हामी नसुध्रने अनि जोगवनी गए भने रुने ?

 गोकुल पराजुली

नेपालीहरुको मुख्य चाड दसैंले छोपिसकेको छ । दसैंको किनमेल गर्नेहरुको चहलपहल बजारमा बढेको छ । रोजगारीका सिलसिलामा गएकाहरु सपरिवार घर फर्किने क्रम सुरु भइसकेको छ । यो सिलसिलाला काठमाडौंको जनघनत्व पातलिँदै गएको छ भने अरु गाउँसहरमा मानिसको चहलपहल बढ्न थालेको छ । विद्यालय र कलेजहरु विदा हुन थालिसकेका छन् । दसैंमा नयाँ वस्त्र, फलफूल, खाद्यान्न तथा अन्य घरायशी प्रयोजनमा चाहिने सामानको बिक्री बढेको छ ।

विशेष गरेर विराटनगरको सन्दर्भमा हेर्दा केही दिनअघिसम्म दसैंको चहलपहलले खासै नछोएको बजारमा भीड बढेको छ । कपडा पसलहरुमा घुँइचो लाग्न थालेको छ । दसैं, तिहार र छठमा मस्त व्यापार गरेर वर्षभरि धान्नु पर्ने विराटनगरका पसलेहरु ग्राहक बढेपछि पुलकित छन् । यति हुँदाहुँदै पनि व्यापारीहरुको गुनासो छ कि ‘उपभोक्तालाई जोगवनीले बढी नै आकर्षित ग¥यो ।’ यस क्षेत्रका उपभोक्ता जोगवनी जाने क्रम घट्नुको साटो अझ बढिरहेकोप्रति उनीहरुको चिन्ता छ । यो चिन्ता जायज हो तर, कारक उपभोक्ता होइनन् स्वयं व्यापारीहरु हुन् ।

यहाँका उपभोक्ता जोगवनीतर्फ आकर्षित भए भनेर पिर लिनुभन्दा किन गइरहेका छन् भनेर व्यावसायीहरुले चिन्तन गर्नु अत्यन्त आवश्यक छ । हुन त केही महिना अगाडि सिंगो स्थानीय सरकार अर्थात विराटनगर महानगरपालिकालाई उकासेर यहाँका व्यापारीहरुले सीमा क्षेत्रमा कडाइ गर्न लगाएका थिए । आफू उपभोक्ताप्रति उत्तरदायी नहुने अनि सीमा नाकाको ढोका थुनेर स्वदेशमै लुट्ने योजना धेरै दिन टिक्न सकेन । अहिले विराटनगर र आसपासका बजारमा भन्दा जोगवनीमा नेपाली उपभोक्ताको भीड बढी छ । साँच्चै भन्ने हो भने जोगवनीमा खुकुलोसँग हिड्न सक्ने अवस्था छैन ।
यसो हुनुका पछाडि सीमावर्ती बजार उपभोक्तामैत्री नभएकै कारण प्रमुख हो । सीमाबाट टाढाका बजारमा महंगो मूल्य तिरेर आवश्यकता पूर्ति गर्न नेपाली उपभोक्ताहरु विवस छन् । तर सीमा क्षेत्र नजिकमा बसोबास गर्नेहरुलाई नेपाली बजारमा खरिद नगर्ने विकल्प खुला छ । त्यसैले सीमापारीको बजारमा यहाँका उपभोक्ताहरु ह्वार्रह्वार्ती गइरहेका छन् । नजाउन् पनि किन । भारतबाटै ल्याएको चामल हाम्रा सहरका हरेक भान्छा चलेको छ अनि त्यो चामलको मूल्य उता र यतामा आकाश जमिनको फरक छ । आम उपभोक्ताले उपभोग गर्ने जिरा मसिनो चामलकै कुरा गरौं जुन विराटनगरमा प्रतिकेजी ९० रुपैयाँ पर्छ भने जोगवनीमा ६४ रुपैयाँमा पाइन्छ । खाद्यान्न आयातमा सरकारले पाँच प्रतिशत भन्सार लिन्छ र भ्याट लाग्दैन । ढुवानी खर्चसमेत जोड्ने हो भने बढीमा ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दा व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुन्छ । तर यहाँका व्यापारीहरु त्यसो गर्न तयार छैनन् । अहिले उपभोक्ताहरुले भारतीय बजारबाटै चामल ल्याउने क्रम बढेको छ ।

अर्को चिनीको कुरा विगतदेखि नै छ । नेपालमा उत्पादन हुने चिनीले आन्तरिक माग ६ महिनाभन्दा बढी धान्दैन । बाँकी ६ महिना चिनी आयातलाई खुला गर्ने हो भने नेपालमा पनि चिनीको मूल्य प्रतिकिलो ७५ रुपैयाँ भन्दा बढी पर्दैन । तर सरकारले चिनी उद्योगहरुको संरक्षण गर्न भन्दै कोटा निर्धारण गरेर ल्याउँदा जोगवनीमा ६५ रुपैयाँमा पाइने चिनीलाई यहाँ १०० रुपैयाँ प्रतिकिलो खर्चिनु परिरहेको छ । अनि उपभोक्ता जोगवनी गए भनेर ढोका थुन्नुको के अर्थ ।

