सम्पादकीय
मनसुन भित्रिएसँगै नेपाली किसान धान रोपाईंमा व्यस्त छन् । सिचाईंको प्रबन्ध नभएको क्षेत्रमा मनसुनकै भरमा खेती गर्नुपर्ने बाध्यता हुने भएकोले मनसुनले किसानलाई खुसी तुल्याउँछ । तर, मनसुनले किसानलाई सहजतामा मात्र बोकेर ल्याउँदैन, कतिपय क्षेत्रमा विपद् पनि ल्याउँछ । हरेक मनसुनमा कहीँ न कहीँ बाढीपहिरो आउँछ, कतै डुबान हुन्छ । बर्खामा जनधनको क्षति हाम्रो नियमित नियति बनेको छ । यो पटकको मनसुनमा पनि कोशी प्रदेशका पहाडी जिल्लामा ठूलो धनजनको क्षति बाढी र पहिरोले गरिसकेको छ । विपद् प्राकृतिक भएपनि पर्याप्त होसियारी र पूर्वसतर्कता अपनाएर प्रतिकार्यको तयारी गर्न नसक्नु हाम्रो समस्या हो ।
एक हप्ता अगाडि सात घण्टा परेको भारी वर्षाले विराटनगरका दुई सयभन्दा धेरै घर डुबानमा परे । सयौं विस्थापित भए । पानीको निकास नहुँदा विराटनगर महानगरका १९ वटै वडाबासी डुबानबाट प्रभावित भएका थिए । डुबानको कारण जनजीवन प्रभावित बन्यो , विद्यालय, बजार र उद्योगधन्दा पपिन चल्न सकेनन् । विमानस्थल प्रभावित बन्यो । केही घण्टा पानी पर्दैमा जलमग्न बन्ने विराटनगरमा दुई–तीन दिन पानी परको खण्डमा कस्तो अवस्था होला भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । डुबानबाट मुक्ति पाउनका लागि भन्दै एसियाली विकास बैंकको २ अर्ब भन्दा बढीको सहयोगमा निर्माण भएको ढल तथा नालाले डुबानको समस्या समाधान गर्न सकेको देखिन्न । सार्वजनिक खोला, नाला, पर्ती तथा सार्वजनिक जग्गाहरुको अतिक्रमणको कारण विराटनगर सामान्य वर्षामा पनि पानीको निकास नभएर डुबान हुने गरेको छ । पानीको निकास दिने घोघा पैनी, बस्ता खोला, धुधुवा पैनी अहिले हराएका छन् । विगतमा पातलो बस्ती भएकोले पानी खाली स्थानमा निकास हुने गरकोमा बाक्लो बस्तीले पानी छेकेपछि समस्या भएको छ ।
बजार क्षेत्रको पानीलाई सिंघीया र केशलिया खोलामा लगिएको छ । तर, उचित सरसफाइ हुन सकेको छैन । अर्कोतिर भारतले दशगजा क्षेत्रमा फाटक राखेर निकास बन्द गर्ने गरेकोले पनि समस्या हुने गरेको छ । प्रदेश सरकारले यसअघि केशलिया खोलामा बाँध निर्माण गर्ने र ब्यूटिफिकेसन गर्ने भन्दै डिपिआर गराएको थियो । डिपिआरमा २ अर्बको लगानी आवश्यक पर्ने उल्लेख छ । सो योजना कार्यान्वयन भए केशलिया खोलाको पानी विराटनगर पस्नबाट जोगिने र केही हदसम्म डुबानको अन्त्य हुने अपेक्षा थियो । तर, प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा भने उक्त योजनाका लागि बजेट विनियोजन गरिएको छैन । राज्यले सही तरिकाले काम नगरेको कारण नै डुबानको समस्या देखिएको हो । महानगर र प्रदेशको राजधानीमा देखिएको यो समस्याको दीर्घकालिन समाधानको उपाय खोजी गर्नुपर्छ । पानीको उचित निकास र व्यवस्थापनमा ध्यान दिनुपर्छ ।