गोकुल पराजुली
प्रदेश सभाको पहिलो कार्यकालमा बोल्ने हरेक सांसदहरुले भन्ने गर्दथे ‘ १ नम्बर प्रदेशलाई हामी १ नम्बर नै बनाउँछौं, १ नम्बर बनाउन सकिन्छ ।’ प्रदेशलाई १ नम्बरकै बनाउँछु भन्ने लहरमा बहालवाला मुख्यमन्त्री केदार कार्की पनि थिए । संसदीय दलको प्रमुख सचेतक, आन्तरिक मामिला तथा कानुन मन्त्री आदि भूमिकामा रहेर उनले प्रदेशलाई स्थापित गर्न प्रयत्न गरेकै हुन् । प्रमुख सचेतकको रुपमा रहँदा सरकारले पेस गरेको एउटा बाहेक सबै कानुन सर्वसम्मत पारित गराउन उनको भूमिका महत्वपूर्ण थियो ।
प्रदेशलाई १ नम्बरको बनाउन पहिलो कार्यकालका सांसदहरुले काम नगरेका होइनन् । प्रदेशलाई नचिनाएका होइनन् । सकेजति प्रयत्न गरेकै हुन् । अहिले प्रदेशमा देखिएका विकासका आधार त्यहि पहिलो कार्याकालका सांसदहरुले नै तयार पारेका हुन् । आफ्नो कार्यकाल सम्पन गरेर घर फर्किदै गर्दा उनीहरुले प्रदेश सञ्चालन गर्न ५७ वटा ऐन बनाइदिए । प्रदेशको नाम राख्ने सवालमा १ नम्बर हुन नसके पनि राजधानीको टुंगो लगाइदिए । संगठन संरचना तयार पारेर पछिल्ला सरकारहरुलाई काम गर्न सजिलो बनाइदिए ।
बहुवर्षीय योजनाहरुको सृङ्खला नै तयार गरिदिए । दर्जनौं सडक, खानेपानी, सिंचाइ र भवन आदि पूर्वाधारहरु निर्माण गरिदिए । सरकारका विभिन्न अंगहरु तयार गरिदिए । आफ्नो लागि आफैंले कर्मचारी नियुक्त गर्ने संयन्त्र लोकसेवा आयोगदेखि योजना आयोगसम्मका संरचनाहरु निर्माण गरिदिए । त्यति गर्दा पनि पहिलो कार्यकालले प्रदेशलाई १ नम्बर भएको पहिचान दिलाउन सकेन । किनभने प्रदेशले नाम पाउन सकेको थिएन । नाम पाएको भए यो प्रदेश १ नम्बरकै प्रदेश भन्दा अत्युक्ति हुने अवस्था हुने थिएन ।
प्रदेशलाई १ नम्बरको बनाउँछौं भन्ने पङ्तिका १३ जना सांसदहरु मात्र दोस्रो कार्यकालका लागि निर्वाचित भएर आए । पहिलेको अनुभवले खारिएर आएका सीमित नेताहरुमध्ये बहालवाला मुख्यमन्त्री पनि हुन् । तर दोस्रो कार्यकालमा नेताहरुको भूमिका प्रदेशलाई १ नम्बरको बनाउने ढंगबाट हुनसकेन । हुन त प्रदेशको नाम कोशी राखिसकेका कारण नेताहरुले प्रदेशलाई १ नम्बरकै बनाउँछौं नभनेको हुनसक्छ । अहिले सदनमा कुनै पनि सांसदले कोशी प्रदेशलाई देशकै १ नम्बरको प्रदेश बनाउँछौं भनेको सुनिदैन । पहिचानवादीले १ नम्बर प्रदेश नै हुनुपर्ने मागसँग डराएर पो नभनेका हुन् कि ! जे भए पनि अहिले कोशी प्रदेशको कार्यशैली १ नम्बर प्रदेश बनाउने गरी भइरहेको छैन । प्रदेश सभाको दोस्रो कार्यकाल संसदीय व्यवस्थाको बेथितिका लागि भने १ नम्बर हुने लक्षण देखिएको छ ।
अझ पूरापूर ४ वर्ष कार्यकाल बाँकी रहँदै १ नम्बर हुँदैन भन्नु आग्रही दृष्टिकोण हुनसक्छ त्यसैले अहिले नै त्यसो नभनौं । तर दिनको संकेत बिहानीले गर्छ भन्ने भनाइमा सहमत हुने हो भने संकेत गरिरहेकै छ । कोशी प्रदेश ११ महिनामा पाँच जना मुख्यमन्त्री बनाउन सफल भयो । यो बेथितिमा कोशी प्रदेश १ नम्बर भएकै हो । सरकार बनाउन सभामुखले मर्यादाविपरीत मतदान गरे यो पनि १ नम्बरमै पर्ने काम हो । एकातिर बहुमत हुँदाहुँदै प्रष्ट अल्पमतमा रहेका दलहरुले खुराफाति गरेर प्राविधिक षड्यन्त्र बुनेर बहुमतको सरकार पनि यसै प्रदेशमा ढालिदिए । यो झन् नेपाली स्वार्थी र सत्ता केन्द्रित राजनीतिको आलोकमा १ नम्बरकै काम हो । संविधानको धारा १६८ को व्यवस्था बमोजिम सरकार गठन गर्नसक्ने तीनवटा उपधाराहरु तीन महिनाभित्रै कार्यान्वयन गर्ने क्षमता राखेर पनि कोशीले १ नम्बर प्रदेशको परिचय दिएकै छ ।
प्रदेशलाई १ नम्बरको पहिचान दिलाउने गरी अब मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अरु रेकर्डहरुको पनि तयारी गरिरहेको छ । उनी मुख्यमन्त्री नियुक्त भएको आज ५० दिन भएको छ । अहिलेसम्म प्रदेशमा मुख्यमन्त्री एक्ला बादशाह छन् । मन्त्रीहरुको मन्त्री मुख्यमन्त्री हुन् तर पखेटा काटिएका मन्त्रीको उनी मुख्यमन्त्री बनिरहेका छन् । बिचरा मन्त्रीहरु मुख्यमन्त्री कार्यालयको एउटा कोठामा चेपिएर बसिरहेका छन् । काम नपाएर मन्त्रीहरु हाई काडिरहेका छन् मुख्यमन्त्रीलाई भ्याइनभ्याइ छ । भएका मन्त्रालयजति बसै क्याप्चर गरेर बस्नुको मजा लिन खोज्नु पनि १ नम्बरकै अभ्यास हो । भएभरको जिम्मा लिएपछि कामको चाप बढ्नु स्वभाविक हो । कामको चाप बढेपछि समय व्यवस्थापनमा सकस पर्छ । दिएको समयमा भनेको ठाउँमा पुगिदैन अनि दूध उत्पादक किसानबाट झैं उम्किनु पर्ने झन्झट आइपर्छ । यो पनि कोशी प्रदेशमा पहिलो पटक भएको घटना हो तर १ नम्बरकै चाहिँ भन्न भएन ।
अब प्रदेशलाई नकारात्मक कोणबाट १ नम्बरको नबनाउने हो भने मुख्यमन्त्रीले जिम्मेवारी बाँड्न तयार हुनुपर्छ । अरुलाई घुमाउँछु भनेर फनफनी घुम्दा कहिलेकाँही रिंगटा लागेर आफैं पछारिने भवितव्य आइपर्छ । ४ महिना ढिला गरेर भएपनि बल्ल बजेट पारित गर्न मुख्यमन्त्री सफल भएका छन् । अब कार्यान्वयन गर्ने चिन्ता गर्नुपर्छ । किताबमा लेखेका योजना जनताको घर आँगमा पु¥याउन एक्लो बादशाह बनेर सम्भव हुँदैन । जिम्मेवारी बाँडेर सहकार्य गरेर मात्र त्यो लक्ष्य प्राप्त हुन सक्छ भन्ने हेक्का नराखेको पक्कै होइन । अब राजनीतिक दाउपेचलाई केही समय बिश्राम गरेर विकासमा ध्यान दिनु मुख्यमन्त्री कार्कीका लागि सकारात्मक हुनेछ ।