अनन्तराज न्यौपाने
तीसको दशकको भदौ महिना, एक दिनको कुरा हो । किसुनजी नयाँ सडकमा डुल्दै थिए । तिनताक राजधानीको केन्द्र नै नयाँ सडक र त्यहाँको पीपलको बोट थियो । देशभरिका राजनीतिकर्मी, साहित्यकार, समाजसेवी लगायतका सचेत नागरिक त्यहाँ जम्मा भएर देशविदेशका घटनाका बारे छलफल गर्थे, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना र राजनीतिको विश्लेषण हुन्थ्यो र भविष्यमा के हुन्छ भन्नेसम्मको छलफल चल्थ्यो । त्यस बेला नेपाली राजनीतिको रूपरेखा नयाँ सडक र पीपलको बोटले नै कोर्छ भन्ने भाष्यको निर्माण भइसकेको थियो । बौद्धिक र राजनीतिक परिचर्चामा रमाउने किसुनजीका लागि नयाँ सडक र पीपलको बोट त्यसैले प्रिय थियो । यसबाहेक पानका पारखी किसुनजीका लागि नयाँ सडकको पानपसल आकर्षणको अर्को केन्द्र थियो । त्यसैले प्रायः दैनिकजसो किसुनजी हातमा छाता बोकर अपराह्नतिर नयाँ सडकतिर पुगेकै हुन्थे । सामान्य कुर्ता–पाइजामा, चप्पल र इस्टकोट उनको पहिरन हुनेगथ्र्यो । लामो समयसम्म कोपुन्डोलस्थित एक आफन्तका निवासमा बसेका उनी कहिलेकाहीँ त त्यहाँबाट नयाँ सडकसम्म हिँडेरै आइपुग्थे । नयाँ सडकमा यसरी डुल्दाडुल्दै अचानक भतिजा विनोद भट्टराईसित भेट भएछ किसुनजीको ।
‘आज निकै गलेको पनि छु, भोक पनि लागेको छ’, विनोदले हातमा ढोगिदिएपछि किसुनजीले भनेछन्, ‘हेर् न, गोजीमा एक पैसा छैन । तँसित कति छ ?’काका किसुनजीका कुरा सुनेपछि भतिजा विनोदले गोजी छामे । अठार रुपैयाँ रहेछ । यति भएपछि ट्याक्सीमा कोपुन्डोल पुग्न सकिन्थ्यो । स्वयं विनोदका भनाइमा नयाँ सडकबाट कोपुन्डोलसम्म ट्याक्सी चढ्दा मिटरमा ५ रुपैयाँ ८० पैसाभन्दा बढी उठ्तैनथ्यो रे । विनोदले ट्याक्सीभाडा तिर्ने गरी कोपुन्डोलका लागि दुबै ट्याक्सी चढे ।
ट्याक्सी लगभग १ सय मिटर पर पुगेपछि कसैले बोलाएको आवाज आएछ, ‘कृष्णप्रसादजी ! कृष्णप्रसादजी !’सम्बोधन सुनेपछि किसुनजीले ड्राइभरलाई रोक्न भने । ट्याक्सी रोकियो । ती कराउने सुकिला र इस्त्री गरेका लुगा लगाएका अधबैँसे मानिस किसुनजी छेउ नै आए । त्यस बखत निकै हुनेखाने मात्र लुगामा इस्त्री गर्थे । तर उनी बिनोदलाई देखेर झस्किएछन् किनकि किसुनजीलाई एक्लै भेट्ने उनको मनसाय रहेछ ।
‘डराउनुपर्दैन, यो मेरो भतिजो हो’, किसुनजीले ती अधबैँसे व्यक्तिलाई ढाडस दिँदै भनेछन्, ‘यसबाट कुनै समस्या र जोखिम छैन ।’किसुनजीका यति कुरा सुनेपछि सुकिला लुगा लगाएका ती अधबैँसेले भनेछन्, ‘किसुनजी तपाईंले भनेजति त पु¥याउन सकिँन । यसमा ४० छ, ५० पु¥याउन सकिँन । पुगेन भने भन्नुहोला ।’
यति भनेर तिनले एउटा मोटो खाम किसुनजीका हातमा राखिदिएछन् । ती दानशील अधबैँसे पुरुष उद्योगपति जुद्धबहादुर श्रेष्ठ रहेछन् ।‘ओहो जुद्धबहादुरजी, धेरै धन्यवाद’, कमिजको बायाँ खल्तीमा खाम राख्तै किसुनजीले आभार व्यक्त गरेछन्, ‘हेर्नुस् न, जेलमा साथीहरूको कम्ता बिजोक छैन । कसैको टुथपेस्ट सकिएको छ, कसैको ब्रस छैन । कसैको गन्जी फाटेको छ । कति जनासित लगाउने लुगा पनि छैनन् । दसैँ आउनै लागेको छ । साथीहरू एकसरो लुगा लगाउनूस्, एकदुई छाक भए पनि मासु खानूस् भनेर पठाउने थोरै खर्च पनि थिएन । तपाईंले ठुलो कल्याण गरिदिनुभयो । धेरैधेरै धन्यवाद !’
