लोड हुँदैछ...

मेनु

मुख्यमन्त्री ज्यू, पदमा गएपछि संयमित हुनुपर्छ

मुख्यमन्त्री ज्यू, पदमा गएपछि संयमित हुनुपर्छ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिनअघि एउटा विद्यालयको कार्यक्रममा गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । वाकपटुतामा निपूर्ण कार्कीका भाषणहरु पछिल्ला समयमा जोसिला र उत्तेजक पनि छन् । र, उनका भाषणमा सामाजिक यथार्थलाई चित्रण गरेर बोलेको पाइन्छ । उनले आफ्नो कुरालाई स्थापित गर्नका लागि गाउँघरमा चलिआएका र व्यवहारमा देखिएका कुराहरुलाई उदाहरण दिएर प्रस्तुत गर्दछन् ।

कलेजको राजनीति गर्दादेखि नै आफ्नो विषयलाई स्थापित गर्नका लागि उनी निपुर्ण हुन् । उनी आफ्नो विषयलाई जसरी पनि स्थापित गर्छन् । र, उनी त्यसमा सफल पनि देखिएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा निर्वाचित भएर आएपछि उनी मुख्यमन्त्री हुने दौडमा दौडिरहे । मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता सामान्यतया हुनैपर्छ । उनको पल्ला भारी नहुने देख्दादेख्दै उनी कांग्रेसको संसदीय दलको नेताको लागि चुनावी मैदानमा उत्रिए । उनी त्यहाँ पराजित भए । तर, मुख्यमन्त्री बन्नुपर्छ भन्ने उनको दौड चलिरह्यो । पत्रकारहरु र नेताहरुसँग पनि उनले मुख्यमन्त्री हुने अभिव्यक्ति दिइनैरहे । र, त्यसका लागि संघर्ष गर्दै गए । राजनीतिको अंक गणितको जोडघटाउ चल्दै गर्दा उनले पार्टीभित्रै र गठबन्धनमा विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री हुने अवसर पाए ।

उनी जे उद्देश्यमा अडिग थिए त्यो उद्धेश्य पूरा गरे । अब मुख्यमन्त्री भएपछि उनी कति सफल हुन्छन् र असफल त्यो समयले देखाउँदै जाला ।कार्की मुख्यमन्त्री भएपछि कोशीका बालबालिकाका लागि उपचार गर्ने र मुटु रोगको अस्पताल खोल्ने कुरा गरे र त्यसको सुरुवात गरे । यसमा उनले सुरुवाती सफलता पाएपनि यो दीर्घकालसम्म टिक्छ कि टिक्दैन हेर्न बाँकी छ । यसका विषयमा पनि अनेकन प्रश्नहरु छन्, समयमा ती प्रश्नका जवाफ मुख्यमन्त्री कार्कीले दिनेछन् ।
उनी मुख्यमन्त्री भएपछि सातैवटा मुख्यमन्त्रीभन्दा बढी चर्चामै छन् । कहिले केन्द्रीय सरकारविरुद्ध आन्दोलन गर्छु भन्छन् भने कहिले अरु कुरैबाट चर्चामा आउछन् । यी चर्चामा आउँदै गर्दा पछिल्लो भाइरल अभिव्यक्तिको भने धेरैले हासीमजाक उडाएका छन् । र कतिपयले कर्मचारीका संस्थाले अभिव्यक्तिको विरोध गरेका छन् ।

खासमा ‘कक्षा कोठाको फस्ट बेञ्चमा बस्नेहरु खरदार भए, म अन्तिम बेञ्चमा बसेर मुख्यमन्त्री भएँ’ भन्ने अभिव्यक्तिको सामाजिक सञ्जाल र नागरिक समुदायबाट विरोध भएको छ । विद्यालयको कार्यक्रममा गएर उनले विद्यार्थीहरुलाई हौसला दिने उद्धेश्यले भनाइहरु व्यक्त गरेको मनासाय राखेपनि कार्यक्रमको भाषणमा प्रस्तुति नमिल्दा उनीमाथि प्रश्न उठेको हो ।
खासमा हामीकहाँ निर्वाचित जनप्रतिनिधि र मन्त्रीहरुमा आफू धेरै जान्ने छु भन्ने प्रवृत्ति हाबी छ । यसले गर्दा नेताहरु चिप्लिने गर्दछन् । उच्च तहमा बसेका नेताहरुलाई र पदधारण गरेका नेताहरुलाई के बोल्ने के नबोल्ने भन्ने होस नहुँदा यस्ता खालका समस्याहरु आउँछन् । खासमा नेपाली राजनीतिका नेताहरुमा जोसमा होस गुमाउने प्रवृत्ति छ । र, सकारात्मक सन्देश दिन खोज्दा खोज्दै पनि हाम्रो समाज त्यसलाई नकारात्मकताले हेरेर उडाउने पनि गर्दछ । तर, कुरा के हो भने पदीय मर्यादाभित्र रहेका जोसुकैले पनि हाम्रो समाजलाई उत्प्रेरणा दिने काम गर्नुपर्छ । र हामीले कुन कार्यक्रममा कस्तो बोल्ने र कसरी बोल्ने अभ्यास गर्नु पनि जरुरी छ ।

समाजका अगुवाहरुले कहिँलेकाहिँ भए गरेका र भोगी आएका सही कुरा बोल्न पनि पदीय मर्यादाले रोकेको हुन्छ । राजनीति र समाजका हरेक क्षेत्र अनुशासन र संस्कारले टिकेको हुन्छ । हामीले अनुशासित र संस्कारयुक्त समाज निर्माण गर्नका लागि कहिँलेकाहिँ कम बोल्दा पनि हुन्छ । यहाँ मैले सुझाव दिन खोजेको विषय के हो भने अब मुख्यमन्त्री भएपछि सारा नागरिक समाज र मिडियाको ध्यान पदतिर केन्द्रित छ । त्यसैले मुख्यमन्त्रीले संयमित भएर बोल्दा नै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।