मणि दाहाल
मनवीय दम्भीपन अर्थात् अहंकारले मान्छेलाई अन्धो बनाउँछ । मान्छे जब अन्धो हुन्छ उसको मति कुमतिमा परिणत हुन्छ । कुमतिले ठिक बेठिक केहि जान्दैन । ताली जान्दछ, गाली जान्दैन । नराम्रो जान्दछ, राम्रो जान्दैन । मान जान्दछ, स्वभिमान जान्दैन । नेता जान्दछ, नैतिकता जान्दैन । आज जान्दछ, भोलि जान्दैन । मान्छे बज्रस्वाँठ प्रवृत्तिको घेरामा परिसकेपछि उसको बचेखुचेको मति पनि कुमति बन्दछ । अनि कुमतिले पथभ्रष्ट र मतिभ्रष्ट दुवै बनाउँछ ।
यतिखेर राजनीतिमा कुमति नै कुमतिका भकारी भरिएका छन् । घात, प्रतिघात र विश्वासघात दर्शनशास्त्र बनेका छन् । विश्वासमा प्रतिबद्धता व्यवारको इमान्दारिता र नैतिकता भन्ने कुरा राजनीतिक दलभित्र बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । दण्डहीनताको पराकाष्ट दलका विशेषता बनेका छन् । यदाकदा दण्डका छडीहरु सुधारात्मक नभएर प्रतिसोधात्मक छन् । प्रतिस्पर्धीलाई प्रतिस्पर्धाले नभएर षडयन्त्रका तानाबानाले पछार्ने कला दलहरुको प्रमुख कार्यभार बनेको छ । राजनीतिमा मौलाएका यस्ता अनेकौं कुमतिले गर्दा दलहरु खुम्चिँदै छन् । देशले संक्रमणको सामना गरिरेको छ ।
नेपालका वर्गीय मुक्ति आन्दोलनमा वामपन्थी राजनीतिक दलहरुको भूमिकाको जति प्रसंसा गरे पनि सकिदैन । कम्युनिष्ट पार्टीको स्थापनादेखिका चरणगत आन्दोलनका सृङ्खलाहरु आजको पुस्तालाई दन्त्यकथा लाग्न सक्छ । निष्ठा, त्याग र बलिदानका स्वर्णिम आयामहरु अनुकरणीय पनि छन् । तिनै स्वर्णिम इतिहासका रचनाकार मध्येका पात्रहरुले आजको वामपन्थी राजनीतिक दलहरुलाई हाँकिरहेका छन् । तर, आज तिनै पात्रहरुको मतिहीनता र मनोदाशा टिठलाग्दो अवस्थामा छ । दल सन्चालन विधि राजा माहाराजाको हुकुम प्रमाङ्गी भन्दा कुनै मानेमा फरक देखिँदैन ।
वाम राजनीतिका नाममा फरक नामका पसलहरु धेरै छन् । तर, प्रवृत्तिगत समस्यामा भने सबै समान देखिन्छन् । समान प्रवृत्तिमध्येका ठुलो पसल एमाले र माओवादी जसले आफूलाई राष्टिय राजनीतिको मूल मसिहा दावी गरिरहेका छन् । तर, उनीहरुको अवस्था समुद्रमा डुब्न लागेको पानी जाहाजको जस्तै छ । आदेश विधि विधान बनेको छ । व्यक्ति केन्द्रित गुटबन्दी पार्टी बनेको छ । बेइमान र षडयन्त्रपूर्ण गतिविधि नैतिकता बनेको छ । संस्थागत शून्य आदेशको परिपालन र चाकरी अनुशासन भएको छ ।
नेकपा माओवादीको प्रसङ्ग उल्लेख गरिरहँदा विगत स्थानीय निर्वाचनको याद आउँछ । स्थानीय पालिकाहरुमध्ये केहि पालिकाहरुमा तत्कालीन सत्ताघटक दल बिचमा चुनावी गठबन्धन गर्ने केन्द्रीय सहमति भयो । विराटनगर माहानगरपालिका कांग्रेश र जसपाको भागमा प¥यो । सोही अनुसार उम्मेदवारी पनि भयो । तर, माओवादी मित्रहरुले उपमेयरमा स्वतन्त्र उम्मेदवार खडा गरेर सोहीअनुसार प्रचार कार्यमा संलग्न हुनुभयो । पार्टीको संस्थागत तथा शीर्ष तहको निर्णयकोविरुद्धमा उम्मेदवारी दिने पात्रलाई मत गणना नसकिदै पुरस्कृत गरियो ।
