विष्णुप्रसाद काफ्ले
झण्डै तीन दशकअघि नेपाल भित्रिएको किबिफलले व्यवसायिक फड्को मार्न थालेको करिब एक दशक मात्रै हुँदैछ । सीमित अगुवा किसानहरुले शुरु गरेको यसको उत्पादनमा अहिले हजारौं किसान जोडिएका छन् । समुन्द्र सतहबाट १२०० मिटरदेखि २४०० मिटरसम्ममा व्यवसायिक उत्पादन गर्न सकिने किबि फल नेपालका मध्य तथा उच्च पहाडी सबै जिल्लाहरुमा उत्पादनको सम्भाव्यता रहेको छ । पूर्वको इलामदेखि सुदुरपश्चिमको डडेल्धुरासम्म फैलिएको किबि फल अहिले ३० बढी जिल्लाहरुमा व्यवसायिक रुपमा उत्पादन गरिँदै आएको छ । इलाम, काभ्रे, दोलखा, ललितपुर, पाँचथर, संखुवासभा, मकवानपुर, सिन्धुपलाल्चोक, म्याग्दी, कास्की, सोलुखुम्बु, तेह्रथुम, भोजपुर, ताप्लेजुङ, रुकुम, डडेल्धुरालगायतका जिल्लामा उल्लेख्य रुपमा किबि फल उत्पादन भइरहेको छ ।
पौष्टिकताका दृष्टिले अब्बल फल मानिने यो फल रक्तचाप, दम, मधुमेह, पेट सम्बन्धी रोग भएकाहरुले समेत खान मिल्ने भएकाले पछिल्लो समय यसको माग र खपतसमेत बढ्दै गएको छ । एक अप्रशोधित तथ्यांकले नेपालमा गत वर्ष करिब ७ हजार मेट्रिक टन किबि उत्पादन भएको देखाएको छ भने चालू वर्षमा झण्डै ५ हजार मेट्रिक टन उत्पादन थप हुने अनुमान गरिएको छ । हालको सरदर बजार मूल्यलाई हेर्ने हो भने पनि वार्षिक एकदेखि सवा अर्ब रुपैयाँसम्मको किबि नेपालमा उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको अलवा उल्लेख्य मात्रामा यसको आयातसमेत भइरहेको छ । गत आर्थिक वर्षमा मात्रै झण्डै १० करोडको किबि फल आयात भएको देखिन्छ । उत्पादक तथा उपभोक्ताहरुको बढ्दो आकर्षणसँगै सरकारी तथा निजी क्षेत्रबाट समेत किबि फल व्यवसायिक लगानी र प्राथमिकताको क्षेत्रका रुपमा अगाडि आउँदै छ । यहि क्रम रहिरहने हो भने आउँदो १० वर्षभित्रमा नेपालमा एक लाख मेट्रिक टन किबि फल उत्पादन हुने देखिन्छ । किबि फल उत्पादन र बजारीकरणको विस्तारसँगै हजारौंको प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी र आम्दानीको माध्यमसमेत बन्न थालेको छ ।
कोशीमा किबि फल
कोशी प्रदेशका १४ मध्ये झापा र सुनसरी बाहेक १२ जिल्लामा किबि फल उत्पादन भइरहेको छ । पछिल्लो आँकडा अनुसार कोशी प्रदेशमा १३८२ हेक्टरमा यो फलको उत्पादन भइरहेको छ । जसमध्ये ६३५ हेक्टर क्षेत्र उत्पादनशील रहेको छ । आर्थिक वर्ष २०७९–८० मा करिब ४९५४ मेट्रिक टन उत्पादन भएको देखिन्छ । जून समग्र देशको उत्पादनको करिब ७० प्रतिशत हो । यस आधारमा कोशी प्रदेशमा मात्रै ७० करोड बढी मूल्यको किबि फल उत्पादन भइरहेको छ । साथै यो क्षेत्रले सिर्जना गरेको प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदेशकै आर्थिक वृद्धिमा महत्वपूर्ण क्षेत्र बन्ने आधार यसले इंगित गरेको छ । सबैभन्दा धेरै उत्पादन हुने जिल्लाहरु इलाम (२८५२ मे. ट.), पाँचथर (८४९ मे.ट.), र सोलुखम्बु (७०० मे.ट.) रहेका छन् । औसत उत्पादकत्व ७.८० मे.ट. प्रतिहेक्टर रहेको छ । किबि फल लगाइएको क्षेत्र र विस्तार हुँदै गएको क्रमलाई हेर्दा आगामी दिनमा यसको उत्पादन दोब्बर हुने देखिन्छ ।
