विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ‘ह्याट्रिक’ गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्की २०७९ पुस २४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला उनलाई नेकपा (माओवादी केन्द्र), राप्रपा र जनता समाजवादी पार्टीको समर्थन थियो ।
फागुन २७ गतेको राष्ट्रिपति निर्वाचनमा केन्द्रको समीकरण परिवर्तन भएपछि कार्की सरकार अल्पमतमा पर्यो । माओवादी र जसपाले २०८० जेठमा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले २०८० असार १५ मा राजीनामा दिएका थिए ।
कार्कीले राजीनामा दिएपछि असार २१ मा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । काँग्रेस र एमाले गठबन्धनले सभामुख बाबुराम गौतमलाई पनि हस्ताक्षर गर्न लगाएर थापाको मुख्यमन्त्री दावी परेकोमा त्यसविरुद्ध एमाले नेता कार्कीले सर्वोच्चमा रिट दायर गरे । उनको रिटको सुनुवाई गर्दै साउन ११ मा सर्वोच्च अदालतले थापालाई पदमुक्त गरिदियो ।
त्यसपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापालाई नै मुख्यमन्त्री बनाउन दावी पेश गर्यो । मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ गते प्रदेशसभाबाबाट विश्वासको मत लिने प्रस्ताव पठाए । तर, थापालाई बहुमत पुग्न नदिने रणनीति अनुसार उपसभामुख सिर्जना दनुवारसहित सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाको बैठक अध्यक्षता गर्ने जिम्मेवारी पाएका एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्यहरुलाई अनुपस्थित गराइयो ।
जसले गर्दा बैठकको अध्यक्षता कांग्रेसका सांसद इस्राइल मन्सुरीले गर्नुपर्ने अवस्था आयो । बैठकको अध्यक्षता गरेका मन्सुरीले पनि थापालाई मत दिएपछि पुनः एमाले नेता कार्की सर्वोच्च गए । सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरेर कार्कीको रिट अनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएपछि उनी २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बनेका थिए ।
कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने देखेपछि असोज २० गते राजीनामा दिए । त्यसपछि सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा धकेलियो । त्यसबेला प्रदेशसभामा बहुमत रहेको काँग्रेस–माओवादी गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एमाले नेता कार्कीकै योजनामा काँग्रेस सांसद केदार कार्कीसहित ८ जनाले विद्रोह गरे ।
एमालेको समर्थनमा केदार कार्की २०८० असोज २७ गते मुख्यमन्त्री भएकामा सुरुमा एमाले र काँग्रेसको सरकारमा मात्र थियो । तर, कात्तिक १ गते प्रदेशसभाबाट माओवादी र एकीकृत समाजवादीको पनि विश्वासको मत पाएपछि कार्की गठबन्धनमै फर्किए । कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गरेपछि एमालेका मन्त्री रामबहादुर मगरले राजीनामा दिएका थिए भने एमाले प्रतिपक्षी बनेको थियो ।
आफ्नै प्रस्तावमा मुख्यमन्त्री भएका केदार कार्कीलाई ७ महिनापछि विस्थापित गर्दै एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक संविधानको धारा १८८ को उपधारा ५ अनुसार नै मुख्यमन्त्री बन्न सफल भए । त्यस प्रक्रियामा उनलाई आफैंले मुख्यमन्त्री बन्न रोकेका इन्द्रबहादु आङ्बोको दल नेकपा माओवादी केन्द्र सहयोगी भएको छ ।
कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जनाको समर्थन पाएका छन् । कोशी प्रदेशसभामा ९३ जना सांसद रहेकोमा बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक हुन्छ । कार्कीलाई जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले पनि समर्थन जनाएकी छन् । तर, दावीपत्रमा नाम नहरकोले बिहीबारको सनाखतमा भने उनले हस्ताक्षर गर्न पाइनन् ।
केदार कार्की नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिइ राजीनामासमेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा मुख्यमन्त्री नियुक्त केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका थिए । बुधबार दिनभरीको दौडादौडपछि प्रदेश प्रमुखले राति साढे १० बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको सोही आह्वान अनुसार एमालेका ३९ र माओवादीका १३ जना गरी कूल ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कार्कीले बिहीबार बिहान ११ बजे दाबी पेश गरेका थिए । प्रदेश प्रमुखले त्यसपछि हस्ताक्षरकर्ता सांसदहरूको सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले तीन दिनको समय दिएका थिए । तर, त्यसअगावी गठबन्धनले दावी पेश गर्यो । प्रदेश प्रमुखले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी आएपछि सनाखत गराएर नियुक्ति दिएका हुन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनामा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बन्न सफल भए । उनी प्रदेश सरकार निर्माण गर्ने संविधानको धारा १८८ को उपधारा २, उपधारा ३ र उपधारा ५ बाट मुख्यमन्त्री बन्ने रेकर्ड पनि कायम गरेका छन् ।
तेस्रोपटक सरकार प्रमुखको जिम्मेवारीमा पुगेका कार्कीले प्रदेश सरकारलाई स्थिर बनाउन प्रयास गर्ने बताएका छन् । ‘कोशी प्रदेशमा अब छिटोछिटो सरकार बन्ने र ढल्ने क्रम रोकिनेछ,’ मुख्यमन्त्री नियुक्तिपछि उनले भने, ‘म सकेसम्म सबै दलहरूलाई मिलाएर अघि बढ्नेछु । वाम सहकार्यलाई विशेष जोड दिनेछु ।’
प्रदेश सभाको दोस्रो कार्यकालको अहिलेसम्म कोशीमा ६ वटा सरकार बनिसकेका छन् । तीमध्ये तीन वटा सरकारको प्रमुख एमाले नेता कार्की नै बनेका छन् ।
झापाको गौरादह नगरपालिका निवासी कार्की २०७४ को प्रदेशसभामा निर्वाचित भएपछि करिब ३ वर्ष प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बने । २०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मेका कार्की स्कुल तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गरेका नेता हुन् । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आइएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थी कार्की कानूनमा स्नातकोत्तर हुन् ।
एमाले अखिलको क्याम्पस प्रारम्भिक कमिटीबाटै सांगठनिक काम गरेका उनी अखिल नेपाल विद्यार्थी यूनियनको केन्द्रीय उपाध्यक्ष हुँदै २०५५ सालमा अखिलको अध्यक्ष बनेका थिए । उनी अध्यक्ष हुँदाका महासचिव राजेन्द्र राई यसअघि प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा भएका उनी २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।
कार्कीले २०७१ देखि २०७३ सम्म एमाले मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । चितवनको सौराहमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल पार्टी स्थायी कमिटी सदस्य छन् ।
प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका कार्कीले डेढ वर्षभित्र तेस्रो पटक मुख्यमन्त्री बनेका छन् । गठबन्धन कायम रहेमा अगामी करिब २२ महिना कार्की मुख्यमन्त्री रहनेछन् । त्यसपछि आलोपालोको सहमति अनुसार माओवादीले मुख्यमन्त्री पाउनेछ ।