लोड हुँदैछ...

मेनु

विराटनगर शैक्षिक हब, सात हजार विद्यार्थी भर्ना

विराटनगर शैक्षिक हब, सात हजार विद्यार्थी भर्ना

विराटनगर ।औद्योगिक नगरीको रूपमा परिचित कोशी प्रदेशको राजधानी विराटनगर उच्च शिक्षा अध्ययन गर्ने शहरको रूपमा परिचित छ ।
कलेजहरूमा सबै विषयका उच्च शिक्षाको पढाई हुने भएकोले पनि विराटनगर शैक्षिक हबको रूपमा विकास हुँदै गएको छ ।

विश्व विद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी विराटनगरका कलेजहरूले उच्च शिक्षाको पढाइ सञ्चालन गर्दै आएका छन् । विद्यार्थीले रोजेको विषय पढ्न पाइने भएकोले पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अन्यत्र जानु पर्दैन ।उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षा दिने संस्थाहरू खुलेसँगै विराटनगरले शैक्षिक क्षेत्रमा फड्को मारेको छ । शैक्षिक गुणस्तरदेखि सुविधा सम्पन्न भौतिक पूर्वाधारहरू निर्माण हुन थालेपछि काठमाडौं जाने विद्यार्थीहरूको रोजाइ विराटनगरका नाम चलेका कलेजहरू बन्न थालेको हो । विगतमा सरकारीस्तरका क्याम्पसले भरथेग गरेको यहाँको उच्च शिक्षाको बागडोर अहिले निजी क्षेत्रका कहलिएका कलेजले सम्हालेका छन् ।

कुनै समय उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू काठमाडाँै धाउने गरेका थिए । तर, अहिले ठूलो परिवर्तन भएको छ । गुणस्तर र पूर्वाधारमा लगानी गरि सुविधा सम्पन्न बन्दै गइरहेको विराटनगरमा अहिले नेपालकै उत्कृष्टभित्र पर्ने कलेजहरु छन् । जसमा व्यवस्थापन, शिक्षा, विज्ञान संकाय र प्राविधिक धारका कक्षाहरु सहज रुपमा विद्यार्थीहरुले पढन पाएका छन् ।

विराटनगरमा एमबीबीएस, एमबीए, बीबीए, ब्याचलर अफ फार्मेसी, ब्याचलर अफ मेडिकल ल्याब टेक्नोलोजी, ब्याचलर अफ पब्लिक हेल्थ, बीएससी नर्सिङ, सफ्टवेयरको पनि पढाइ हुन्छ । त्यस्तै बीई सिभिल, होटल म्यानेजमेन्ट, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आम सञ्चार, चिकित्साशास्त्र अर्थात् नर्सिङलगायत पढ्ने सुविधा विराटनगरमा छ । सीटीईभिटी अन्तर्गत विभिन्न प्राविधिक विषय पनि पढाइ हुने गरेको छ ।
विराटनगरमा सरकारी र नीजि तहका राम्रो नतिजा पाईरहेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित कलेजहरुले पनि काठमाडौँ सहरको सुविधा प्रदान गरिरहेको शिक्षाविदहरु बताउँछन् । एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक ल्याबदेखि कम्प्यूटर इन्जिनीयरिङ्ग र सिभिल ईन्जिनीयरिङ्ग सम्मका कक्षाहरु अहिले विराटनगरमा सञ्चालनमा आइरहेका छन् । जसका कारण हिजो घर छोडेर बाहिर जानुपर्ने विद्यार्थीहरुलाई आफ्नो घर आँगनमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने खुसीको विषय बनेको छ ।

हरेक वर्ष विराटनगरका निजी कलेजहरुमा ६ देखि ७ हजार विद्यार्थी भर्ना हुने गरेका छन् । विराटनगरमा रहेको दुई दर्जन निजी कलेजहरुमा यस वर्ष शैक्षिक शत्रमा कक्षा ११ मा बढीमा ७ हजार विद्यार्थी भर्ना भएको हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिए । एसईई दिएर उत्तीर्ण भएका करिब ९० प्रतिशत विद्यार्थी विराटनगरकै निजी कलेज र सामुदायिकमा भर्ना हुने गरेको उनले बताए । शैक्षिक योगदानको कुरा गर्दा निजी क्षेत्रमा पढ्ने विद्यार्थीको संख्या थपिने क्रममा पुगेको छ । ‘हरेक वर्ष विराटनगरका कलेजहरुमा पढने विद्यार्थीहरूको संख्यमा वृद्धि आएको छ,’ उनउले भने, ‘यो राम्रो सुरूवात हो । यहाँका कलेजहरुमा गुणस्तरीय शिक्षा दिनमा अब्बल सावित छन् । त्यही भएर पनि कोशी प्रदेशका मात्र नभए मधेश प्रदेश भरीका विद्यार्थीको रोजाइ विराटनगरका कलेजमा हुने गरेको छ ।’

एसईई उत्तीर्ण गरेर तराई र पहाडी जिल्लाबाटसमेत विद्यार्थीहरू विराटनगर आउने गर्छन् । प्लस टु साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट पूरा गरेर स्नातक तहको कक्षा पनि यतै लिने आधाभन्दा धेरै छन् । विराटनरले स्नातक तहको पढाइमा पनि मधेश प्रदेशका विद्यार्थीलाई समेत तान्दै आएको छ । प्लस टु गर्न काठमाडौं र भारतको सीमावर्ती सहर जाने चलनमा कमी भएको छ । प्लस टु सकेर स्नातक पनि यतै पढ्ने विद्यार्थीकै कारण यहाँका कलेजमा विद्यार्थीको चाप हुने गर्छ ।

कति विद्यार्थीले दिए प्रवेश परीक्षा ?

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुले अहिले आफ्नो रोजाइ अनुसारको कलेजमा प्रवेश परीक्षा दिँदै आएका छन् । विराटनगरका आधा दर्जन बढी कलेजले कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिएका छन् ।बुधबार विराटनगरस्थित शिक्षादीप, कान्तिपुर, अरनिको कलेजले कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिए । यसअघि एभरेष्ट, ग्रिनल्याण्ड कलेजले पनि प्रवेश परीक्षा लिएका छन् ।

शिक्षादीप कलेजले विज्ञान संकायको लागि मात्रै विद्यार्थीको प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ८ सय जना कोटामा २ हजार ३२७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजले जनाएको छ । बिहीबार व्यवस्थापन संकायको लागि प्रवेश परीक्षा लिने तयारी छ । यसैगरी कान्तिपुर कलेजमा ८५० जनाको कोटामा १ हजार ३३७ विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विज्ञान संकायमा कान्तिपुरमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएको प्रिन्सिपल नेपालले बताए ।

अरनिको कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि १ हजार ९०३ जना विद्यार्थीले परीक्षा दिएका छन् । अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने प्रिन्सिपल राजेश कार्कीले बताए ।

विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले विज्ञान संकायमा ५२५ सिटका लागि ७३७ र व्यवस्थान संकायमा ३५० सिटका लागि ४१४ जना विद्यार्थीले परीक्षा दिएको कलेजका निर्देशक शिवनारायाण यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।