किबिको बजार र बजारीकरण
मुलतः अहिले नेपालमा उत्पादित किबि फलको बजार आन्तरिक खपत नै हो । ताजा फल उपभोग नै खपतको मुख्य हिस्सा रहेको छ । यसका अलवा सीमित मात्रामा व्यवसायिक प्रशोधन र मूल्य अभिवृद्धिमार्फत बजारमा गइरहेको छ । स्थानीय घरेलु, लघु तथा साना उद्योगमार्फत किबिबाट जुस, जाम, अचार, क्यान्डी, वाइन, रक्सी आदि प्रशोधित उत्पादनहरु बजारमा आउन थालेका छन् । यद्यपि यसको गुणस्तर, ब्राण्ड र व्यवसायिकरण शुरुवाती अवस्थामा नै छ । बजारमा स्वदेशी किबिको मूल्य शुरुका दिनमा उच्च रहेपनि बढ्दो उत्पादनसँगै अहिले १०० देखि ४०० रुपैयाँसम्म रहेको छ । विदेशबाट आयतित ताजा किबिको मूल्य स्वदेशीको तुलनामा उच्च रहेको छ । हाल मूख्य बजारका सुपरमार्केटहरुमा आयातित किबि फल प्रतिके.जी. ४०० देखि ८०० सम्म रहेको देखिन्छ ।
बजार मूल्य सिजन, गुणस्तर, आकार, स्वाद लगायतका कुराहरुबाट निर्देशित रहेको छ । कतिपय ठाउँमा माग र उपभोक्ताको चाहानालाई नबुझी चाँडै बजार पुर्याउने नामामा राम्ररी छिप्पिन नपाई, पाक्ने बेला नभई बजारीकरण गर्न खोज्दा गुणस्तर, इमेज र उपभोक्ताको धारणमा नकारात्मक प्रभाव परेको देखिन्छ । साथै सामान्य उपभोक्ताका लागि स्वदेशी किबिको प्रचलित बजार मूल्य पनि उच्च रहेको गुनासो सुनिदै आएको छ । पछिल्लो दिनमा उत्पादन बढेसँगै मूल्यमा केहि गिरावट हुँदै गएको छ । तर, यहि क्रमले उत्पादन बढ्दै जाने र स्वदेश तथा निर्यात बजार विस्तार, भण्डारण सेवा एवम् उद्योगसँग नजोड्ने हो भने केहि वर्षभित्रै संकट आउन सक्ने देखिन्छ । यसप्रति सरकार, निजी क्षेत्र, विकास साझेदारहरु सबैले समयमै ध्यान पुर्याउन जरुरी देखिन्छ । पछिल्लो दिनमा केहि शीतभण्डार गृहहरुले किबिलाई सुरक्षित भण्डारण गरी बेसिजनमा उच्च मूल्य हासिल गरेका सफल अभ्यासहरु देखिएका छन् । यसलाई अझै व्यापक र सहज बनाउँदै लैजान सके उत्पादनका बेला बजार नपाउने समस्यालाई पार लगाउन सकिने सम्भावना पनि रहेको छ ।
मूल्यश्रृङ्खला विकास
नेपालमा किबि फल एउटा उदयीमान र सम्भावना रहेको फलपूmल नगदेबाली भएकाले उत्पादन प्रविधि र उपभोक्ता बजारमा नयाँ पनि हो । अहिले नै यसको स्थिर र भरपर्दो बजार विकास भइसकेको छैन । सीमित प्राविधिक तथा बजार जानकारीका आधारमा सुनेजाने या देखेका भरमा शुरु गरिएको खेतीलाई उद्योग र बजारसँग जोड्नु पर्ने हुन्छ । बजार प्रतिस्पर्धी उत्पादनका लागि गुणस्तरीय विरुवा, प्रमाणित नर्सरी, उपयुक्त जात, उपयुक्त सपोर्ट संरचना (माच), रोपण, बगान तथा बोट व्यवस्थापन, छाँटकाँट, मलखाद, सिँचाइ, रोगकिरा नियन्त्रण, टिपाई, भण्डारण, ढुवानी, मूल्य अभिवृद्धि (ग्रेडिङ, प्याकेजिङ, ब्राण्डीङ, प्रशोधन आदि) बजारीकरण लगायतका कार्यहरु चरणबद्ध रुपमा गर्नुपर्ने हुन्छ । हरेक तहका कर्ताहरुबीच समन्वयत्मक र पारदर्शी सम्बन्ध र सहकार्यका आधारमा मूल्य श्रृंखलाको विकास र व्यवसायीकरण गर्दै जानुपर्ने हुन्छ ।
उत्पादनलाई उद्योग र बजारसँग आधारित बनाएर बनाइने उत्पादन योजनाले मात्रै यसको दिगो बजार सुनिश्चित गर्दछ । उपयुक्त जातको छनौट र गुणस्तरीय बेर्ना आपूर्तिकर्तादेखि उत्पादक, प्रशोधनकर्ता, भण्डारण सेवाप्रदायक, थोक तथा खुद्रा व्यपारीबीच, बाली व्यवस्थापन प्रविधि परामर्श सेवाप्रदायक आदि कुराहरुको सुनिश्चिताले मात्रै बजारमा गुणस्तरीय ताजा तथा प्रशोधित किबि फल बजारमा आउँछ र उपभोक्ताका लागि आकर्षण बन्न सक्छ ।
प्रशोधनमार्फत गरिने मूल्य अभिवृद्धि र विविधिकरणका सम्भाव्यता, बजार माग र उपभोक्ताका चाहानाहरुको मिहिन अध्ययन र लेखाजोखा नगरी यी कुराहरु सम्भव हुदैन । तसर्थ बजार अध्ययन अनुसन्धान र उपयुक्त प्रविधि र प्रतिस्पर्धात्मक मूल्य श्रृंखलाको विकासले मात्रै यो क्षेत्रलाई दिगो व्यवसायीकरणको मार्गमा लैजान्छ । जसका लागि सरकार, निजी क्षेत्रका उद्यमी व्यवसायी, उत्पादक तथा सहयोगी निकायहरुबीच सक्रिय सहकार्य र साझेदारी हुन आवश्यक देखिन्छ । साथै किबि फल उत्पादन, प्रशोधन तथा बजारीकरण प्रविधिमा आधारित प्राविधिक जनशक्ति उत्पादन र परिचालन (सरकारी तथा निजी) गर्न पनि सम्बन्धित निकायहरुबीच सहकार्य भएमा यसको व्यवसायिकतामा टेवा पुग्ने देखिन्छ ।
समस्या र चुनौतिहरु
भर्खरै व्यवसायीकरणको फड्को मार्दै गरेको यो क्षेत्रमा मुलतः प्राविधिक, वित्तीय, व्यवस्थापकीय, मूल्य अभिवृद्धि, बजारीकरणको सेरोफेरोमा नै समस्या र चुनौतिहरु रहेका छन् । कुन ठाँउ र सिजनलाई लक्षित गरेर कुन जात लगाउने, जातीय गुण र विशेषताका आधारमा उत्पादन योजना, गुणस्तरीय बेर्ना उत्पादन र वितरण, बगान र माचको वैज्ञानिक व्यवस्थापन आदिका बारेमा यथेष्ट प्राविधिक अध्ययन अनुसन्धान र परामर्श सेवाको कमी रहेको छ । सिँचाईको सुविधा सबैतिर पुगेको छैन । टिप्ने समय, उपयुक्त टिपाई, ओसारपसार, भण्डारण, ग्रेडिङ, प्याकेजिङ आदि व्यवस्थित हुन सकेको छैन । उपलब्ध सीमित शीतभण्डारहरुमा किबिको भण्डारण मापदण्ड र प्रविधि तर्जुमा भएको देखिदैन ।
