समति–विमति !

  पुण्य पि अधिकारी

धार्मिक दङ्गाको एउटा अविस्मरणीय तथ्य बाबरी मस्जिद हो । जसको इतिहासले आज मात्र होइन, कालान्तरमा समेत धार्मिक दङ्गाको धङ्धङ्ीलाई उत्तिकै प्रभाव पार्नेछ । भारतको उत्तर प्रदेश राज्यको फैजावाद जिल्लाको अयोध्यामा रहेको बाबरी मस्जिद सन् १९९२ मा भड्किएको एउटा धार्मिक दङ्गाले नामेट बनाइदियो । जसले हिन्दू र मुसलमान समुदायबिच वैमनश्यता मात्रै कायम गरेन, भारतीय अदालतमा लामो समयसम्म बहस छेडी रह्यो । लामो कानुनी लडाईकाबिच भारतीय अदालतको बाबरी मस्जिद रहेको ठाउँमा राम मन्दिर बनाउने फैसला र आदेशसँगै माघ ८ गते मन्दिरमा रामको प्राण प्रतिष्ठा गरिएको छ ।

हिन्दू धर्मका भगवान रामको प्राण प्रतिष्ठाका क्रममा भारतमा जस्तै उत्सव नेपालमा माघ ८ गते देख्न पाइयो । विराटनगरलगायतका शहरहरू भगवान रामका चित्र अङ्कित तोरण र तुलले पहलेपुर भए । रामका सेवक हनुमानका चित्र अङ्कित झण्डा र व्यानरहरू उत्तिकै देख्न पाइयो । मधेश प्रदेशसहित अन्य प्रदेशका स्थानीय तहले सार्वजनिक बिदा दिए ।

०६३ जेठ ४ गते नेपाल हिन्दू धर्म राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषणा हुँदा सरकारले जनतालाई दीप प्रज्वलन गर्न निर्देशन दिएको थियो । तत्कालीन समयमा राजनीतिक दलका कार्यकर्ताबाहेक एकाध नेपालीले मात्र धर्म निरपेक्ष राष्ट्र घोषणा भएकामा खुशीयाली मानि दीप प्रज्वलन गरेका थिए ।

तर, आम नेपालीमा हिन्दू धर्मको अपनत्व कसरी कुण्ठित भएको थियो र त्यो कसरी प्रकट भयो भन्ने वास्तविकता माघ ८ गते देख्न पाइएको छ । भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालमा स्वतस्फूर्त हजारौँ दीप प्रज्वलन गरियो, रामन्दिरलगायत अन्य मन्दिरहरूमा धार्मिक अनुष्ठान, पुजा, किर्तन, हवन र सत्संगहरूको आयोजना गरियो, ठाँउठाउँमा झाँकीसहित कलशयात्रा र रथयात्राहरू निकालिए वा गरिए । राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालमा हर्ष बडाई गर्न राज्यले कुनै किसिमको निर्देशन वा आग्रह गर्नुपरेन, घरघरमा दीप प्रज्वलन गर्नु भन्नु परेन ।

राजनीतिक स्वार्थको रोटी सेक्नका लागि थोपरिएको धर्म निरपेक्षको विरोध माघ ८ गते जनताहरूले स्वतस्फूर्त रूपमा गरे । ८१ दशमलव ९१ प्रतिशत हिन्दू रहेको नेपालमा धार्मिक निरपेक्षताले दिलाएको निराशा आम नेपालीले माघ ८ गते स्वतस्फूर्त रूपमा पोखे ।विवादास्पद बाबरी मस्जिद भत्काएर भारत सरकारले १८ अर्व भन्दा बढी लगानी गरी निर्माण गरेको राममन्दिरका विषयमा जनवरी २२ मा अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले धार्मिक महत्वलाई दिएर समाचार प्रकाशन तथा प्रसारण गरेको पाइयो ।

तर, नेपालका राष्ट्रिय सञ्चार माध्यमहरूले आम नेपालीको हिन्दूभाव र पूर्वीय दर्शनलाई नजरअन्दाज गरी राम मन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन स्थानीय तहहरूले दिएको विदालाई स्थानीय तहमा मनपरी बिदाको शीर्षकमा समाचार प्रकाशन गरे ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले राम मन्दिरमा प्राण प्रतिष्ठाको विषयलाई हिन्दूहरूको एकता भनि महत्व दिँदा राज्यका चौथो अङ्ग आम नेपालीको धार्मिक भावना भन्दा विपरितका विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेर आत्मरतिमा रमाइरहे ।

बिहिबार, ११ माघ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर