । सामुदायिक विद्यालयमा अब्बल शिक्षक, तालिम प्राप्त जनशक्ति र राम्रो सुझबुझ भएका शिक्षकहरु छन् । तर, तिनै सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी फेल हुनुले शिक्षक वा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिसमक्ष प्रशस्त प्रश्नहरु तेर्सिएका छन् ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय हरेक हिसाबले अब्बल छन् । दक्षजनशक्ति देखि लिएर भौतिक पूर्वाधारमा सामुदायिक विद्यालय अगाडि छन् । एकाध निजी विद्यालयबाहेक देशका कुनाकुनामा रहेका सामुदायिक विद्यालय भौतिक पूर्वाधार र आवश्यक शैक्षिक सामग्रीले धनी छन् । तर, नतिजामा भने गरिब सावित भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका झोले भएका कारण एसईईको नजिता निराशाजनक आएको अधिकांश अभिभावकको बुझाइ छ । धेरै हदसम्म राज्यको शिक्षाको गाडी चलाउने चालकहरु त्यो कुरा मान्न तयार छन् । तर, सबैभन्दा बढी झोले तिनै राज्यको शिक्षाको गाडी चलाउने चालकहरु हुँदा सामुदायिक विद्यालयको शिक्षा प्रतिदिन खस्किदै गएको छ ।

हुने खानेहरुले आफ्ना बालबच्चालाई मंहगो शुल्क तिरेर निजी विद्यालयमा पढाएपनि हुँदा खाने आम अभिभावकका छोराछोरी सामुदायिक विद्यालय जान बाध्य छन् । कडा प्रतिस्पर्धा पास गरेका आएका अब्बल शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् । तर, तिनै सामुदायिक विद्यालयका अधिकांश शिक्षकका छोराछोरी निजी विद्यालयमा पढिरहेका छन् ।

सामुदायिक विद्यालयका शिक्षकलाई राज्यले सबैखाले सुविधा दिएको छ । शिक्षामा प्रशस्त लगानी गरेको छ । एकाध बाहेक अधिकांश सामुदायिक विद्यालयका शिक्षकले आफ्नो जिम्मेवारीलाई जागिरमात्र समस्या बढ्दै गएको छ ।राजनीतिका कारण नेपालको सामुदायिक विद्यालयको शिक्षा काम नलाग्ने भएको बुझ्दाबुझ्दै राज्य चलाउनेहरु नै शिक्षकलाई राजनीतिमा होमिन उकास्ने परिपाटीले देशको शिक्षा ध्वस्त हुने निश्चित प्राय ःछ ।

बिहिबार, २१ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर