संक्षेपमा कम्युनिष्ट घोषणा पत्र

  योगेश राजभण्डारी

सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन अर्थात १७६ वर्ष पहिले वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल मार्क्स र पे्रmडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो ।

मार्क्स –एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी हुने बित्तिकै त्यसले ठूलो क्रान्ति ल्यायो । विश्वराजनीतिको रंग मञ्चमा हलचल पैदा गरिदियो । यस विषयमा स्वयम् मार्क्सले भन्नु भएको छ । “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।
कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ? तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”

अतः १७६ वर्षपछि पनि यस कम्युनिष्ट घोषणापत्रको महत्व र सान्दर्भिकता अरु बढेर गएको छ । सन् १८४२ मा जर्मन आप्रवासीहरूले न्यायिक लिगको गठन गरेका थिए । तात्कालीन न्यायिक लिग कम्युनिस्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्बरमा कम्युनिस्ट लिगको जेनेभामा दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले कार्ल मार्क्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्पियो । एक वर्ष लगाएर मार्क्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नु भयो र सन् १८४८ फेबु्रअरी १२ तारिखका दिन लण्डनबाट प्रकाशित गर्नुभयो । अर्थात पहिलो पटक कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ फेब्रुअरी १२ भएको थियो । संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज हो ।

कम्युनिस्ट घोषणापत्रमा चार अध्याय रहेका छन् :

पहिलो अध्यायमा पुँजीपति र सर्वहारामा समाज विकासको नियमका आधारमा एक प्रकारको उत्पादनपद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादनपद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसंघर्षको इतिहास हो । यसैका आधारमा पुँजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ ।

दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादनशक्ति मजदुरवर्ग हो र कम्युनिस्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा संघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तत्कालीन लक्ष्य पुँजीपतिवर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने विचार रहेको छ ।

तेस्रोअध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको विभिन्न किसिमका काल्पनिक तथा टूटपूँजीया विचारधाराहरूको खण्डन गरिएको छ ।

चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिस्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । कम्युनिस्टहरू एक दलमा मात्र विश्वास गर्छन् भन्ने कम्युनिस्ट विरोधीहरूले लगाउने लान्छनाको खण्डन भएको छ । कम्युनिस्ट पार्टी आफ्नो स्थिति मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध कायम गर्न सक्छ । तर आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने वर्णन गरिएको छ । अन्त्यमा “सर्वहारा वर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जित्नका लागि सारा संसार छ” भन्दै “दुनियाँका मजदूरहरू एक हौं” भन्ने आव्हान गरिएको छ । र, दुनियाँका मजदुरहरू एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ ।

विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले टिप्पणी गर्दै लेख्नु भएको छ, – “यो सानो पुस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, त्यसको आत्माले सभ्य संसारका समस्त संगठित र संघर्षशील सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनीहरूको प्रथप्रदर्शन गरिरहेको छ ।” लेनिनको उक्त भनाइ बढि सान्दर्भिक छ ।

यो कुरा प्रस्ट छ कि कम्युनिस्ट घोषणापत्र मार्क्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको संशलेषणको दस्तावेज हो ।माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यहानेर स्पष्ट हुनु पर्ने कुरा के छ भने मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् ।

लेनिनले माक्र्सवादबारे संशलेषण गर्दै भन्नु भएको छ, – “मार्क्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङ्खला हो । मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संशलेषणबाट भएको छ ।”
यहाँनेर सुस्पष्ट हुनु पर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।

प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु रहन्छ । मार्क्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो, सर्वहारा वर्गको दर्शन हो, तर त्यो अन्य दर्शनहरू झै अल्पसंख्यकहरूको, शोषकहरूको दर्शन नभएर बहुसंख्यकहरूको, सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले “मार्क्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण”को रूपमा परिभाषित गर्नु भएको छ ।

बुधबार, ०९ फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर