पराजित निष्ठा र संकटग्रस्त अन्तरजीवन

 मणि दाहाल

जसरी पनि सत्तामा जानै पर्ने । निर्वाचन जित्नै पर्ने । राजनीतिको आडमा राज्यदोहन गर्नै पर्ने । अनेकौं आवरणका सुण्डमुण्डहरुको जम्बो भीड भेला गर्नै पर्ने । विजय नैतिकता हुने । पराजय अनैतिक हुने । उल्लेखित मानसिकता भन्दामाथि विद्यमान राजनीति उठ्न नसक्नु नै हाम्रो दुर्भाग्य हो । जब राजनीतिले गोरेटो छोडेर निष्ठाहीन विजय खोज्छ त्यस अवस्थामा राजनीति अनेकौं दलदलमा फस्नपुग्छ । अवान्छित चेतनाले राजनीतिलाई निर्वाचनदेखि निर्वाचनसम्म मात्र केन्द्रित गराउँछ । जे जसरी भएपनि जित्नै पर्ने वातवरण बनाउन खोज्छ ।

हामीले जित्ने नाममा नैतिकताको धोती फुस्किएकोसम्म थाहा पाएका छैनांै । कार्यभारबाट बिमुख हुँदै निष्ठालाई बन्धक बनाएका छौँ । बन्धक नैतिकताको जगमा विकसित राजनीतिमा अनेकांै दुर्गन्धका भेलहरु एकतृत छन् । जसबाट हामीले बारम्बार निर्वाचन जित्दै आएका छांै । तर राजनीतिक हार भएको कुरालाई बुझेर पनि झुटको खेतीले छोपिरहेका छौँ ।

राजनीति निष्ठापूर्ण जीवनदर्शन हो । निष्ठा र नैतिकतामा राजनीति अघि र जनता पछि हुन्छन् । तर, हाम्रो राजनीति टिठलाग्दो अवस्थामा छ । जनता अघि छन् राजनीति पछि छ । राजनीतिक दलहरुमा भीड देखिन्छ । कार्यकर्ता देखिदैन । शून्य चेतमा गुज्रिएको भीडले साध्य र साधन केहि बुझ्दैन । सत्ता उन्मादमा मात्र रम्न पल्केको सो भीडले नीति, नैतिकता र संस्कार केहि बुझ्दैन । विरोध सुन्न नै सक्दैन । हार पचाउन सक्दैन । राजनीतिक दलहरुका मातृदेखि भातृ संगठनसम्म यहि अवस्थामा गुज्रिएका छन् ।

राजनीति सम्मानित सेवा हो । तर सम्मानित सेवालाई पेशा बनाइयो । खराब मध्येका कम खराब रोज्नु पर्ने बाध्यताले अझै छोडेन । अवैध धन्दाका नायकहरुले राजनीतिक दल कब्जा गरे । राजनीति लाभको खेती भयो । राजनीति श्रम र पुँजी बिनाको नाफामूलक पेशा बन्नाले जनप्रतिनिधिहरु सेवक बन्न सकेनन् । उनीहरु मत्ताशासक बने । गाउँ गाउँका सिंहदरबारहरु भ्रष्टचारका केन्द्रमा परिणत भए । तर, यति हुँदासम्म सुधार तर्फ ध्यान केन्द्रित हुन सकिरहेको छैन । सबैभन्दा उत्कृष्ट नीति र गौरवपूर्ण सेवा मानिएको राजनीतिमा किन यो अवस्था आयो त ? बिबेचना हुनु पर्ने हैन ? किन भैरहेको छैन ?

आज आम निराशा र कुण्ठाको वातवरण व्याप्त छ । राजनीतिक दलहरुमा सुधारको छाँट देखिँदैन । राजनीतिकर्मीहरु भीडमा मात्र छन् । तर, जनताको बिचमा छैनन् । कुशासनबाट पीडाग्रस्त जनता विकल्पको खोजमा छन् । तर, जुन जोगी आए पनि कानै चिरेको अवस्थामा सुधार आउन सकेको छैन । यो खतरनाक लक्षण हो । यसका अनेकांै कारण होलान् । तर, एउटा कारण सिद्धान्तप्रतिको बिचलन र कार्यभारप्रतिको उदासिनता नै मूल कारक हो ।

निष्ठानैतिकता र आदर्शको खडेरी राजनीतिको मूल समस्या हो । राजनीतिक कामकोे सिन्कोसम्म नभाँच्ने । लाभ र पदको लागि मरिहत्ते गर्ने । नेताको विश्वासिलो बन्न एयरर्पोट मात्र धाउने । शक्तिवान शीर्षस्थको परिवारका सदस्यसँग कुम जोडेको फोटो पोष्ट गरेर पहँुचवान देखाउने । नीति र निष्ठाप्रति कहिलै इमान्दार नरहने । स्वार्थको गुटबन्दी गर्ने । अनुकुलतामा खरानी घस्ने । प्रतिकुलतामा दुलोभित्र पस्ने । अवसरमा हारालुछ गर्नेजस्ता अनेकौं प्रवृतिहरु आजको राजनीतिका विशेषताहरु हुन् । जुन विशेषताले राजनीति सेवा बन्न सकेन ।

राजनीतिभित्र दासता हावी भयो । जान्दा पनि नजान्ने अनि भनेको पनि नमान्ने । अध्ययन फिटिक्कै नगर्ने । अग्रजलाई सम्मान नगर्ने । तहगत नेतृत्वलाई नमान्ने । आफैँ मैमत्ता बन्ने । पहँुचकोसामु लम्पसार पर्ने । एकोहोरो ताली बजाउने या गालीमात्र गर्ने । पथभ्रष्ट जयकार गर्ने । इमान्दारको दोहोलो काड्ने । संगठनको महत्व नबुझ्ने । बैठकदेखि बैठकसम्म र पार्टीदेखि पार्टी अफिससम्मलाई पार्टी काम ठान्ने । तीस दिन पार्टी काममा लागेर तीस वर्षको ब्याज खोज्ने जस्ता अनेकौं आत्मकेन्द्रित प्रवृत्तिहरु विद्यमान दलीय समस्याहरु हुन् । यसलाई समुल नष्ट गरेर संस्थागत परिपाटीको विकास नगर्दासम्म यथास्थितिको राजनीतिले जनतालाई उधारो स्वप्ना सिवाय केहि दिन सक्दैन ।
तदर्थवाद राजनीतिको अर्को समस्या हो । पाएको जिम्मेबारीप्रति इमान्दार नरहने । तथ्यको विष्लेषण नगरी हावाको पछाडि दौडने । लिङ्ग र नश्ललाई सिंढी बनाउने । क्षमताको विकास नगर्ने । शक्तिको फेर भजाउने । कामका परिणाम जहिल्यै शून्यमा आउने । सस्तो लोकप्रियता खोज्ने यथार्थ अवस्थाको सहि विश्लेषण गर्ने । विषयवस्तुको जानकारीसम्म नराख्ने । संस्थाको मर्यादा नबुझ्ने । विधि नमान्ने । गलत प्रतिवेदन बुझाउने । असलपक्षको समर्थन र खराब पक्षको आलोचना गर्न नजान्ने जस्ता अनगिन्ति समस्याले राजनीति जेलिएको छ । तर, राजनीतिक दलहरु यी समस्याबाट उम्कन सक्ने अवस्थामा छैनन् । किनकि गैर राजनीतिक भीडले केन्द्र भागमा नै घेरा जमाएको छ ।

राजनीतिलाई विकृत बनाउने अर्को पक्ष भनेको आत्मकेन्द्रित बौद्धिकवाद हो । दलीय बुद्धिजीवीहरु कहिलै पनि स्वार्थभन्दा माथि उठन सकेनन् । स्वार्थको परिभाषा नै उनीहरुको विशेषता बन्न पुग्यो । राजकीय अवसरको उपभोग र भागबण्डा नै उनीहरुको दैनिकी बन्यो । उनीहरुको घेराबन्दीबाट जिम्मेवार नेतृत्व उम्कन सकेन । नेतृत्व उनीहरुको अनुचित प्रभावमा प¥यो ।

पाठ्यक्रमको डिग्री र व्यवहारिक तथा राजनीतिक डिग्री फरक पाटा हुन् । तर राजनीतिक दलहरुले यसलाई आत्मसाथ गरेनन् । यसो हुन नसक्दा गलत मान्छेहरु राजनीतिक तथा राजकीय अवसरका भागिदार भए । पथभ्रष्ट प्रशासक स्वास्थ्य तथा शिक्षाका माफिया, मिटर ब्याजी सहकारीकर्मी, अस्थिरतावादी एनजिओकर्मी, नागरिक बिनाका नागरिक समाजलगायतका स्वार्थी भीडको पछाडि राजनीतिक दलहरु दौडिए । स्वार्थी जमातहरु स्वयं बने । तर, समग्रता बनाउन सकेनन् । मुठ्ठीभर नेताहरु मालामाल बने । तर जनताको बेहाल जस्ताको तस्तै रहन गयो । चाकरीबाजहरु आफू उक्सिए । दललाई डुबाए । तर राजनीतिक दलहरु आजसम्म पनि सुनिएर मोटाएको भ्रममा छन् । आगत भ्रममुक्त होला या नहोला । त्यो भने समयले बताउला ।

बिहिबार, १४ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर