मुकदर्शक नियामक निकाय

 पुण्य पी अधिकारी

पर्व लक्षित नियमक निकायको बजार अनुगमन लगभग सकिएको छ । दशैँ अघि बजारमा उपलब्ध खाद्यान्नलगायतका सामग्रीमा उच्च मिसावट हुने, मूल्य वृद्धि गरिने र उपभोक्ता ठगिने चिन्ता सरकारी नियमक निकायलाई हुन्छ ।

वर्षभरीमा पर्वमा मात्रै व्यापारीहरूले मिसावट युक्त, म्याद गुज्रिएका र अखाद्यवस्तु बेच्ने सरकारी संयन्त्रको बुझाइ छ । अझ भनौँ, पर्व लक्षित बजार अनुगमन आम उपभोक्ताको स्वास्थ्यलाई लिएर भन्दा पनि नियामक निकायलाई पदाधिकारी, कर्मचारी र जिम्मेवारीमा रहेकाहरूले पर्वमा आफूलाई सहज हुने गरी व्यवस्थापनका बजार अनुगमन गरेको प्रष्ट छ ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य अधिकार, धारा ३६ मा खाद्य अधिकार र धारा ४४ मा उपभोक्ताको अधिकारलाई व्यवस्था गरेको छ । ती नेपाली नागरिकका मौलिक अधिकार हुन् । आम नेपालीजनको स्वास्थ्य अधिकारमाथि खेलवाड वा लापरवाही गर्ने छुट कोही कसैलाई नभएको कानुनी व्यवस्था छ ।

तर, बजारमा औषधिसमेत म्याद गुज्रिएका, औषधि पसल वा अस्पतालहरू विना दर्ता सञ्चालन भएका, दक्ष चिकित्सक बिना उपचार चलाइरहेका कयौँ क्लिनिक र स्वास्थ्य संस्थाहरूका विषयमा राज्य वेखबर वा बेवास्ता गर्छ, सोही कुराले आम नागरिकको स्वास्थ्यप्रति राज्य कति जिम्मेवार छ भन्ने प्रष्ट पार्दछ ।

विकसित मुलुक वा नागरिकप्रति जिम्मेवारीबोध गर्ने राष्ट्रहरूमा अण्डामा समेत उपभोग्य मितिको लेवल लगाएर बेचविखन गरिन्छ । तर हाम्रो देशमा मौसमी बजार अनुगमनको नाटक गर्ने गरिएको छ ।

दशैँ सकिएलगत्तै चिनीजन्य, मिठाई वा तेल र घ्यूजन्य परिकारको उच्च प्रयोग तिहार र छठमा हुन्छ । बजार अनुगमन गर्ने नियमक निकायले दशैँअघि बजार अनुगमन गरी उपभोक्ताको स्वास्थ्य अधिकारभन्दा पनि आफ्नो अधिकार जमाएका कारण अक्सर तिहार वा छठको बेलामा बजार अनुगमन नगण्य मात्रामा हुने गरेको छ ।

धेरै प्रयोग गरेको तेल वा घ्यूले मुटुमा हानी पु¥याँउछ । घ्यू तथा तेलमा टोटल पोलार मटेरियल(टीपीएम) को अधिकतम सीमा २५ प्रतिशत नाघ्नु हुन्न । टीपीएम २५ प्रतिशत भन्दा बढी वस्तुले ट्रान्सफ्याट बढाउने चिकित्सकहरूको भनाइ छ । टीपीएम २५ प्रतिशत भन्दा बढी भएमा एसिडको विकास हुने र त्यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउने जानकारहरूको भनाइ छ ।

तिहार र छठ विशेष गरी तेल वा घ्यूजन्य परिकारका लागि प्रचलित छन् । अरूको बेलाको समयमा भन्दा यो वेला चिनी, मिठाई, तेल वा घ्यूको माग बजारमा सबैभन्दा बढी र उपभोक्ताले सबैभन्दा बढी खपत गर्ने गर्छन् ।

यही मौकामा बजारमा उपलब्ध खाद्यान्न, म्याद गुज्रिएका अखाद्यवस्तु विक्री, मिठाइ वा तेल र घ्यूजन्य सामग्रीमा व्यापारीहरूले मनोमानी गर्छन् । मूल्यवृद्धि गर्छन् । नियामक निकाय मुकदर्शक बनिरहन्छ ।

बिहिबार, २३ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर