तीन वर्षमा २४८ जना हाइड्रोसिलका विरामीको निःशुल्क शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसिल भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदै आएको छ ।

पछिल्लो तीन वर्षमा कोशी अस्पतालमा २४८ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका फोकल पर्सन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने विरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८÷०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड्रोसिलका विरामीको शल्यक्रिया गरिएको थियो । त्यसपछि आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जनाको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा १३० जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएकोमा १२४ जनाको शल्यक्रिया गरिएको थियो ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोशी अस्पतालले विगत ७ वर्षदेखि निःशुल्क सेवा दिँदै आएको छ । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ७ हजार रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्ने अस्पतालले जनाएको छ । कोशी अस्पतालमा हाइड्रोसिलका विरामीको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नपाएका कारणले पनि धेरै बिरामीहरु उपचारका लागि नआइपुगेको हुनसक्ने कोशी अस्पतालका मेसु डा.रविराज सिंहले बताए । अस्पतालले हाइड्रोसिलका विरामीको लागि स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।

‘शिविर गरेर हाइड्रोसिलका विरामीको स्क्रिनिङ गरिन्छ । त्यसपछि अप्रेसन गरिनुपर्ने विरामीलाई कोशीमा ल्याएर निःशुल्क गर्दै आएका छौं,’ उनले भने

मङ्गलबार, १९ असार, २०८१, बिहानको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर