डा. बालकृष्ण साह
अहिलेको जस्तो समय थिएन । उठ्ने बित्तिकै दूध र बिस्कुट खाने न त प्रचलन थियो न त उपलब्धता नै । दूध प्रायः सबैका घरमा हुन्थ्यो । तर बिस्कुट, स्याउ, अंगुर जस्ता कुराहरु कोसेलीका रुपमा भित्रिने गथ्र्यो । पैसा सँधै सबैसँग हुन्थ्यो भन्ने थिएन । सायद पैसाको आवश्यकता पनि कम नै थियो । साथीलाई गणितको हिसाब सिकाएर पाएको पच्चिस पैसाले बरफ खान पाएको मज्जा अहिलेको आईस्क्रिमले कहाँ दिन सक्छ र ? तर त्यो बरफ खानका लागि पनि हटिया लाग्ने दिन कुर्नु पर्ने थियो ।
गाउँमा हटियाको ठूलो महत्व थियो । हटियामा एकातिर ढिकीमा कुटेको बेसार, चिउरा र चामल बेच्नेको लाईन हुन्थ्यो । अर्कोतिर तिर बारीमा फलेको सागसब्जी, केरा, नरिवल, अम्वा लगायतका फलफूल बेच्नेहरुको लाइन थियो । यी बाहेक खाद्यान्न, दैनिक उपभोग्य बस्तुहरु पसारेर राखेको पसलहरू, श्रङ्गार, चप्पल÷जुताका पसलहरु, अनि कपडाका पसलहरु पनि लाग्ने गरेको हुन्थ्यो । ठुलाठुला होटलहरु थिएन । साना साना चियाका स्टलहरु हुन्थ्यो । ठुलाबडाहरु चियाको चुस्कि लिएर गफिने अनि पान खाने गर्थे । हामी चाहिँ पापड (ढुङ्ग्री), झिलिया (मैदाले बनेको जेरी जस्तो तर नुनिलो), बरफ र चटपटे खान पाउने हुन्थ्यो । त्यसैले शनिबार र बुधबार हाम्रो लागि खास हुने गथ्र्यो । शनिबार र बुधबार गाउँमा बजार (हटिया) लाग्ने गथ्र्याे । टाढा–टाढाको व्यापारीहरु साबुनदेखि कपडाहरु लिएर आउथे भने गाउँलेहरु आफ्नै उत्पादन । आफ्नो उत्पादन बेच्ने र आएको पैसाले अन्य आवश्यकता भएको बस्तु किन्ने राम्रो माध्यम थियो हटिया अर्थात् हाट–बजार ।
हटिया हामी पढ्ने स्कुल टासिएर नै लाग्ने गरेको थियो । शनिबार त स्कुल विदा हुन्थ्यो, त्यसैले हटिया लागिसके पछि मात्रै ४ आना (पच्चीस पैसा) लिएर झिलिया, पापड खान कुद्थ्यौ । तर बुधबार स्कुलको झ्यालबाट नै हटिया चियाउँथ्यौ । सुंगुर÷बंगुरको मासु बनाउन खसी मारहाने जस्तो रहेनछ । भाला रोपेर मार्दाे रहेछ । भाला रोपे पछि बंगुर निकै कराउने गर्छन् । त्यो चित्कार निकै करुणादायी लाग्ने गथ्र्यो । त्यो चित्कार अहिले पनि म सम्झन्छु । तर त्यसबेला त्यो कराएको आवाज गनेर बस्थ्यौ । कतिवटा बंगुर मार्याे भन्ने पत्ता लगाउने बाजी पनि लगाउने गथ्र्यौ । हटियामा खसी काट्ने, माछा, कुखुरा, हाँस, परेवा बेच्न ल्याइन्थ्यो । अहिले जस्तो मन लागेको दिन मासु पाइँदैन थियो । मासु त हटियाको दिन मात्रै पाईन्थ्यो । माछा बेच्ने, मासु बेच्ने, माछाको कचौरी (पकौडा), अनि स्थानीय दारू चाहि अलिक पर बेच्ने हुन्थ्यो ।
अहिले पनि हटिया लाग्छ । तर पहिले जस्तो अलिक छैन । अहिले न त ढिकीको बेसार, चिउरा र चामल बेच्ने छन् न त किन्ने नै । अब दैनिक उपभोग्य समान किन्न हटिया नै कुर्नु पर्ने बाध्यता छैन । न त बेच्ने गरि घरेलु उत्पादन नै छ । उत्पादन आधुनिक र व्यवसायिक भएको छ । यिनको आफ्नै बजार छ, विचौलिया छ र व्यपारीकरण छ । हटियामा राखेको तरकारी स्थानीय उत्पादन हो भन्न सकिन्न । हटियामा फलफूलहरु नि पाईन्छ । तर बारीको भन्दा नि कोल्डस्टोरका । घर–घरमा मकै भटमास भुटेर राखेको भेटिँदैन । बरु बिस्कुट स्याउ अंगुर भेटिन्छ । झिलिया, वरफ र पापडलाई मःम, चाउमिन, कोल्डड्रिन्क्स, आईसक्रिमले विस्थापित गरेको छ । अब हटियामा लुगा किन्ने चलन हरायो, नयाँ चप्पल÷जुत्ता किन्न नपाउने भयो तर पुराना मर्मत मात्रै हुने भएको छ । अब हटिया किनमेलका स्थल त रहयो तर स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने स्थल बन्न सकेनन् ।