विराटनगर । पाँच वर्ष अगाडिसम्म दूध उत्पादन कसरी बढाउने भन्ने बहस हुने कोशी प्रदेशमा अहिले विदेश निर्यातको प्रयास भइरहेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिन भन्दै ४ करोड बजेट नै छुुट्याएको छ ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशीको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा पनि दूधको निर्यात र बजार व्यवस्थापनबारे छलफल भयो । दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकायका प्रतिनिधि सहभागी कार्यक्रममा व्यवसायीहरुले भारतबाट अझै पनि अवैध तरिकाले पाउडर दूध आइरहेकोले स्वदेशी दूधको खपत बढाउन लागत खर्च घटाउनुपर्नेमा जोड दिए ।
नेपालमा भारतभन्दा दूधको मूल्य महंगो रहेकोले आयात भएको उद्योगीको दाबी थियो । उनीहरुले डेरी उद्योगलाई विद्युत् महसुलमा छुट दिनुपर्ने, दानाको मूल्य नियन्त्रण गर्नुपर्ने, दुग्धजन्य वस्तु आयातमा कर लगाउनुपर्ने र आन्तरिक उत्पादानमा लगाएको १३ प्रतिशत कर घटाउनुपर्ने माग गरे ।
सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौंका गोदाममा भारतबाट आयातित २० हजार बोरा पाउडर दूध रहेको भन्दै त्यसको मूल्य २५० रुपैयाँ प्रतिकिलो रहेको जानकारी दिए । नेपालभन्दा प्रतिकेजी २ सय रुपैयाँ सस्तो रहेकोले चोरी पैठारी तथा नाम परिवर्तन गरेर भन्सारबाटै दूधको पाउडर आउने गरेको उनको भनाइ छ ।
दूधजन्य परिकार आउन नदिने व्यवस्था गर्न ढकालले माग गरे । उनले दूधजन्य वस्तुमा लगाएको १३ प्रतिशत भ्याट पनि हटाउन माग गरे । ‘गरिब किसानले उत्पादन गरेको दूधको पाउडरमा किन १३ प्रतिशत भ्याट लगाएको ? पनिर र घिउमा किन कर ?’ उनले भने, ‘आयात रोकौं, भ्याट हटाउँ दूधको बजार हामी खोज्छौ ।’
विराटनगरमा ७० हजार लिटर खुल्ला दूध विक्री भइरहेको र त्यसमा १५ हजार लिटर पानी मिसाइएको ढकालको दाबी छ । धनकुटा र तेह्रथुमको शुद्ध दुध बिक्री नभइरहेको बेला विराटनगरमा दुधको रुपमा पानी विक्ने उनको भनाइ थियो । व्यवसायीले राज्यलाई कर तिर्नेगरेपनि खुल्ला दुध विक्री गर्नेहरुले कुनै कर नतिरेकोले समस्या रहेको उनले बताए ।
तेह्रथुमका दुग्ध सहकारी संस्था संघका अध्यक्ष मुक्ति बरालले भारतबाट आयातित धूलो दूधका कारण बजारमा समस्या आएको बताए । लम्पी स्किन रोगको कारण पशुपालन व्यवसाय संकटमा आउनसक्ने पनि उनको भनाइ थियो ।
झापाको विर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सरकारले निर्यातका लागि छुट्याएको पैसा खर्च हुन नसक्ने आशङ्का रहेको बताए । निर्यातमा अनुदान भनिएकोले निर्यात गर्न नसकिएको खण्डमा स्टक मालमा पनि राहत दिनुपर्ने उनको माग छ । अब उत्पादनलाई विविधिकरण गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।
उत्पादकले उपभोक्ताको चाहनामा आधारित क्वालिटी, क्वान्टिटि अनुसारको वस्तु उत्पादन गर्नुपर्ने भन्दै उप्रेतीले आन्तरिक खपतका ठाउँहरुमा पनि राज्यले ध्यान दिनपर्नेमा जोड दिए । अहिलेको समस्या भनेको दूधको मूल्य नपाउनु र दूध विक्री नहुनु समस्या रहेको उनको भनाइ छ ।उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा दुधको मूल्य बढी रहेको भएपनि मूल्य घटाउनु नहुने बताए । उत्पादन लागत घटाउनतिर लाग्नुपर्ने र उत्पादित दूधको विविधीकरण आवश्यक भएको उनले बताए ।
पाँच वर्ष अगाडिसम्म दूध अरु देशमा निर्यात गर्ने भन्दा मान्छे हाँस्ने अवस्थामा सुधार हुनु राम्रो भएको उनले बताए । सरकारले ०७५ सालमै पाउडर दूध आयातमा प्रतिबन्ध लगाएकोले आयात रोकिनुपर्ने उनको भनाइ थियो । दूधजन्य वस्तुहरुमा भ्याट नलगाउने विषयमा संघीय सरकारलाई कुरा राख्ने उनले बताए । खोरेतमुक्त घिउ उत्पादन गर्नसकने तिब्बतमा घिउको बजार धेरै राम्रो भएको भन्दै उनले त्यसको लागि सरकारले इलामको सूर्योदय नगरपालिकामा काम गर्ने तयारी रहेको दाहालले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी
कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका मुख्यमन्त्री केदार कार्कीले भने डेढ घण्टा ढिलो पुगेर सम्बोधन गर्न नपाइ बाहिरिनुपरेको थियो । ढिलो पुगेका मुख्यमन्त्री कार्कीले आफ्ना कुरा नसुनी भाषण मात्र गर्न खोजेको भन्दै दूध किसान र व्यवसायीहरुले उनीविरुद्ध नाराबाजी नै गरे ।
प्रदेश सरकारको कृषि मन्त्रालयकै सहयोगमा आयोजित कार्यक्रम ११ः३० बजेलाई राखिएको भएपनि मुख्यमन्त्री कार्की करिब १ बजे पुगेका थिए । त्यसपछि कार्यक्रम उद्घाटन गरेर एउटा कार्यपत्र प्रस्तुत भएपछि आयोजकले मुख्यमन्त्रीको कार्यव्यवस्तता रहेको बताउँदै मन्तव्यका लागि बोलाएको थियो ।
मुख्यमन्त्रीले आफ्नो कुरा नसुनी भाषण मात्र गर्नखोजेको भन्दै दुग्ध व्यवसायीले ‘हाम्रो कुरा सुन्नुपर्छ’ भन्दै हो–हल्ला गरे । पोडियममा पुगेका मुख्यमन्त्री कार्कीले आफू व्यस्त रहेको र मुख्य समस्या के हो १–२ जनाले सिधै राख्न आग्रह गरे ।
तीन जना व्यवसायीले कुरा राखिसकेपछि मुख्यमन्त्रीले ‘मैले कुरा बुझें’ अन्य प्रश्नकर्तालाई रोक्न खोजेपछि होहल्ला बढ्यो । मुख्यमन्त्रीले सबैको कुरा सुन्नुपर्ने भन्दै नाराबाजी सुरु भयो । मुख्यमन्त्री कार्कीविश्रद्ध मुर्दावादको नारासमेत लागेपछि उनी कार्यक्रमलाई सम्बोधन नगरी बाहिरिएका थिए ।