सम्पादकीय
तराई मधेश र काठमाडौं उपत्यकामा धुमधामको साथ मनाइने छठ पर्वको रौनक सुरु भइसकेको छ । जानकारहरुका अनुसार सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो, छठ । छठ पूजाका लागि अहिले तराई मधेशका खोला, नदि, तलाउ, नहरका किनारमा झकिझकाउ हुनेगरी सिङ्गारिएको छ । दीपावली तिहारको रौनक नसक्दै सुरु भएको छठ पर्व पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी पर्व मनाइन्छ । छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना आदि छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन् । छठ अगाडि सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण समाजबारे अध्ययन गर्ने खुला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुन्छ ।
चार दिवसीय छठ पर्वको पहिलो दिन शुक्रबार खरना मनाइँयो । यो दिन ब्रतालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिनाप्याज, लसुनको अरवा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिन खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । दोस्रो दिन शनिबार ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) मनाइयो । खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गरिन्छ ।
षष्ठीका दिन आइतबार गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ । यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोरयाउँछन् र प्रातःकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ ।
छठ जात, धर्म, क्षेत्रीयतामुक्त पर्व हो । फरक–फरक समुदाय, भुगोल र धर्म मान्नेहरु पनि यो पर्वमा जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको देख्न पाइन्छ । पहिले मधेसी समुदायले मात्र मनाउने यो पर्व अहिले सबै नेपालीको पर्व भइसकेको छ । पछिल्लो समयमा काठमाडौंमा पनि छठ पर्वको ठूलो रौनक देख्न सकिन्छ । अहिले पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक छठ मनाउने गरेको देखिन्छ । यो पर्वको अर्को विशेषता ठूला साना, धनी, गरिब सबै एकैठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो । यसैले छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ । सबैमा छठ पर्वको शुभकामना ।