भरत गुरागाईँ बर्बरिक
१४ गते बिहानै शरदजीको फेसबुक स्टाटस आएपछि मानिसहरुको ठूलो समूह स्तब्ध हुनपुग्यो । “अनेकौँ कोसिस गर्दा पनि पिताजीलाई बचाउन सकिएन,” शरदजीले लेख्नुभएको थियो ।म यतिबेला वरिष्ठ समालोचक, अग्रज साहित्यकार तथा प्राज्ञिक व्यक्तित्व दधिराज सुुवेदीलाई सम्झिरहेछु । आज उहाँको तेह्रौँ दिनको पुण्य तिथि हो ।
जस्तो कि हामी धेरैलाई थाहा छ, उहाँ एक्कासी बिरामी हुनुभएपछि परिवारको तर्फबाट उहाँलाई बचाउने अनेक कोसिस भए । शुभेच्छुकहरुबाट उहाँको सुस्वास्थ्यको हार्दिक कामना भयो । तर प्राणघातक क्यान्सरले हामी सबैलाई विह्वल बनाउँदै उहाँलाई हामीबाट खोसेर लग्यो ।
इनरुवाका महाकाव्यकार दाजु डम्मरुबल्लभ भण्डारीले दधिराज सरलाई भेट्ने औधी इच्छा राखेपछि उहाँ र म दधिराज सरकोमा पुगेका थियौँ, तर उहाँको नियमित स्वास्थ्य जाँच गराउन विराट टिचिङ्ग हस्पिटल लगिएको रहेछ । उहाँकै कान्छो भाइ दिङ्ग्लाली कान्छोबाट थाहा पाएपछि हामी हस्पिटल नै पुग्यौँ । रुपकजी पनि सँगै हुनुहुन्थ्यो । डम्मरु दाइले आफ्नो आसन्न महाकाव्यका लागि शुभकामनाको माग गर्नुभयो । दधिराज सरले प्रसन्न मुद्रामा हाँस्दै भन्नुभयो, “साह्रै खुशी लाग्यो, मेरो चिन्ता नगर्नुस्, मैले क्यान्सरलाई जितिसकेको छु, अब मलाई केही हुँदैन । छिट्टै साहित्यिक कार्यक्रमहरुमा तपाईँहरु माझ आउने छु, तपाईँको पाण्डुलिपि पढेर मनभरि लेख्नेछु ।” उहाँले यसो भनिरहँदा हामीभित्र असीम खुशी सल्बलाएको थियो ।
मेरो साहित्यिक यात्राले उहाँको सान्निध्य पाएको अनेकौँ उदाहरणहरु छन्, आज झल्झली सम्झिरहेछु । निक्कै अघि हो– मेरो “बालबोली“ नामको बाल कवितासङ्ग्रह छापियो । विराटनगरकी जमुना खड्का दिदीले आफ्नो संस्थाबाट प्रकाशन गर्नु भएको थियो । मैले पुस्तक लोकार्पण गरिदिन दधिराज सरलाई गरेको अनुरोध उहाँले सहर्ष स्वीकार गर्नुभएथ्यो । कार्यक्रममा उहाँले दिनुभएको आशीर्वचन मेरो मनमस्तिष्कमा अहिले पनि ताजै छ । अहिले त मलाई यस्तो लाग्दैछ – त्यो यस्तो समय थियो जसले मेरो साहित्यिक यात्रालाई निरन्तरता दियो र अहिले यो अवस्थासम्म आइपुग्न सकेको छु ।
दधिराज सरसँग जोडिएका यस्ता अनेकौँ स्मरणीय अनुभूतिहरु छन् जो समय समयमा लेख्दै जानेछु ।
दधिराज सरले आफ्नो ७८ वर्षे जीवनकालमा समालोचना, कविता र अन्य विधाका प्रशस्त पुस्तक र सिर्जनाहरु सार्वजनिक गर्नुभयो, हामी धेरैलाई थाहा छ । यो छोटो लेखमा उहाँले केकस्ता पुस्तकहरु लेख्नुभयो भनेर सूची बनाउने उद्धेश्य होइन, बरु उहाँभित्र वशिभूत सरल सार्वजनिक जीवनशैलीको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने थोरै शब्द लेख्ने उद्धेश्य छ ।
म आफूले संचालन गर्ने वा संयोजन गरिदिनुपर्ने जति पनि कार्यक्रमका लागि उहाँको आतिथ्यको अनुरोध गर्दै जब जब म उहाँसम्म पुगेँ, अहँ कहिल्यै विमुख हुनु परेन, त्यस्ता कयौँ दृष्टान्तहरु म अहिले पनि सम्झिरहेछु ।कुरो काठमाडौंको हो, कथाकार दिदी प्राज्ञ लक्ष्मी उप्रेतीको संस्थाले दधिराज सरलाई सम्मानित÷पुरस्कृत गर्ने भव्य कार्यक्रम थियो, जहाँ म पनि सम्मानित हुन बोलाइएको थिएँ । जब दधिराज सर मन्तव्यका लागि पोडियममा उभिनुभयो, उहाँले आफ्नो आधाजसो समय म माथि खर्च गर्नुभयो । असाध्य प्रेरणा, हौसला, प्रेम र स्नेहको शीतल स्नेहले म छपक्क भएको थिएँ । त्यतिबेला मलाई लागेको थियो कि म ठूलो वृक्षको ओतमा छु । उफ् ! अश्रुपुरित छु यतिबेला मलाई शीतल दिने त्यो गुनिलो वृक्ष ढलेको छ ।
उहाँको देहावसान भएको दुःखद खबर सुन्नासाथ चैत्र १४ गते बिहानै साहित्यिक, धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रका उहाँका शुभेच्छुकहरुको ठुलो संख्या उहाँको घरमा भेला भइसकेको थियो । स्थानीय परोपकार घाटमा श्रद्धाञ्जली दिँदै अन्तिम बिदाई गर्न मानिसहरुको घुइँचो लागेको थियो ।
उहाँ सरल हुनुहुन्थ्यो । जसका पनि कुरा ध्यान दिएर सुन्ने अनि तर्कपूर्ण जवाफ दिने उहाँको बानी थियो । सरसल्लाह दिएर होस्, पुस्तकमा भूमिका वा शुभकामना लेखिदिएर होस् अथवा कार्यक्रममा उपस्थित भएर हौसला र प्रेरणा दिनु उहाँको विशेषता नै थियो । अनुज पुस्ताका लेखकहरुलाई अगाडि बढ्न उहाँले दिनुभएको स्नेहकै कारण आज कयौं व्यक्तिहरु साहित्यकार हुन सकेको कुरा बुझ्न सकिन्छ ।
यो त प्रष्ट छ– वरिष्ठ साहित्यकार दधिराज सुबेदीको असामयिक निधनको कारण हाम्रो विराटनगर र पूर्व क्षेत्र मात्र होइन सिङ्गै राष्ट्रले अपुरणीय क्षति व्यहोर्नु परेको छ । उहाँ नहुनुको रिक्तता महशुस साहित्य क्षेत्रले लामो समयसम्म गर्नु पर्नेछ । साहित्य क्षेत्रका सुन्दर तथा प्रिय अग्रज साहित्यकार दधिराज सुवेदीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।