सम्पादकीय
स्वास्थ्य उपचार मानिसको लागि सबैभन्दा संवेदनशील विषय हो । जीवन र मरणको निक्र्यौल हुने भएकोले स्वास्थ्य उपचारमा मानिसले ठूलो लगानी गर्नुपर्ने अवस्था छ । विमाको प्रभाबकारिता कम भएको नेपालजस्तो मुलुकमा त नेपालीले औषधी उपचारमा ठूलो धनरासी खर्च गर्नुपर्ने बाध्यता छ । त्यसमाथि सरकारी स्वास्थ्य संस्थाको उपचार प्रभाबकारी नहुँदा निजी अस्पताल र क्लिनिकमा विरामी जानुपर्ने बाध्यता छ । तर, त्यहाँ उपचारसँगै ठगी पनि हुने गरेको छ । विराटनगर–१० न्यूरो हस्पिटल अगाडि रहेको दिलाबर फार्मेसी त्यसकै नमुना हो । फार्मेसीले विरामीले खरिद नै नगरेको औषधी प्रेस्कृप्सनमा देखाएर ठगी गर्ने गरेको पाइएको छ । दिलाबर फार्मेसीले एक भाइलको १ हजार ६५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्कृप्सनमा नलेखिदिए पनि बिलमा चढाएर ठगी गरेको प्रमाण पाइएको छ ।
फार्मेसीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्कृप्सनमा उल्लेख नभएको २० भाइल सिस्ट्रा इन्जेक्सन नगदी बिलमा इन्ट्री गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको छ । फार्मेसीबाट भारत ग्राम हरिपुर ६ का वर्ष ८० का शेख नइम ठगिएका हुन् । उनी २६ फागुनमा सवारी दुर्घटननामा परी न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनले उपचारमा आवश्यक पर्ने औषधी हस्पिटल अगाडिको दिलाबर फार्मेसीबाट लिने गरेका थिए । हस्पिटलबाट डिस्चार्ज हुँदा उपचार गरेको हस्पिटलको भन्दा फार्मेसीको महंगो बिल आएपछि उनी अचम्ममा परेका थिए । २ लाख ५० हजार बढीको फार्मेसीको बिल आएको थियो । पछि हस्पिटलले दिएको प्रेस्कृप्सन र फार्मेसीले दिएको नगदी बिल भिडाएर हेर्दा महंगो इन्जिेक्सन सिस्ट्रा इन्टर््ी गरेर रकम असुली गरेको पत्ता लागेको हो ।
विरामी ठगी गर्ने फार्मेसीलाई कारवाही हुनुपर्छ । यसअघि पनि परिमाण र औषधीमा बढि मूल्य हालेर विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडिको फार्मेसीले विरामीलाई खुलेआम ठगी गरेको खुलेको थियो । गत जेठमा चिरञ्जीवी फार्मेसीले मोरङको कटहरी गाउँपालिका १ मा घर भएका विकेश सरदारलाई ठगी गरेको थियो । सस्तो र छुट बढी दिने लोभ देखाएर फार्मेसीले ठगी गर्ने गरेको पाइएको छ । दुई घटनाले फार्मेसीले कसरी विरामी ठगी गर्छन भन्ने खुलेको छ । चाँडै पैसा कमाउने धन्दामा लागेका केही फार्मेसीले बिरामीले लाँदै नलगेको औषधी चढाउने, औषधीको परिमाण बढाउने र सर्जिकल सामानमा बढि मूल्य हालेर बिरामीसँग ठगी गर्ने गरेको पाइएको छ । औषधीजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधी व्यवस्था विभाग र विरामीसँग बढी मूल्य लिएको जानकारी पाए अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएको यी नियांमक निकायहरु नै मौन बसिदिदा ठगीधन्दा फस्टाएको छ ।
चिकित्सकले सिफारिस नगरेको औषधी राखेर बिक्री गर्नु सरासर ठगी मात्र नभएर गम्भीर अपराध हो । यसे काममा संलग्नलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ । कालाबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो कानुनी प्राबधान कडाइपूर्वक लागू हुनुपर्छ ।