मैले माओवादी र सम्बद्ध पात्रको विरोध गरेको हैन । तर, यस्तो द्वैध चरित्र नैतिकता हो या अनैतिकता ? यस्तो प्रवृत्ति मति हो या कुमति हो ? जनता बोल्दैनन् । तर, लेखाजोखा राखेका छैनन् ? तर के गर्ने ? उहाँहरुलाई महान् नैतिकता र माहान् मति हो भन्ने लागेको छ । जनतालाई अनैतिक लागेर के गर्ने ? यदि भगवान छन् भने बरु भगवान जनतासँग लाज मान्लान्, तर यो देशका वामपन्थीहरुलाई जनतासँग लाजसरम केही छैन ।
राजनीतिको निर्लज्ज प्रवृत्ति नै कुमति हो । यो कुमति को आहालमा नेकपा एमाले डुबुल्कि मारेको देख्दा हृदय छियाछिया भएर आउँछ । किनकि एमालेलाई ठुलो पसल बनाए । आजको अवस्थामा ल्याउन म जस्ता लाखौंलाख मान्छेहरुको जीवन र जवानी बर्बाद भएको छ । कल्कलाउँदो बैंसका उल्लासहरु खण्डहर भएका छन् । पसलमा निस्वार्थ इँटा थप्ने क्रममा जीवनका कैयौं उकाली ओरालीहरु दुखैदुःखमा बितेका छन् । तर, आज एमालेमा न विधि छ न विधान । मुखै विधि मुखै विधान । सिद्धान्त एकातिर व्यवहार अर्कोतिर ।
हुन त आज म एमालेमा छैन । सैद्धान्तिक बिचलन र कार्यभारप्रतिको विमूखताको विरुद्धमा विद्रोही झण्डामा गोलबन्द बनियो । तर, विगत एक वर्षदेखि कोशी प्रदेशको सचिवालय तथा पार्टी प्रवक्ता, केन्द्रीय परिषद किसान माहासंघ जस्ता सबै जिम्मेवारीबाट विदा भएर मुक्त आकासमा कलम चलाउँदै छु । तर पनि आफूले मेहनत गरेर बनाएको घरका काठहरुलाई धमिराले खाएको देख्दा मन कटक्क चैं हुँदो रहेछ ।
आजकाल एमाले मोरङ मिडियामय बनेको छ । उपभोक्तासँग सरोकार राख्ने खानेपानीको निर्वाचनको बहानामा चलाइएको सफया आन्दोलनको घानमा विराटनगर महानगर अध्यक्ष परेका छन् । उनलाई पार्टी सदस्य तथा माहानगर अध्यक्षबाट निलम्बन गरिएका समाचार यत्रतत्र देख्न पाइन्छ । कारवाही एमालेको नितान्त आन्तरिक मामिला हो । यसमा अरुको चासो आवश्यक छैन । तर बालापनदेखि राजनीति गर्दै आएको एउटा उर्जावान युवालाई जुन हिसाबमा सफाया गर्न खोजिदै छ, त्यो भने अहंकारले जन्माएको कुमतिसिवाय अरुहुँदैहैन ।।
जहाँसम्म कारवाहीको सवाल छ । दण्डहीनताले पार्टी अघि बढन सक्तैन । तर कारवाहीको छडी कुन बेला, कहाँ, कसरी र कुन विधिबाट चलाउने भन्ने कुराको ख्याल छडीवालले गर्नु पर्ने हो । एमालेका छडीवाल कमरेडहरुले त्यसमा ध्यान पु¥याउन सक्नुभएन । कारवाहीको विषयवस्तु अत्यन्तै कमजाोर छ । जसले पार्टीको आन्तरिक जीवनमा सरोकार राख्दैन । साथै मानगढ खानेपानी एमालेको भातृ संस्था पनि हैन । उपभोक्तासँग सरोकार राख्ने सानो युनिटमा एमाले जस्तो जिम्मेवार दलले राजनीति गर्न मिल्छ ? अरुले चोरी गरे भन्दैमा आफू पनि चोर बन्ने ? खानेपानी हत्याउनुका पछाडि कुन स्वार्थको खेल छ ? जनतालाई जवाफ दिनु नपर्ने ?
एमाले मित्रहरु आफूलाई मूलघरे ठुल्दाइ ठान्नुहुन्छ । तर के मूलघरेले मूलघरकै विधिविधान मान्नु नपर्ने ? एमाले विधानको कुन धाराले ठाडै निलम्बन भन्छ ? निलम्वनमा जानुअघिका पूर्वाधारहरु स्वयं एमालेकै विधानमा छन् छैनन् ? स्पष्टीकरण, सचेत, पुन स्पष्टीकरणजस्ता आधारहरु किन राखिएको हो ? के एमालेको जिम्मेवार जमातले यसलाई विधिसम्मत भन्न सक्छ ? विवेकशील एमालेले अवश्य सक्दैन । तर दासता नै विधि र हुकुम नै अनुशासन बनेको अवस्थामा विधि खोज्नु चैँ मूर्खता मात्र हुनजान्छ । सकिने या सुध्रिने त्यो भने एमालेको आन्तरिक मामिला हो