विक्रम लुइँटेल
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिनअघि एउटा विद्यालयको कार्यक्रममा गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । वाकपटुतामा निपूर्ण कार्कीका भाषणहरु पछिल्ला समयमा जोसिला र उत्तेजक पनि छन् । र, उनका भाषणमा सामाजिक यथार्थलाई चित्रण गरेर बोलेको पाइन्छ । उनले आफ्नो कुरालाई स्थापित गर्नका लागि गाउँघरमा चलिआएका र व्यवहारमा देखिएका कुराहरुलाई उदाहरण दिएर प्रस्तुत गर्दछन् ।
कलेजको राजनीति गर्दादेखि नै आफ्नो विषयलाई स्थापित गर्नका लागि उनी निपुर्ण हुन् । उनी आफ्नो विषयलाई जसरी पनि स्थापित गर्छन् । र, उनी त्यसमा सफल पनि देखिएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा निर्वाचित भएर आएपछि उनी मुख्यमन्त्री हुने दौडमा दौडिरहे । मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता सामान्यतया हुनैपर्छ । उनको पल्ला भारी नहुने देख्दादेख्दै उनी कांग्रेसको संसदीय दलको नेताको लागि चुनावी मैदानमा उत्रिए । उनी त्यहाँ पराजित भए । तर, मुख्यमन्त्री बन्नुपर्छ भन्ने उनको दौड चलिरह्यो । पत्रकारहरु र नेताहरुसँग पनि उनले मुख्यमन्त्री हुने अभिव्यक्ति दिइनैरहे । र, त्यसका लागि संघर्ष गर्दै गए । राजनीतिको अंक गणितको जोडघटाउ चल्दै गर्दा उनले पार्टीभित्रै र गठबन्धनमा विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री हुने अवसर पाए ।
उनी जे उद्देश्यमा अडिग थिए त्यो उद्धेश्य पूरा गरे । अब मुख्यमन्त्री भएपछि उनी कति सफल हुन्छन् र असफल त्यो समयले देखाउँदै जाला ।कार्की मुख्यमन्त्री भएपछि कोशीका बालबालिकाका लागि उपचार गर्ने र मुटु रोगको अस्पताल खोल्ने कुरा गरे र त्यसको सुरुवात गरे । यसमा उनले सुरुवाती सफलता पाएपनि यो दीर्घकालसम्म टिक्छ कि टिक्दैन हेर्न बाँकी छ । यसका विषयमा पनि अनेकन प्रश्नहरु छन्, समयमा ती प्रश्नका जवाफ मुख्यमन्त्री कार्कीले दिनेछन् ।
उनी मुख्यमन्त्री भएपछि सातैवटा मुख्यमन्त्रीभन्दा बढी चर्चामै छन् । कहिले केन्द्रीय सरकारविरुद्ध आन्दोलन गर्छु भन्छन् भने कहिले अरु कुरैबाट चर्चामा आउछन् । यी चर्चामा आउँदै गर्दा पछिल्लो भाइरल अभिव्यक्तिको भने धेरैले हासीमजाक उडाएका छन् । र कतिपयले कर्मचारीका संस्थाले अभिव्यक्तिको विरोध गरेका छन् ।
खासमा ‘कक्षा कोठाको फस्ट बेञ्चमा बस्नेहरु खरदार भए, म अन्तिम बेञ्चमा बसेर मुख्यमन्त्री भएँ’ भन्ने अभिव्यक्तिको सामाजिक सञ्जाल र नागरिक समुदायबाट विरोध भएको छ । विद्यालयको कार्यक्रममा गएर उनले विद्यार्थीहरुलाई हौसला दिने उद्धेश्यले भनाइहरु व्यक्त गरेको मनासाय राखेपनि कार्यक्रमको भाषणमा प्रस्तुति नमिल्दा उनीमाथि प्रश्न उठेको हो ।
खासमा हामीकहाँ निर्वाचित जनप्रतिनिधि र मन्त्रीहरुमा आफू धेरै जान्ने छु भन्ने प्रवृत्ति हाबी छ । यसले गर्दा नेताहरु चिप्लिने गर्दछन् । उच्च तहमा बसेका नेताहरुलाई र पदधारण गरेका नेताहरुलाई के बोल्ने के नबोल्ने भन्ने होस नहुँदा यस्ता खालका समस्याहरु आउँछन् । खासमा नेपाली राजनीतिका नेताहरुमा जोसमा होस गुमाउने प्रवृत्ति छ । र, सकारात्मक सन्देश दिन खोज्दा खोज्दै पनि हाम्रो समाज त्यसलाई नकारात्मकताले हेरेर उडाउने पनि गर्दछ । तर, कुरा के हो भने पदीय मर्यादाभित्र रहेका जोसुकैले पनि हाम्रो समाजलाई उत्प्रेरणा दिने काम गर्नुपर्छ । र हामीले कुन कार्यक्रममा कस्तो बोल्ने र कसरी बोल्ने अभ्यास गर्नु पनि जरुरी छ ।
समाजका अगुवाहरुले कहिँलेकाहिँ भए गरेका र भोगी आएका सही कुरा बोल्न पनि पदीय मर्यादाले रोकेको हुन्छ । राजनीति र समाजका हरेक क्षेत्र अनुशासन र संस्कारले टिकेको हुन्छ । हामीले अनुशासित र संस्कारयुक्त समाज निर्माण गर्नका लागि कहिँलेकाहिँ कम बोल्दा पनि हुन्छ । यहाँ मैले सुझाव दिन खोजेको विषय के हो भने अब मुख्यमन्त्री भएपछि सारा नागरिक समाज र मिडियाको ध्यान पदतिर केन्द्रित छ । त्यसैले मुख्यमन्त्रीले संयमित भएर बोल्दा नै राम्रो हुन्छ ।