स्थानीय सरकारलाई थप बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा धेरै भूमिका हुने भएकाले स्थानीय सरकारलाई थप सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय सरकार जति धेरै सक्षम भयो, जनताले उति नै बढी सेवा प्राप्त गर्ने बताए ।

स्थानीय सरकारसँग साधन स्रोतको पनि अभाव रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सक्षम बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । जनताको सेवा प्रवाहमा प्रत्यक्ष भूमिका खेल्ने स्थानीय तहलाई थप बलियो बनाउन प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले स्थानीय तह जति सक्षम र बलियो भयो त्यति नै प्रदेश सरकार पनि बलियो हुने उल्लेख गरे ।

‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरु छैनन्, जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानीय तह नै हो,’ उनले भने, ‘त्यसैले जति धेरै स्थानीय तह सक्षम भयो, उति नै जनताले बढी सेवा पाउँछन् ।’ जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उनले कुनै एउटा राजनीतिक दलको चिन्हबाट निर्वाचन जितेर बायस नभइ न्याय दिनसक्नु चुनौतीपुर्ण काम भएको बताए । ‘न्यायिक मनले वास्तविक पीडितलाई न्याय दिन सकेमा तपाई वास्तविक जिवनमा सफल बन्नुहुनेछ’ उनले भने ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतिपुर्ण रहेको बताए । जनताका कुरा सुनेर न्याय दिनु ठुलो जिम्मेवारी भएकाले स्थानीय तहका प्रमुखहरुले अधिकार दिएनन् भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानुनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका स्थानिय तहका उपाध्यक्ष तथा उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनितिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानिय तहको न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती लगायतका विषयमा छलफल गरिनेछ ।

कार्यक्रममा मुख्यमन्त्री कार्यलयकी राज्यमन्त्री सिर्जना रार्इ, प्रमुख सचिब केदारनाथ शर्मालगायतको पनि सहभागिता थियो ।

मङ्गलबार, १९ असार, २०८१, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page