विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये साढे ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा ६ दशमलव ४८ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम क्षेत्रफलमा रोपाइँ भएको हो । यद्यपि भर्खरै रोपाइँ सुरु भएको र प्रसस्त समय बाँकी रहेकोले मौसमले साथ दिएमा समयमै रोपाइँ हुने कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ ।
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशको मध्यपहाडी जिल्लामा सबै भन्दा बढी १२.३० प्रतिशत धान रोपाइँ भएको छ भने सबै भन्दा कम तराईका जिल्लामा ३.१४ प्रतिशत धान रोपाइँ भएको छ । मध्यपहाडी जिल्लामा यस पटक पर्याप्त पानी परेका कारण बढी रोपाइँ भएको हो । धेरैको बिउ तयार नभएका कारण यस अवधिमा रोपाइँ गर्न नपाएका हुन् । अब केही दिन पानी परेको खण्डमा पहाडी क्षेत्रमा छिटै रोपाइँ सकिने अवस्था रहेको कृषि प्राविधिकहरुले बताएका छन् । तराईका जिल्लामा भने ब्याड राख्न ढिलो गरेका कारण धान रोपाइँ खासै सुरु भएको छैन । उच्च पहाडी जिल्लामा भने ६.२१ प्रतिशत धान रोपाइँ भएको छ । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा हाल सम्म १५ हजार ३६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
उच्च पहाडी जिल्लाका तिन जिल्लामा १५ हजार ३८३ हेक्टर क्षेत्रफलमा हुने धानखेती मध्ये ६.२१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मध्यपहाडी पहाडी जिल्लामा ६७ हजार ७१७ हेक्टर धानखेती योग्य क्षेत्रफलमध्ये १२.३० प्रतिशत तथा तराईको १ लाख ९३ हजार २८५ हेक्टर मध्ये ३.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
पूर्वको प्रमुख बालीको रुपमा बर्खे धान रहेको छ । यस पटक समयमै पानी परेका कारण किसानहरु धान खेती सप्रिनेमा खुसी देखिएका छन् ।धानखेतीका लागि ब्याड राखेको २१ दिनभित्र रोपाइँ गर्दा राम्रो हुने र उत्पादन पनि बढ्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
अहिलेसम्म झापाको ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमध्ये ४ प्रतिशतमा, इलामको ११ हजार ६२ हेक्टरमध्ये १५ प्रतिशतमा, पाँचथरको ५ हजार ८४८ हेकटर क्षेत्रफल मध्ये १९ प्रतिशतमा, ताप्लेजुङको ५ हजार ६६६ हेक्टर क्षेत्रफल मध्ये ६ प्रतिशतमा, मोरङको ६७ हजार ८१७ हेक्टर क्षेत्रफल मध्ये ३ प्रतिशतमा धान रोपाइँ भएको छ । यसैगरी सुनसरीको ४८ हजार ९०० हेक्टर क्षेत्रफल मध्ये २ प्रतिशतमा मात्र धान रोपाइँ भएको छ ।
त्यस्तै धनकुटामा ४ हजार ९३८ हेक्टर क्षेत्रफल मध्ये ५ प्रतिशतमा, तेह्रथुमको ६ हजार ६१५ हेक्टर क्षेत्रफल मध्ये २१ प्रतिशतमा, संखुवासभाको ८ हजार ४९२ हेक्टर क्षेत्रफल मध्ये ३ प्रतिशतमा, भोजपुरको १२ हजार ५० हेक्टरमध्ये २० प्रतिशतमा धान रोपाइँ भएको छ । उदयपुरको १३ हजार ३८० हेक्टरमध्ये ४ प्रतिशतमा रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १० हजार १८ मध्ये ७.४१ प्रतिशत, ओखलढुंगामा ३ हजार ८०३ हेक्टरमध्ये ६.२५ प्रतिशत तथा सोलुखुम्वुको एक हजार २२५ हेक्टर क्षेत्रफलमध्ये २८ प्रतिशत क्षेत्रमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।