विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेतृत्वले सहमतिको प्रयास गरेपनि दुबै नेताहरु पछि नहटेपछि निर्वाचनबाटै अध्यक्ष छिनोफानो हुने अवस्था बनेको हो ।
अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।
अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।
नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।