कोशीको एमाले प्रतिवेदन : रास्वपासँग डर, संघीयतामाथि प्रश्न उठ्यो

विराटनगर । नेकपा एमाले कोशीले जनतामा रहेको व्यापक निराशा र असन्तुष्टिको अवस्थामा युवा पङ्क्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आकर्षित गरिरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने जनाएको छ ।

अधिवेशनमा पार्टी स्थायी समिति सदस्य शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुबोधराज प्याकुरेलले पेश गरेको आर्थिक, सामाजिक रूपान्तरण प्रस्तावमा १५ वटा चुनौति रहेको उल्लेख छ । प्रतिवेदनमा प्रदेशमा जातीय, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने प्रयासहरू भइरहेको पनि जनाइएको छ ।

केन्द्रीय राजनीतिको प्रभाव प्रत्यक्ष रूपमा प्रदेश र स्थानीय तहहरुमा देखा परिरहेको उल्लेख गर्दै प्रतिवेदनमा यस्तै राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था रहेकोले जनमत स्विङ हुने गरेको जनाइएको छ । संघीयता कार्यान्वयनको पक्ष कमजोर रहेको र प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने अधिकारहरू अहिलेसम्म हस्तान्तरण नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

निजामती सेवा ऐन नबन्दा प्रदेशको हातमा कर्मचारी संरचना नभएको उल्लेख गर्दै एमालेले केन्द्रको खटनपटनले संघीयतामाथि प्रश्न उठेको जनाएको छ । प्रहरी समायोजन हुन नसकेको अवस्थामा केन्द्रीय सत्ता र सरकारको प्रत्यक्ष प्रभाव, दबाब, छाया र आदेशमा प्रदेश सरकारहरू चलिरहेको एमालेले जनाएको छ । समृद्धिको प्रस्तावमा कर्मचारीले पनि प्रदेश सरकारलाई असहयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा विकास र समृद्धिको अभियानलाई रोक्ने कार्य गठबन्धनको नामबाट जारी रहेको आरोप लगाइएको छ । एमालेले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी भइरहेको भन्दै तराईमा रास्वपा र पहिचान नामको आन्दोलन चुनौति रहेको उल्लेख गरिएको छ ।

अधिवेशनमा एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा हाल राजनीतिक रूपमा क्रियाशील कुनै दलसँगको अन्तर्विरोध प्रधान नरहेको उल्लेख छ । राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा भूमिका खेलेका साथै विभिन्न मुद्दामा सहकार्य र प्रतिस्पर्धाको अवस्था विद्यमान रहेको हुनाले कुनै पनि दल विशेषलाई प्रधानशत्रु घोषणा गर्नु कम्युनिस्ट आन्दोलनमा अतिवादी गल्ती हुने न्यौपानेले जनाएका छन् ।

प्रतिवेदनमा नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी पार्टी मानिएको छ । प्रतिवेदनमा कोशी प्रदेश नामकरणमा पार्टीले खेलेको भूमिका ऐतिहासिक महत्वको रहेको दाबी गर्दै पहिचानको नाममा एमालेविरुद्ध अनेकौँ भ्रामक प्रचार गर्ने, पहिचानविरोधी बिल्ला भिराउने प्रयास गर्ने काम भएको उल्लेख छ ।

एमालेले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद योगेन्द्र मण्डल आफ्ना कार्यकर्ता रहेको प्रतिवेदनमा जनाएको छ । ‘जसपा–एमाले चुनावी तालमेल गरिएको मोरङ ५ बाट एमाले कार्यकर्ता योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवारको रूपमा उठेर विजयी भएका छन्,’ प्रतिवेदनमा भनिएको छ । यसअघि मण्डललाई कारबाही गरेको एमालेले जनाएको थियो ।

एमालेले २०८० पुस र माघ महिनाभरमा जिल्ला अधिवेशन गर्ने, फागुनमा पालिका अधिवेशन र चैतभरमा वडा तथा टोल अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेको छ । यस्तै एमालेले बिनाकारण ३ वटा बैठकमा नआउने कमिटी सदस्यलाई निष्कासन गर्ने, ८० सालभरिमा जनसंगठनका सबै तहमा अधिवेशन सम्मेलन गर्ने, पार्टी प्रवेश अभियान चलाउने, जनप्रतिनिधिलाई जबाफदेही बनाउने, राजनीतिक ध्रुवीकरणलाई तीव्र बनाउने प्रतिवेदनमा उल्लेख छ ।

२०८० फागुन र चैत महिनाभित्रमा २०८१ सालको पार्टी सदस्यता नवीकरण गर्ने, पार्टीको स्थापनाको ७५ औँ वर्ष हीरक महोत्सव मनाउने, सेल्टरदाताको विवरण तयार गर्ने प्रतिवेदनमा उल्लेख छ ।

एमालेले वैचारिक राजनीतिक कामलाई पनि तीव्र पार्ने भएको छ । प्रतिवेदनमा २ हजार प्रशिक्षक तयार पारेर प्रदेश समितिले हरेक १० दिनमा एउटाका दरले महिनामा तीनवटा प्रशिक्षण कार्यक्रम गर्ने र प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा ५६ जना गरेर प्रदेशभरि वर्षमा २०१६ जनालाई प्रशिक्षित गर्ने भएको छ ।

एमालेले इलामको निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनको तयारी सुरु गर्ने पनि जनाएको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

शनिबार, १३ असोज, २०८०, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर