सीमा आभाष
कतिपय जागिरे र पढालेखा आमाहरूले बच्चाको हेरचाह र स्याहार गर्न जागिर र पढाइ छोड्छन् । कति आमाले कार्यस्थलमा नै बच्चालाई ल्याउने, लैजाने गरेर काम गरेका हुन्छन् । कतिले बच्चालाई विद्यालयमा पुर्याएर काम गर्छन् । बेलुका सँगै लिएर फर्कन्छन् । आमाहरूले बच्चालाई स्याहार र बाहिरको काम गरेर दोहोरो काम भ्याइरहेका छन् ।
बच्चाले पढ्ने पाठ्यक्रममा समानता, समता, आत्मासम्मान जस्ता बिषय समेटिएका छन् ।तर, विद्यालयले अविभावकलाई दिने निमन्त्रणामा बुबाको नाम मात्र लेख्छ । बुबाका नामको निमन्त्रणा बोकेर आमाहरू बच्चाको लागि चुपचाप विद्यालयको कार्यक्रममा सहभागी हुन्छन् । विद्यालयले बुबाको नामको निमन्त्रणामा आमालाई सहभागी हुन पनि दिन्छ ।
मेरो प्रश्न, बुबासँगै आमाको नाम लेख्दा के हुन्छ ? विद्यालयले गर्ने हरेक क्रियाकलापले बच्चाको सोच र काममा अर्थ राख्छ । बच्चालाई समानता, स्वअस्तित्व, समता, आत्मासम्मानका बारेमा पढाउँदै गर्दा अभ्यासमा देखाउनु पर्दैन ? आमाको आत्मसम्मान हुँदैन ? आफ्नै नामको कार्ड बोकेर जानू र श्रीमानका नामको कार्ड बोकेर जाँदाको स्वाभिमान अलग हुन्छ भनेर थाहा पाउनुपर्छ । आमाको नाम लेख्नु भनेको उनीमाथिको सम्मान हो । त्यति सम्मान दिन किन चुक्नु ! यो संस्कार पनि हो ।
यस्ता विषयमा आमाहरूलाई चित्त नबुझे पनि हत्तपत्त बोल्दैनन् किन कि मेरो नाम किन नलेखेको भन्दा घरपरिवार, श्रीमानले नपचाउने डर हुन्छ । बच्चाको लागि आमाहरू डराउँछन् । तर, विद्यालयले बुबा र आमा दुबैको नाम अनिवार्य लेख्नुपर्छ । विद्यालयको द्वारमा टिफिनको बट्टा बोकेर उभिएकी आमालाई कसरी अनदेखा गर्नसक्छ ? आमाहरू नामका लागि र स्वअस्तित्वका लागि लडिरहेका छन् ।
आमाहरूको नाम अनिवार्य रूपमा लेख्न विद्यालयले सिक्नुपर्छ । बच्चालाई सिकाउनुपर्छ । आमाको नाममा शिक्षालयहरू निरक्षर बन्नुहुँदैन ।