किसुनजीले यसरी धन्यवाद ज्ञापन गरेपछि दुबै जना छुट्टिए । किसुनजी र विनोद चढेको ट्याक्सी कोपुन्डोलतिर हुँइकियो । खाममा उद्योगपति श्रेष्ठले ४० हजार दिएका रहेछन् ।
यो थाहा पाएपछि भतिजा विनोदले भनेछन्, ‘किसुनजी, खर्च आइहाल्यो । अब कुनै रेस्टुरेन्टमा गएर मजाले खानपिन गरौँ न !’
यसपछि किसुनजीले विनोदलाई यसरी सम्झाए रे, ‘हेर् बाबु, यो पार्टीको पैसा हो । मबाट एक पैसा हिनामिना हुँदैन । हेर्, यो मेरो कमिजमा २ वटा खल्ती छन् । यो दायाँ खल्ती मेरो निजी खल्ती हो र बायाँ खल्ती पार्टीका लागि हो । दायाँ खल्तीको रकम बायाँ पुग्नसक्छ तर बायाँ खल्तीको रकम दायाँ खल्तीमा कुनै हालतमा पुग्दैन । राजनीति भनेको मेरो उपासना हो । म यसमा चुक्तिन । त्यसैले पछि व्यक्तिगत पैसा भएछ भने रमाइलो गरौँला ।’
किसुनजीका नैतिक, नैष्ठिक र मर्मभेदी वचन सुनेर विनोद हतप्रभ भए । उनले ठुलो शिक्षा पाएजस्तो भयो । उनी चुप लागे । तर कोपुन्डोलबाट छुट्टिने बेला किसुनजीले त्यो खामबाट ५ सय रुपैयाँ निकालेर विनोदलाई दिएछन् ।अनि भनेछन्, ‘यो ५ सय रुपैयाँ मनमोहनजीका हातमा तैँले नै पु¥याई दे ल ! अस्ति मात्र उहाँसित भेट भएको थियो । उहाँ पनि सारै अभावमा हुनुहुन्छ ।’
यो मार्मिक र ऐतिहासिक घटना यहाँ उल्लेख गर्नुको तात्पर्य के हो भने नेपाली कांग्रेस क्रान्तिको, परिवर्तनको, अथक संघर्षको, सहादतको, उत्सर्गको, बलिदानको, समानताको, अदम्य साहसको र उज्ज्वल चेतनाको मात्र संगठन होइन । यो पार्टी अनुकरणीय निष्ठाको, अनुपम नैतिकताको, उच्चतम मर्यादाको सीमातीत कर्तव्यको र कर्तव्यरहित प्रेमको पनि पुञ्ज हो । त्यसैले जब हामी बीपी, गणेशमान, किसुनजी, सुवर्ण, योगेन्द्रमान, दिवानसिंह, रामनारायण, सरोज लगायतका नेता सम्झन्छौँ हाम्रो शिर श्रद्धाले निहुरिन्छ । तर दुर्भाग्य, यसको ठिक विपरीत जब अहिलेका अनैतिक, भ्रष्ट, सत्तालोलुप र द्रव्यपिशाच कांग्रेसीहरू हेर्छौं, सम्झन्छौँ र तिनका करतुत एवम् कुकर्म सुन्छौँ अनि मनमा अथाह घृणा जन्मन्छ । हे भगवान्, यिनको अनुहार देख्नु नपरोस्, यिनको बोली सुन्नु नपरोस्, यिनको शासन भोग्नु नपरोस् भन्ने मनमा लागिरहेको छ । यिनलाई देख्ने, सुन्ने र सम्झनेबित्तिकै घिन जागेर उल्टी हुन खोज्छ । एउटा होइन, दुइटा होइन कांग्रेसी भनाउँदा सबै त्यस्तै छन् । खोई त्यो आदर्श, संस्कार, मूल्य, मान्यता, निष्ठा, नैतिकता, मर्यादा, करुणा, प्रेम ? छिः नालायकहरू ।