वर्ष २०८० : इटहरी उपमहानगरले नगरबासीलाई आशा जगाएको वर्ष

इटहरी । वर्ष २०८० इटहरीवासीका लागि आशा जगाएको वर्ष रह्यो । स्थानीय सरकार अर्थात् इटहरी उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गर्दै निराश बनेका नगर बासीलाई थोरै भए पनि आशा जगायो ।
२०८० सालमा धेरै नयाँ काममा हात हालेको इटहरी उपमहानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो । निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न नसकेपछि इटहरीवासीमा उत्साह छाएन, जो आए पनि उस्तै भन्दै निराश बने । तर ०८० सालमा भने इटहरी उपमहानगरले देखाएको सक्रियताले नगर बासीमा नयाँ आशा पलायो ।

उपमहानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्रा खोला सफाइ अभियान सुरु ग¥यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए । अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीवासीमा विश्वास थिएन । तर उपमहानगरले काम थाल्यो । यो कार्यलाई लिएर इटहरी उपमहानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि बदलाव आएको छ । वर्षको सुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो ।

सार्वजनिक शौचालय,अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोसाक, निजी विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ काम यही वर्ष सुरु भए । मेयर उपमेयर, मेयर वडाध्यक्ष बिचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बिच उपमहानगरपालिकाले सुरु गरेका कामको राम्रै चर्चा भयो । राजनीतिक उतारचढाव, एकले अर्कालाई असहयोग गरेको आरोपका बिच उपमहानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो । यस हिसाबले भन्दा २०८० साल इटहरी उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।

खोला पैनी सफाइ र टेङ्ग्रा कोरिडोर

टेङ्ग्रा सफाइ गर्न डोजर चल्यो । खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालियो । छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उपमहानगरले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ । ४ वटा नक्सा पास भएका सहित अन्य १४ वटा पक्की घर भत्काइयो । भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन् । दुई सय भन्दा बढी टहराहरू भत्किएका छन् । घर भत्काउने क्रम जारी छ ।

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ ।
ताल तलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदैछ । पानी बग्ने खोलाको भागलाई ३५ फिट, त्यसको दायाँ बायाँ २०/२० फिट कोरिडोरका लागि सफा गरिँदै छ । खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । टेङ्ग्रा खोलामा भएको कामले अन्य खोला पैनीमा सफाइको दबाब बढेको छ । डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

अस्पतालमा उपचार हुन थाल्यो

घर देखी घाट सम्म सुविधा दिने भन्दै उपमहानगरले निःशुल्क शववहानको सेवा यही वर्षबाट सुरु ग¥यो । निःशुल्क एम्बुलेन्सको सुविधा दिएको छ ।
इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ । एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए ।

परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन् ।

पोसाकको विवाद अदालतसम्म

यो वर्ष सर्वाधिक चर्चा पाएको विषय हो, विद्यालय खाजा कार्यक्रम र विद्यालयको पोसाक । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु ग¥यो । बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो । तीव्र विरोध आए पनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

आगामी शैक्षिक सत्रबाट अझै व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको दाहालले जानकारी दिए । शिक्षामा उपमहानगरले नयाँ प्रयोग ग¥यो । सबै(सामुदायिक तथा निजी) विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम लागु ग¥यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ । यो विवाद अदालत सम्म पुग्यो । निजी विद्यालयहरूको संस्था प्याब्सनले उपमहानगरका विरुद्ध मुद्दा दायर ग¥यो । सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भने पछि उपमहानगर निर्णय कार्यान्वयन गराउन लागी परेको छ । अदालतको आदेश पछि सबै विद्यालयलाई आगामी शैक्षिक सत्रबाट एउटै पोसाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

उपमहानगरले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने जनाएको छ । सो अनुसार अहिले काम अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले जानकारी दिए । निजी विद्यालयहरूको अनुगमन गरी टेबुलेसनको काम भइरहेको जानकारी दिए । अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्प पत्र यही वर्ष सार्वजनिक ग¥यो ।

निःशुल्क घर नक्सा

इटहरीले ०८० सालबाट इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम सुरु ग¥यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो । फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो । १ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यही वर्षबाट सुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यम वर्गका लागि आर्थिक बोझ केही कम भयो ।

यो वर्ष केही महत्त्वाकाङ्क्षी योजना सुरु भए । झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन सुरु भयो ।
९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिए ।

लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको हो ।

यस्तै आधुनिक सभा हल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिए । इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभा हल निर्माणको ठेक्का लागेको उनले जानकारी दिए ।

यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागे पनि निर्माण सुरु भने २०८१ मा हुनेछ । निर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उपमहानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ । डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ । बाह्य पालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ । यसबाट इटहरीको राजश्व पनि राम्रै वृद्धि भइरहेको छ ।

सेवा प्रवाह र प्रशासन सुधार

पालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उपमहानगरको दाबी छ । कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी,समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जनाएको छ । छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ । यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो । उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए । तर पछि त्यो विषय आफै सेलाएर गयो ।

नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् । इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान सुरु भएको छ ।

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।

आइतबार, ०२ बैशाख, २०८१, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर