कोशीको समिकरण फेरि परिवर्तन !

विराटनगर । नेपाली काँग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारको समिकरण पनि फेरि परिवर्तन हुने अवस्थामा पुगेको छ ।

काँग्रेस र एमालेबीच भएको प्रारम्भिक सहमति अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री नेकपा एमालेकै हुनेछ । जसअनुसार यही सरकारको निरन्तरता हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।‘हाम्रो देशको राजनीति जुन मोडलबाट गइरहेको छ त्यही मोडलबो यहाँको राजनीति पनि अगाडि बढ्छ,’ भण्डारीले भने, ‘माओवादी सरकारबाट बाहिरिन्छ या के गर्छ भन्न सकिँदैन । हामी उसलाई अहिले नै बाहिरिनु भन्दैनौं । तर, केन्द्रको निर्देशन जे हुन्छ, त्यही अनुसार हामीले पालना गर्छौं ।’

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पनि केन्द्रमा परिवर्तन भएसँगै यहाँ पनि सोही अनुसार अगाडि बढ्ने उनले बताए । ‘अब केन्द्रले केही निर्देशन गर्ला नि त ? निर्देशन गरेअनुसार अगाडि बढ्छ,’ उनले भने ।उता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सरकारबाट फिर्ता आउने वा नआउने विषयमा माथिको निर्देशन अनुसार हुने बताए । ‘पार्टी अध्यक्ष प्रचण्डज्यू प्रधानमन्त्री रहेसम्म हामी पनि यहाँ सरकारमै रहन्छौं । त्यसपछि माथिको निर्देशन अनुसार अगाडि बढ्छौं,’ आङ्बोले भने, ‘स्वभाविक हिसावले केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सोही अनुसार हाम्रो दल पनि अगाडि बढ्छ ।’

कोशी प्रदेशमा अहिले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार रहेको सरकारमा माओवादीका तीन जना मन्त्री छन् । वैशाख २७ गते मात्र नियुक्त भएका मुख्यमन्त्री कार्कीको सरकारमा माोवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेशप्रसाद उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की मन्त्री छन् ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म छैटौं पटक सरकार गठन भइसकेको छ । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि २०७९ पुस २४ मा एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा हिक्मतकुमार कार्की नेतृत्वमा पहिलो सरकार बनेको थियो । सो सरकार २०८० असार १५ गते ढलेको थियो । त्यसपछि कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा २०८० असार २१ गते पहिलो पटक र साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री बने । दुवै पटक थापालाई सर्वोच्च अदालतले बर्खास्त गरेको थियो ।त्यसपछि संविधानको धारा १६८ (३) अनुसार २०८० भदौ २२ गते एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त भए ।असोज २० मा विश्वासको मत पाउन नसकेपछि कार्कीले राजीनामा दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने । केदार कार्की नेतृत्वको सरकार विस्थापित गर्दै पुनः हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते नयाँ सरकार गठन भएको हो ।कोशी प्रदेशमा मा एमालेको (उपसभामुखसहित) ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको सभामुखसहित ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् । ९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।

सोमबार राति काठमाडौंमा भएको सहमति अनुसार एमाले र काँग्रेसको सरकार बनेको खण्डमा उक्त सरकारलाई ६९ सांसदको समर्थन हुनेछ । जुन प्रदेशसभामा रहेको ९३ सदस्य सांसदमध्ये दुईतिहाई संख्या हो ।

बुधबार, २० असार, २०८१, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page