कारागारलाई यातना होइन सुधार गृह बनाऊ

 सम्पादकीय

थुनामा बसेर काराबासको सजाय भुक्तान गर्नुपर्ने भनि अदालतबाट ठहर भएका र त्यस्तो अपराध ठहर हुने आधार भई मुद्दाको अन्तिम फैसला नभएका व्यक्तिहरुलाई कारागारमा राख्ने गरिएको छ । अपराध गरेका कारण कारागारमा थुनामा राखिने भए पनि कारागारलाई व्यक्तिको आनिबानी र व्यवहार तथा प्रवृत्तिमा सुधार ल्याउने थलोको रुपमा लिइन्छ । पछिल्लो समयमा त कारागारलाई व्यक्तिको सुधार गृह हुनुपर्छ भन्ने बहस संसारभर उठिरहेको छ ।

नेपालमा कारागार भन्ने बितिकै यातना गृहको रुपमा बुझ्ने गरिन्छ । गोलघरमा राख्ने, नेल र हथकडी लगाउने जस्ता कथनीहरु विगतमा सुनिने गर्दथे । मुलुकमा प्रजातन्त्रको उदयसँगै त्यस्तो प्रवृत्तिमा केही कमी आएको भए पनि नेपालको कारागार अहिले पनि सुधार गृहको रुपमा स्थापित हुन सकेको छैन । अहिले पनि कारागारहरु अमानवीय व्यवहार प्रदर्शन गर्ने यातना गृहकै रुपमा सञ्चालित छन् ।

राज्य संचालनको एउटा संयन्त्र र संरचना भएका कारण कारागारभित्र मानवअधिकार सुरक्षित रहनु पर्दछ । कारागारलाई बाह्य संसरभन्द भिन्न रुपमा प्रचार गरेर त्यहाँभित्रको मानवअधिकार हनन् गर्ने काम राज्यले गर्न पाउँदैन । कारागारभित्र रहेका नागरिक तथा विदेशी नागरिक जो कोहीको पनि मानवअधिकारको ग्यारेन्टी राज्यले लिनुपर्छ । तर नेपालको कारागारहरु लुटतन्त्र संस्थागत गर्ने, यातना गृहको रुपमा सञ्चालित संरचनाको रुपमा छन् । कैदीबन्दीमाथि खुलेआम शोषण भइरहँदा, त्यहाँभित्र एकले अर्कामाथि दमन गरी यातना दिइरहँदा राज्य देखेको नदेखेझैं गर्ने गरेको उदाहरण धेरै छन् ।

केही समय अगाडिमात्र संखुवासभा कारागारमा भएको कैदी हत्याको विषय होस् वा शनिबार मात्र मोरङ कारागारमा भएको बन्दी मृत्यु प्रकरण हुन् कुनै न कुनै रुपमा ती कारागारभित्रको फरक संसारमा हुने अमानवीय व्यवहारको परिणाम नै हो भन्न सकिन्छ । मोरङ कारागारमा यस्तो घटना पहिलो पटक भएको होइन । पछिल्लो एक वर्षको अवधिमा कारागारमा रहेका कैदी बन्दीहरुको मृत्यु प्रकरणका बारेमा सुक्ष्म अनुसन्धान गर्ने हो भने चौकिदार, नाइके र भाइनाइकेहरुको पिटाइका कारण ज्यान गुमाउनेहरुको संख्या आधाजसो भेटाउन सकिन्छ । तर यसरी अध्ययन अनुसन्धान गर्ने काम भइरहेको छैन ।

मानवअधिकारवादी संघ संस्थाहरुले पनि त्यहाँभित्र हुने अमानवीय गतिविधिहरुको अनुगमन तथा अध्ययन केवल औपचारिकताका लागि मात्र गर्दै आएका छन् । जसले गर्दा कारागारलाई यातना गृह बनाइराख्न उत्साहित गरेको छ । हरेकलाई थाहा भएको कुरा के हो भने कारागार भित्रको डिएसपी रुपको काम के हो ? आन्तरिक शान्ति सुव्यवस्थाका लागि असल नियतले त्यो रुपमा प्रयोग भइरहेको छ कि त्यो कोठा देखाएर आम कैदी बन्दीमाथि शोषणको सञ्जाल फैलाइएको छ भन्ने विषयमा अहिलेसम्म कसैले अध्ययन गरेर सुधारका लागि सार्थक पहल गरेका छैनन् । चौकीदार, नाइके र भाइनाइकेहरुले कारागारभित्र आफूलाई सुधार गरिरहेका छन् कि अझ ठूलो अपराध गर्ने मानसिकता विकास गरिरहेका छन् भन्ने तर्फ पनि राज्यका निकायहरुले ध्यान दिइरहेका छैनन् । जसले गर्दा कारागारमा पटक पटक अनाहकमा मानिसहरुको हत्या हुने गरेको छ । जसलाई कानुनी पर्दाले छोपेर राख्ने गरिन्छ ।

पछिल्लो समय मोरङ कारागारका बन्दीको मृत्यु भएको घटनाप्रति परिवारका सदस्यहरुले आशंका जनाएका छन् । उनीहरुको आशंका निवारण गर्नु राज्यको दायित्व हो । जब उनीहरुलाई शंका भएको छ भने माग अनुसार छानविन समिति गठन गरेर सत्यतथ्य सार्वजनि गर्ने काम इमान्दारितापूर्वक अघि बढाइनु पर्छ । जसले कारागारभित्र संचालित यातना गृहलाई सुधार गृहमा परिणत गर्न सहयोग पुग्ने छ ।

सोमबार, २५ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर