विराटनगर । मोरङको ग्रामीण क्षेत्रमा हाइड्रोसिलका विरामीको संख्या बढिरहेको पाइएको छ । विगतमा फाट्टफुट्ट देखिने गरेको यो समस्या केही समयदेखि बढ्न थालेको हो । मुख्यगरेर मोरङको ग्रामीण क्षेत्रमा यो समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकामा मात्र ३३८ जनामा हाइड्रोसिलको समस्या देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । सुनवर्षीसहित दक्षिणी मोरङका ग्रामीण बस्तीहरुमा यो प्रकोपकै रुपमा फैलिरहेको स्वास्थ्कर्मीहरुले बताएका छन् ।
मोरङमा यस वर्षमात्र एक हजार ५८७ जनामा हाइड्रोसिलको समस्या पहिचान भएको थियो । त्यसमध्ये सबैभन्दा धेरै सुनवर्षी नगरपालिकामा यो रोगको समस्या बढी भेटिएको हो ।
स्वास्थ्य कार्यालय मोरङले डा.विशाल देव र डा. कमलेश यादवको टोलीलाई हाइड्रोसील रोगको परीक्षणको लागि ग्रामीण क्षेत्रमा खटाएको थियो । मोरङको १७ वटा स्थानीय तहमा पुगेर चिकित्सकद्वयको नेतृत्वको टिमले गरेको परीक्षणका क्रममा हाइड्रोसिलको समस्या बढ्दै गएको तथ्य फेला परेको हो । त्यसमा पनि सबैभन्दा बढी सुनवर्षी नगरपालिकामा यो समस्या भेटिएको हो ।
पुरुष जनेन्द्रीयमा हुने हाइड्रोसील रोगको समस्या सुनवर्षीपछि रतुवामाई नगरक्षेत्रमा बढी पाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा. मेहताले बताए । रतुवामाई नगरपालिका भित्र १५९ जनामा हाइड्रोसील रोग देखिएको डा. मेहताले जानकारी दिए । त्यसपछि धनपालथान, जहदा, बुढीगंगा गाउँपालिका र उर्लाबारी नगरपालिकामा यो समस्या बढी देखिएको छ ।
धनपालथान गाउँपालिकामा १५८, जहँदा गाउँपालिकामा १५७, बुढीगंगा गाउपालिकामा १४९, उर्लाबारी नगरपालिकामा ३४, मिक्लाजुङ्ग गाउँपालिकामा २१, कटहरी गाउँपालिकामा ६८, ग्रामथानमा ३८, सुन्दरहरंैचा नगरपालिकामा १०६ जनामा हाइड्रोसिलको समस्या भेटिएको छ । यस्तै पथरीशनिश्चरे नगरपालिकामा ४३, केराबारी गाउँपालिकामा ३६, लेटाङ नगरपालिकामा ५१ जनामा हाइड्रोसील रोगको पहिचान भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकामा ४९, रंगेली नगरपालिकामा ९६ जनामा हाइड्रोसिलका बिरामीहरु भेटिएका छन् ।‘मोरङको ग्रामीण र दक्षिण क्षेत्रमा धेरै हाइड्रोसील रोगका बिरामी देखिएका छन्,’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले भने, ‘सहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्र र मोरङको दक्षिण क्षेत्रमा हाइड्रोसील रोगका बिरामी धेरै देखिए ।’ लामखुट्टेको टोकाइबाट हाइड्रोसील रोग हुने गरेको उनले बताए । ‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसील रोगका बिरामी मोरङको ग्रामीण क्षेत्रहरुमा बढिरहेको पाइयो,’ उनले भने, ‘हाइड्रोसीलको शल्यक्रिया गररे रोग निको पार्न सकिन्छ ।’
स्वास्थ्य कार्यालयका अनुसार ४० वर्षदेखिमाथि उमेरका पुरुषमा हाइड्रोसिलको समस्या बढी देखिएको उनले सुनाए । ‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं । तालिम लिएका जनशक्तिले गाउँ–गाउँमा पुगेर समस्या पहिचान गरेका हुन् र चिकित्सकको चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसिल रोग भएको पत्ता लागेको हो,’ उनले भने, ‘हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसीलले दुखाइ पैदा गराउँदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’ नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ ।