सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएसँगै एमालेभित्र असन्तुष्टि

प्रदेश संसदीय दलका नेता कार्कीले सरकारमा सामेल हुने बाटो बन्द गरिदिएको सासदहरुको आरोप छ ।

विराटनगर । कोशीमा सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएसँगै नेकपा एमालेभित्र असन्तुष्टि बढ्न थालेको छ । प्रदेश सरकारमा सामेल हुने कि नहुने भन्ने विषयमा एमालेभित्र असन्तुष्टि बढेको हो ।

एमालेभित्र प्रदेश सरकारमा सहभागी हुनुपर्ने आवाज बलियो बन्दै जान थालेको छ । सरकारमा सहभागी हुनुपर्ने आवाज उठाइरहेका सांसदहरू दलका नेता हिक्मत कार्कीसँग पनि असन्तुष्ट छन् । प्रदेश संसदीय दलका नेता कार्कीले सरकारमा सामेल हुने बाटो बन्द गरिदिएको सासदहरुको आरोप छ ।

कार्कीकै कारण कोशीमा चार वर्ष प्रतिपक्षमा बस्नु पर्ने अवस्था आएको एमालेका एक सांसदले बताए ।

‘प्रदेश सभाको अंग गणितअनुसार राजनीतिक अगाडि बढेको छैन,’ एमालेका एक सांसदले भने, ‘कसैसँग सरसल्लाह नगरी संसदीय दलको नेताले रामबहादुर रानालाई राजीनामा दिन लगाएर सरकारमा जाने बाटो नै बन्द गरिदिनुभयो ।’ आफू मुख्यमन्त्री भए सबै ठीक भन्ने प्रवृत्ति नेता कार्कीमा देखिएको ती सांसदले बताए ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि पार्टीभित्र सरकारमा जानुपर्ने आवाज उठेको बताए । सभामुख राप्रपालाई दिन गठबन्धन तयार भएपछि उपसभामुखलाई फिर्ता बोलाउने एमालेको तयारी रहेको छ । संसदीय दलको बैठकमा नै उपसभामुखलाई फिर्ता बोलाउन एमालेका सांसदले प्रश्न उठाएका छन । ‘गठबन्धनमा पनि ४७ सांसद मात्रै छन्,’ ती सांसदले भने ‘एक जना मात्रै कम गर्न सकियो भने सरकारलाई अप्ठ्यारो हुन्छ । त्यसैले उपसभामुखलाई फिर्ता बोलाउनुपर्छ भनेर बहुमत सांसदले भनेका छौं ।’

तर, उपसभामुखको विषयमा भने छलफल नभएको उनले प्रमुख सचेतक भण्डारीले बताए । छठपछाडि यसबारे छलफल हुन सक्ने उनले बताए ।

कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ वटा मन्त्रालय छन् । जसमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्रालय दिने तयारी छ । यद्यपि जसपाले सरकारमा सामेल नहुने निर्णय गरिसकेको छ ।

बुधबार, २९ कार्तिक, २०८०, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर