सम्पादकीय
नेकपा एमालेले पश्चिम नेपालको बैतडी झुलाघाटबाट सुरु गरेको मध्यपहाडी यात्रा कोशी प्रदेशमा आइपुगेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र पदाधिकारी तथा केन्द्रीय नेतासहित कार्यकर्ताहरु यात्रामा छन् । मंसिर १४ गते सुरु भएको यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर पुस २ गते समापन हुनेछ । मध्यपहाडी राजमार्गले छोएका २६ जिल्लाभित्रका १८७९ किलोमिटर दुरी पार गर्दा एमालेले विभन्न स्थानमा सभा गर्दै आफ्नो शक्ति प्रदर्शन पनि गर्दै आएको छ । मध्यपहाडी लोकमार्ग भएर सञ्चालन गरेको यात्रालाई एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । सडकमा दलबलसहित सयौं गाडीहरु गुडाएर हिँड्दा त्यसबाट समृद्धि आउने हैन । तर, एमाले नेतृत्वले मध्यपहाडी क्षेत्रको जनजीवन नजिकबाट नियाल्न पाएका छन् । सडकसँग जोडिएका २६ जिल्लाको न्युनत्म जानकारी एमाले नेतृत्वलाई भएको । प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले यात्राको क्रममा देखेका समस्याहरु समाधानको लागि सरकारलाई घच्घच्याउन सक्छ । यो यात्राको सबैभन्दा सकारात्मक पक्ष त्यहि हो ।
कोशी प्रदेशमा एमालेको टोली प्रवेश गर्दा पनि धेरै चर्चा र चासो भएको छ । कोशीको नामकरणको विषयमा आन्दोलन गर्दै आएका पहिचानवादीहरु पहिलेदेखि नै एमालेको उनीहरुप्रतिको उग्रबुझाई र अध्यक्ष ओलीको कडा टिप्पणीले असन्तुष्ट थिए । कोशीको नामकरण अस्वीकार गर्दै प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका उनीहरुले कोशीको पक्षमा मतदान गर्ने प्रदेशसभाका सदस्यहरुलाई बष्स्किार गर्दै आएका छन् । एमालेको यात्रा टोली प्रदेशमा प्रवेश गर्दै गर्दा मुख्यमन्त्री केदार कार्कीले पनि झापाको दमकमा कालो झण्डा र ढुंगाको सामना गर्नुपरेको छ । पहिचानसहित प्रदेशको नामकरण गर्दै आन्दोलन गर्दै आएको समूहले शान्तिपूर्ण रुपमा विरोध गर्नु, सभा गर्नु, कालोझण्डा देखाउनुलाई सामान्य मान्न सकिन्छ । तर, ढुंगामुढा र निषेधको राजनीति सहि होइन । एमाले पहिचानको पक्षमा उभिएन भनेर आलोचना गर्ने, एमालेको विरुद्ध जनमत निर्माण गर्ने र पार्टीलाई पहिचानको पक्षमा उभ्याउन दाबाब दिने सहि बाटो हो । त्यसलाई छोडेर निषेध गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई अबरोधको प्रयास गर्ने र नेताहरुमाथि आक्रमण गर्ने प्रयास गलत छ ।
एमाले सांगठनिक रूपमा बलियो रहेको प्रदेश हो, कोशी । त्यसैले एमालेको यात्रा प्रदेशमा अझै प्रभाबकारी हुने निश्चित छ । शान्तिपूर्ण रुपमा गरिने एमालेको यात्रालाई सुरक्षा प्रदान गर्नु राज्यको जिम्मेवारी हो । कडा सुरक्षा व्यवस्थाकै कारण ‘पहिचानवादी’को बन्द र विरोधले पहिलो दिन खासै असर परेको देखिएन । पछिल्लो समयमा अन्य दलभन्दा एमाले पहिचानवादीको तारो बनेको सत्य हो । प्रदेशको नामकरणमा सबै दल सहभागी भएपनि एमालेमाथि मात्र आक्रमण भएको गुनासो नेतााहरुले गर्दै आएका छन् । त्यसको दोषी भने एमाले नै हो । अन्य दलले नामकरणमा त्रुटी भएको भए जनताको अभिमतको आधारमा पुनः छलफल गर्न सकिने बताइरहेका छन् । आन्दोलनलाई शान्तिपूर्ण रुपमा अगाडि बढाउन उनीहरुले आग्रह गर्दै आएका छन् । तर, एमाले भने कोशीको नामबारे पनि छलफल गर्न नसकिने अडानमा मात्र छैन, एमाले नेताहरुले पहिचानको पक्षमा उभिएकाहरुलाई ‘विदेशीको पैसाले आन्दोलन गरेका’, ‘आतंककारी जमात’, ‘कुनै हैसियत नभएकाहरु’, ‘जातीय दंगा फैलाउन खोज्ने’ जस्ता आरोप लगाउँदै हिँडेका छन् । त्यसले असन्तुष्टिको आगोमा घिउ थपेको छ ।
ओखलढुंगाको हर्कपुरमा एमालेको टोली प्रवेश गर्दा भने एमाले अध्यक्ष ओली पहिलेजस्तो उग्र देखिएनन् । बरु उनी पहिचानवादीहरुप्रति नरम सुनिए । यसअघि आन्दोलनरत समूहप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका उनले अनावश्यक भावनामा बग्नु नहुने भन्दै राजनीतिक मतभेदलाई वैधानिक र शान्तिपूर्ण रुपमा औचत्य पुष्टि गर्नुपर्ने बताए । उनी पहिचानवादीको साटो सरकारप्रति खनिए । सरकार साम्प्रदायिकताको जगमा खडा भएको भन्दै उनले एमालेले मात्रै राष्ट्रिय एकता कायम गर्ने दाबी गरे । ओलीको भाषण पुरै राजनीतिक थियो । आफूहरुको अभियान कसैका विरुद्ध नभएको भन्दै उनले सबै खुसी हुनुपर्ने बताए । ओलीको राजनीतिक मन्तब्यलाई पहिचानको पक्षमा उभिएकाहरुले पनि सकारात्मक रुपमा लिनुपर्छ । एक प्रकारले त्यो उनीहरको पनि जीत हो । पहिचानवादीको आन्दोलनको दबाबले ओलीको उग्रता कम भएको छ । अब पहिचानवादीले पनि आफ्नो उग्रता देखाउने भन्दा शान्तिपूर्ण र बैधानिक बाटोबाट आफ्ना माग र मुद्दा स्थापित गर्नेगरि अगाडि बढ्नुपर्छ । त्यो नै सबैको हितमा छ ।