यस्ता धेरै वस्तुहरु छन् जुन् नेपाली बजारमा अचाक्ली महंगो छ । फलफूलको कुरा गर्ने हो भने उपभोक्ताहरु अत्यन्तै धेरै लुटमा परिरहेका छन् । नेपाली बजारमा चक्लेटी स्याउको मूल्य प्रतिकिलो २५० रुपैयाँ छ । जोगवनीमा अहिले ९० देखि १०० रुपैयाँमा त्यही स्याउ पाइन्छ । यहाँका उपभोक्ताको फलफूलको मुख्य बजार यतिबेला जोगवनी नै बनेको सत्य हो । जोगवनी र विराटनगरमा फलफूल आउने ठाउँ एउटै हो र ढुवानी साधन पनि उही हो । जोगवनीबाट विराटनगरसम्म लाग्ने अतिरिक्त ढुवानी खर्च, भन्सार महशुल र थप केही करसमेत जोड्ने हो भने पनि जोगवनीमा उपभोक्ताले १०० रुपैयाँमा किनेको स्याउको मूल्य विराटनगरमा १५० रुपैयाँ भन्दा बढी नपर्नु पर्ने हो ।

तर यहाँ कम्तिमा २५० रुपैयाँ लिइन्छ । अनि किन जोगवनी गए भनेर चिन्ता गरेर हुन्छ । बजार यस्तै छाडा हुने हो र उपभोक्ताप्रति जिम्मेवार नभई लुटपाट मात्र गर्ने सोचमा परिवर्तन नल्याउने हो भने विराटनगरकै बजारमा किनमेल गर भनेर कसले भन्न सक्छ ? त्यसो भन्न पनि हुँदैन ।मुख्य सवाल उपभोक्ता बाँच्नु हो । तरकारीमा प्याजको कुरा त्यस्तै गहिरो छ । यहाँ एक किलो प्याज आउने पैसाले जोगवनीमा ३ किलो आउँछ । अनि जोगवनी नगएर उपभोक्ता कहाँ जान्छन् । सरकारले प्याज उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर आयातमा भन्सार महशुल बढाएको छ ।भन्सार महशुल बढेकै कारण प्याजमा मूल्य तेब्बर हुने अवस्था छैन । तर त्यहि बहानामा उपभोक्तामाथि ठगी भइरहेको छ । अनि यो उपभोक्ताको दोष हो कि व्यापारीको ।

जायज मूल्य लिने र थोरै मुनाफा कमाउने होइन खरिदको दोब्बर तेब्बरमा बेच्ने बानी लागेको छ । कपडामा यहाँका उपभोक्ता ठगिनु त नियती नै भइसकेको छ । अनि नियमन गर्नुपर्ने, बजार अनुगमन गर्नुपर्ने र उपभोक्ताको हितरक्षा गर्नुपर्ने हाम्रा स्थानीय सरकारहरु, जिल्ला प्रशासन कार्यालयहरु गैरजिम्मेवार बन्नुको परिणति पनि हो । कपडा र भाँडाकुँडा पसलमा एक दुई पटक अनुगमन गरेर जिम्मेवार बनेको देखाउने र झारा टार्ने सरकारी संयन्त्र तरकारी र फलफूल पसल अनुगमन गरेर उनीहरुलाई जिम्मेवार बनाउन कहिल्यै तयार भएनन् ? त्यसको रहस्य के हा भन्ने कुरा बुझ्न सकिएको छैन । बजारको यस्तो अवस्थाकै कारण उपभोक्ताहरु भारतीय बजारमा आकर्षित भइरकेका छन् । जसले नेपाली उद्यम मारमा परेको छ, राजश्व चुहावट भइरहेको र अनौपचारिक व्यापार घाटा पनि अचाक्ली बढाइरहेको छ ।

बुधबार, ०१ कार्तिक, २०८०

प्रतिक्रिया

  1. एकदम समसामयिक कुरा लेख्नु भएछ धन्यवाद यो समाचार लेख्नु हुने लाई तर यति लेख्दैमा सुध्रिने व्यापारी छैनन नेपाल मा नेपाल का व्यापारी सबै माडे का गुलाम हुन माडे ले जे बोल्यो त्यही हुन्छ नेपाली बजारमा अहिले को अबस्था सरकार को यसमा चासो नै छैन सरकार लाई त कति बेला मन्त्री पड्काउने जिम्मेवार निकाय कति बेला आँखा छल्ने यही दाउ मा उपभोक्ता जहिले मारमा धन्यवाद

प्रतिक्रिया:

सम्बन्धित खवर