बजारमा गुणस्तर निर्धारण र प्रभावकारी अनुगमन नहुँदा कमसल उपज बजारमा भित्रिएर उपभोक्तामा नकारात्मक छाप परेका दृष्टान्तहरु देखा पर्न थालिसकेका छन् । यसले भर्खर उपभोक्तामाझ चिनिन थालेको किबिको बजारका लागि ठूलो चुनौति हो । सबैभन्दा ठूलो कुरा त बजार र औद्योगिकरणको सम्भाव्यता अध्ययन, माग आपूर्तिको विश्लेषण नगरी उत्पादन मात्रै बढाउँदै जादा भविश्यमा आउनसक्ने बजारको समस्या यो क्षेत्रको मुल कुरा हो । स्थानीय घरेलु तथा सीमित प्राविधिक ज्ञानका आधारमा थालिएका प्रशोधन उद्योग तथा विविधीकरणमा पनि गुणस्तर र बजार प्रतिस्पर्धाको कमी रहेको छ । उपयुक्त प्रविधि विकास र बजार प्रतिस्पर्धाका आधारमा प्रशोधन तथा बजारीकरण गर्नु पनि अर्को चुनौति रहेको छ ।
अबको बाटो
सीमित अगुवा कृषक र उद्यमीहरुको अग्रसरतामा फैलिन थालेको किबिलाई पछिल्ला वर्षहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश कृषि मन्त्रालय, निर्देशनालय, कृषि ज्ञान केन्द, वागबानी केन्द्र्र र स्थानीय सरकारहरुले चासो र प्राथमिकता दिन थालेका छन् । साथै व्यवसायिक संघसंस्थाहरु, व्यपारी र उत्पादकहरु आफंै पनि यो क्षेत्रमा लगानी गर्न अग्रसरता देखाउँदै आएका छन् । असल अभ्यासमा आधारित खेती प्रविधि, उपयुक्त जात, गुणस्तरीय र प्रमाणिक बेर्नाको मापदण्ड अध्ययन अनुसन्धान र प्रविधि विकासका साथै सोहि अनुरुप प्राविधिक सेवा अहिलेको आवश्यकता हो । तीब्र दरमा बढ्दै गएको किबि खेती प्रतिको आकर्षण र उत्पादन प्रवृत्तिलाई हेर्दा यसको आन्तरिक बजार माग, प्रतिस्पर्धा, औद्योगिककरण, प्रविधिको विकास र भरपर्दो निर्यात सम्भावनाको सुक्ष्म अध्ययन अनुसन्धानलाई पहिलो प्राथमिकता दिनु जरुरी रहेको छ । यस क्षेत्रलाई व्यवसायिक उद्यम, उद्योग र निर्यात बजारसँग जोड्ने, भण्डारण लगायतका बजार पुर्वाधारको विकास, प्रशोधन, विविधिकरण, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणमा नवप्रवर्तनको खोजी, व्यवसायिक सञ्जाल र क्षमता विकासमा ध्यान दिन जरुरी छ ।
अहिलेको उत्पादन वृद्धिको क्रलाई हेर्दा उत्पादनको करिब ७० देखि ८० प्रतिशत हिस्सा औद्योगिक कच्चा पदार्थका रुपमा नगई ताजा फल बेचेर मात्रै खपत हुनसक्ने देखिदैन । बजार र उद्योगसँगको भरपर्दो तरिकाले नजोडी व्यवसायिक योजनाविना नै गरिने खेतिले हजारौं कृषक, व्यवसायी र आश्रित जनलाई भोलि गहिरो संकटमा धकेल्न सक्छ । अवसरका कुरा गरौं, सम्भावनालाई आत्मसात् गरौं, अहिले पनि कोशी प्रदेश उत्पादनका दृष्टिले अग्रणी स्थानमा छ । यसको विकास, औद्योगिकरण, मूल्य श्रृंखालको व्यवसायीकरण तथा प्रभावकारी बजारीकरण सुनिश्चित गर्न सके एउटा प्रमुख नगदेबालीको रुपमा किबिफलले कोशी प्रदेशकै आर्थिक सामाजिक रुपान्तरणमा कमाल नै गर्न सक्छ ।