डा.बालकृष्ण साह
तिहारको झिलिमिलि नसकिँदै छठ भित्रिने गर्दछ । कार्तिक शुक्ल तृतीयाका अर्थात् भाइटीकाको भोलिपल्टका दिन ब्रतालुहरुले ‘अरबा–अरबाइन’ अर्थात् शुद्ध शाकाहारी खाएर ब्रतको तयारी गरिने हुन्छ । त्यसैले तिहारसँगै छठको पनि तयारी सुरु गरिन्छ । कार्तिक शुक्लचौथीका दिन ‘नहाय–खाय’ विधिबाट विधिवत रुपमा पर्व सुरु गर्ने गरिन्छ । पञ्चमी तिथिका दिन राति एक छाकमात्र शुद्ध घरमा तयार गरिएको प्रसाद तथा नुन न भएको शाकाहारी खानेकुरा खाएर ‘खरना’ गर्छन् । यो पर्वमा सूर्यसँगैे षष्ठी तिथि पारेर छठीमाताको आराधाना गरिने भएकाले यस पर्वको नाम नै ‘छठ’ भनिएको हो । ‘षष्ठी’ तिथिकै कारण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेको पनि भनिन्छ । छठको प्रमुख पूजा वा आरधाना अस्ताउदो सूर्य र भोलिपल्ट उदाउदो सूर्यलाई अर्घ अर्थात् पूजा सामग्री चढाउने नै हो ।
दसैँमा देवीस्थान अनि तिहारमा घरको सरसफाइ र पूजा सकेपछि हरिबोधनी एकादशी पूर्व पानी र पानीको मुहानलाई सफा गर्नुपर्ने वातावरणको सिर्जना गराउने यसको आफ्नै धार्मिक मूल्य र मान्यता होला । तर, मानव जीवनमा अत्ति नै आवश्यक रहेको स्वास्थ्य र समाजलाई छठले धेरै महत्व दिएको पाइन्छ । घाटमा नै पूजा गर्नुपर्ने भएकाले एकातिर पानी सफा हुनुपर्छ, पवित्र हुनुपर्छ भन्ने सन्देश दिन्छ भने अर्कातिर घर वरिपरि पानीको मुहानहरु सफा गर्न सिकाउँछ ।
त्यस्तै दसैँमा बली दिने, मासु खाने र तिहारमा चिल्लो रोटी खाएपछि शरीरलाई सादा, कम चिल्लो खानेकुरा खानु पनि उत्तम हुन्छ । त्यसैले पनि छठमा लौका अर्थात् सजमैन वा कदुको बिशेष महत्व छ । कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ को दिन खानामा लौका अर्थात् सजमैन (कदु) अनिवार्य हुनुपर्छ भन्ने मान्यता रहेको छ । यो मौसममा सजिलै पाइने तरकारीका रुपमा लौका पहिलेदेखि नै रहेको थियो । लौकालाई किन अनिवार्य गरियो ? यसबारे कतै वर्णन गरिएको पाइँदैन । तर स्वास्थ्यको दृष्टिकोणले यसमा भिटामिन सि, बि, के, ए र ई पाईनुका साथै फलाम, म्याग्निज, फोलेट, पोटासियम जस्ता अत्तिआवश्यक तत्व पाइने हुन्छन् । सजिलै पचाउन सकिने, पानी र फाइवरको मात्रा प्रसस्त भएको, शितलता र सन्तुलनका लागि उत्तम मानिएकाले नै लौका खानु उपयुक्त हुन्छ ।
न धनी, न गरिब, न तल्लो जात, न त अछुत सबैको एउटै पूजास्थल । असमान्ता र समाजिक भेदभावरहित एउटै विधि र एकै स्थानमा मनाइने सम्भवतः एक मात्र चाड होला छठ । छठको प्रमुख पूजा भनेको षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ अर्थात ‘सझुका अरख’ र ‘सझिँया–घाट’ र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ ‘भोरका अरख’ दिएर समापन गरिने हो । अर्थात यो पर्वको मुख्य विधि अर्घ दिनु हो र यो अर्घ दिने काम घरमा नभई खोला–नाला, ताल, तलाउ, पोखरी अर्थात जलासयमा घाट बनाएर दिने हो । गाउमा रहेको जलासय सबैको साझा हुने यसलाई सबै मिलेर सजाउने यसको विशेषता हो । त्यसैले कोही ठुलो र कोही सानो नभई सबै बराबरी र समान देखिन्छ । कामको शिलशिलामा गाउँदेखि टाढा गएका साथिभाइहरु पनि घर आउने र सबै जना घाटमा नै जाने भएकाले वर्षभरि नभेटिएको तृष्णा नि मेटिने हुन्छ । घाटमा बालबालिकाहरु चिर्चिरी, फुलझरी बाल्ने, किशोरकिशोरीहरु फोटो खिच्ने र अलिक पाकाहरु गफमा रमाउने हुन्छन् । समानता र समाजवाद पनि छठले सिकाएको देखिन्छ ।
छठ घाटलाई हरियो गोबरले लिपेर, केराको थाम र फूलले सजाउने परम्परा रहेको छ । रातको अध्याँरोमा दियो, मैनबत्ती बालेर सजाएको हेर्दा मनमोहक देखिन्छ । समान्यतया घरमा नै तयार गरिएको ठेकुवा, खजुर्या, भुसुवा, केरा, अनि बारीमा रहेको बेसार, अदुवा, मुला, उखु लगायत फलफूल नै प्रसाद बनाउने गरिन्छ । छठमा बजारका मिठाईहरु प्रयोग गर्ने चलन खासै छैन । किसान परिवारले आफ्नै उत्पादनले पूजा गर्ने भएकाले छठ सामग्री तयार गर्न मेहनत धेरै हुने, ब्रत बस्न कठिन हुने तर महङ्गो नहुने गरेको बृद्धहरु बताउँछन् ।
आफ्नो उत्पादनलाई नै प्रथामिकतामा राख्न सिकाउने, सबै मिलेर चाडपर्व मनाउन लगाउने, जलासयलाई सफा राख्न प्रेरित गर्ने, शुद्ध र सात्विक भोजन गर्न सिकाउने पवित्र पर्व हो रहेछ ‘छठ’ । शुद्धता, पवित्रता, शिष्टता र समानताको सन्देश दिने छठको शुभकामना ।