शेखरको नयाँ लाइन समयको माग हो

  अनन्तराज न्यौपाने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हप्ता–दश दिन यता नयाँ लाइनको निर्माण गरेका छन् । डा. शेखरको उक्त नयाँ लाइनलाई पार्टीभित्र र बाहिर त्यति गम्भीर ढंगले लिइएको देखिएन तर अहिलेका परिप्रेक्ष्यमा यो विषय किमार्थ हलुका र बेमौसमको राग हुनसक्तैन । त्यसो त, उनले सत्तामा पुग्ने उद्देश्यले नयाँ खेतीको सुरुआत गरेका हुन् गरे भन्ने वजनहीन टिप्पणी गर्न कसैलाई पनि सजिलो होला । तर डा. शेखरले समसामयिक राजनीति र यसले सिर्जना गरेका विकृति र विसगंतिका सम्पूर्ण आयामको अध्ययन गरेर यो लाइनको निर्माण गरेका हुन् र अबको समाधानको बाटो पनि यही हो भन्न राजनीतिक घटनाक्रमका अध्येताले हिच्किचाउनु पर्दैन । शेखरले देखाएको लाइन वर्तमान अस्थिरता र विकृतिका लागि भरपर्दो समाधान हो ।

शेखरले हप्तादश दिनदेखि भन्न थालेको नयाँ लाइन हो– ‘अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ । मुलुकको अस्थिरताको मुख्य कारक समानुपातिक निर्वाचनप्रणाली भएको छ । यो प्रणाली रहुन्जेल कुनै पार्टीको पनि बहुमत आउँदैन । कुनै एक पार्टीको बहुमत नभएसम्म सरकार बनाउने र खसाउने खेल चलिरहन्छ । देशमा राजनीतिक अस्थिरता र विकासनिर्माणको प्रक्रिया अवरूद्ध हुने कारण यही हो । त्यसैले समानुपातिक पद्धतिलाई खारेज वा परिमार्जन गर्नुपर्छ । यसका लागि दुई तिहाइ बहुमत चाहिन्छ र कांग्रेस–एमाले नमिली दुई तिहाइ पुग्दैन ।’
शेखरको यो लाइनमा उनको सत्तास्वार्थ अवश्य होला । सक्रिय राजनीति गर्ने कुनै पनि व्यक्तिको सपना प्रधानमन्त्री भएर मुलुकलाई नेतृत्व दिने हुन्छ । उनमा त्यस्तो आकांक्षा छ भने त्यो अपराध होइन, जायज हो । तर उनको नयाँ लाइन उनको सत्तास्वार्थभन्दा राष्ट्रहिततर्फ बढी केन्द्रित छ ।
पछिल्लो कालखण्डमा नेपालमा राजनीतिक अस्थिरता र विकृतिका सबैभन्दा ठुला खेलाडी अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् भनेर अब त कुनै पनि अबुझले समेत सजिलै भनिदिन सक्छ । केही दिनअघि एमालेसित ‘गठबन्धन’ गर्नेबित्तिकै प्रचण्डले भनेका थिए– म बाँचुन्जेल उथलपुथल भइरहन्छ । त्यसैले किटेर के भन्नसकिन्छ भने प्रचण्ड कुनै दिन पनि एमालेको बैसाखी छाडेर कांग्रेसको बैसाखीमा फेरि फर्कनसक्छन् । भलै त्यो उनको सत्तालिप्साबाहेक केही होइन तर यसलाई सिद्धान्त र विचारको खोल ओढाउने प्रयत्न पनि गर्नेछन् । त्यसैले एमालेले हामी सत्तामा पुग्यौँ भनेर ढुक्क नभए हुन्छ । अस्थिर र चञ्चल चरित्रका प्रचण्डले कुनै दिन पनि छाडिदिन सक्छन् । र, नेपाली राजनीति कतिसम्म घिनाई र गन्हाइसकेको छ भने प्रचण्ड ‘म्याउँ’ गर्दै कहिले आउँछन् र उनलाई अँगालो मारिहालूँ भनेर कांग्रेस सभापति देउवा पनि तम्तयार बसेका छन् । मतलब सत्ताका लागि कसैका शब्दकोशमा पनि अब लाज, घिन र नैतिकता भन्ने शब्द छैनन् ।

वास्तवमा समानुपातिक निर्वाचनप्रणालीको मुख्य उद्देश्य प्रतिनिधिसभालाई समावेशी बनाउन थियो । अल्पसंख्यक, बुद्धिजीवी, पेशाकर्मी, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, अपांग आदिको समुचित प्रतिनिधित्व पनि संसदमा रहोस् भन्ने अभिप्राय थियो । तर दुर्भाग्य, यो प्रणाली पार्टीका अध्यक्ष र सभापतिहरूका लागि कमाउने भाँडो भएको छ । समानुपातिक कोटाको सांसद पद विक्री भइरहेको छ । समानुपातिक कोटामा भ्रष्ट, तस्कर, ठेकेदार, मिटरब्याजी, डन, खराब रिपोर्टकार्ड भएका व्यापारी आदिले हालीमुहाली गर्न थालेका छन् । खासमा पार्टी र आन्दोलनमा लामो योगदान गरेका, विभिन्न विषयका विशेषज्ञ अनि मुलुककै इज्जतप्रतिष्ठा भइसकेका व्यक्तित्वलाई समानुपातिक कोटाका उम्मेदवार बनाउनु पथ्र्यो ।

जनमत संग्रहको घोषणा २०३६ जेठ १० मा भएपछि नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले लगत्तै टुँडीखेल खुलामञ्चमा भएको आमसभामा भनेका थिए, ‘म त चिनिएको छु । त्यसैले मलाई मेरो चिन्ता छैन । तर पार्टीमा मभन्दा पनि धेरै योगदान र त्यागतपस्या गरेका साथीहरू हुनुहुन्छ । मलाई मेरोभन्दा पनि उहाँहरूको धेरै चिन्ता छ ।’

तर आजको कांग्रेसले बीपीका यस्ता विचार र आदर्शलाई पोलेर खाइसकेको छ । कांग्रेस र यसका सभापति शेरबहादु देउवा टिकटवितरण होइन टिकटको तस्करीमा सक्रिय छन् । अनि देउवा मात्र होइन सबै पार्टीका अध्यक्ष र सभापतिहरू यस्तै गरिरहेका छन् । त्यसमा पनि समानुपातिकको कोटामा सबैभन्दा बढी ।

यसरी एकातिर समानुपातिक पद्धति भ्रष्टाचार र विकृतिको ठुलो अखडा भएको छ भने अर्कातिर यसैका कारण संसदमा कुनै पनि पार्टीको पूर्ण बहुमत पुगिरहेको छैन । अनि सधैँ सरकार बनाउने र खसाउने खेल मात्र भइरहेको छ । विकासनिर्माणको भिजन र एक्सन शून्य भइसकेको छ ।
त्यसोत, नेपाली कांग्रेसमा नेताको लाइनलाई सर्वत्र र सम्पूर्ण पार्टी कार्यकर्ताले एकै पटक स्वीकार गरेका घटना छैनन् । बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर आउँदा उनी पार्टीभित्रै तीव्र रूपमा आलोचित थिए । तर बीपी नेपाल फर्किएपछि मुलुकभरि अर्को राजनीतिक तरंग आयो । सुषुप्त भइसकेको नेपाली कांग्रेस बौरिन थाल्यो । यही तरंगले २०३६ को विद्यार्थी आन्दोलन गरायो र जनमत संग्रहको घोषणा भयो । जनमतमा भलै बहुदल पक्षले हा¥यो तर जनमत संग्रह नभएको भए मेचीदेखि महाकालीसम्म कांग्रेसको भत्किसकेको संगठन फेरि बन्ने थिएन । वास्तवमा २०३६ ले राजनीतिक चेतना ह्वात्तै माथि नउठाएको भए २०४६ पनि आउने थिएन ।

२०४६ मा गणेशमानजीले जनआन्दोलनका लागि कांग्रेस–वाम एकता गरौँ भन्ने लाइनको निर्माण गर्दा कांग्रेसभित्रै यसको चर्को विरोध थियो । यो लाइन ठिक थियो वा बेठिक त्यसको अध्ययन र मूल्यांकन छुट्टै गर्नसकिन्छ तर २०४६ मा संयुक्त जनआन्दोलन हुँदैनथ्यो भने प्रजातन्त्रको पुनःस्थापना अझ कठिन हुने थियो ।

त्यसैगरी संसद विघटन गरेर शेरबहादुरले ज्ञानेन्द्रलाई प्रतिनिधिसभा जिम्मा लगाएपछि त्यस बेलाका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभाको पुनःस्थापनाको एकसूत्रीय लाइनको निर्माण गरे । तर कांग्रेसका ठुला र प्रभावशाली भनिएका नेताले पनि गिरिजाबाबुको यो लाइन हावादारी हो र गिरिजाबाबु सठ्याइसके भन्ने निकृष्ट प्रतिक्रिया दिए । तर अन्ततः दोस्रो जनआन्दोलनले गिरिजाकै लाइनलाई स्थापित ग¥यो र प्रतिनिधिसभाको पुनःस्थापना भयो ।

यस परिप्रेक्ष्यमा आज डा. शेखरले निर्माण गरेको लाइन कसैका लागि हाँसोको विषय हुनसक्छ तर समयको माग यही हो । शेखरले नयाँ लाइनमार्फत समयलाई सम्बोधन गरेका छन् ।

बुधबार, २८ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर