एमाले कोशी प्रदेश अधिवेशन

जब केपी ओलीले विनोद ढकाललाई अँगालो हाले र भने ‘शुभकामना…’

विराटनगर एयरपोर्टमा अध्यक्ष ओलीलाई विदा गर्न पुगेका ढकाललाई ओलीले न्यानो माया र ‘शुभकामना’ दिएका छन् ।

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशनले विराटनगर गर्माएको छ । अधिवेशनमा नयाँ नेतृत्व कसले पाउँछ भन्ने एमालेवृत्तमा चासो छ । दोस्रो तहका नेताहरु पक्ष–विपक्षमा खुल्दै गएका छन् ।

घनश्याम खतिवडालाई अबको अध्यक्ष बनाउनुपर्छ भन्ने मान्यता राख्ने कतिपय दोस्रो तहका नेताहरु विनोद ढकाललाई ‘विद्यादेवी भण्डारीको लाइन’ भन्दै उनलाई रोक्न लागिरहेका छन् । तर, कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई पनि कुनै लाइन नदिएको र विनोद ढकालप्रति सहानुभूति राखिरहेको तल्लो तहका महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । जुन कुराको पुष्टि अध्यक्ष ओली आफैंले शुक्रबार बेलुका विराटनगरबाट काठमाडौं जाने क्रममा एयरपोर्टमा विनोद ढकाललाई दर्शाएको मायाले देखाएको छ ।

विदाई गर्न एयरपोर्टको भीआइपी कक्षमा पुगेका ढकाललाई ओलीले अँगालो मारेर शुभकामना दिएको प्रत्यक्षदर्शी एमालेकै नेताहरु बताउँछन् । ‘अँगालो मारेर अध्यक्षले शुभकामना दिनुभयो, केहीबेर कानेखुसी गर्नुभयो र थप कुरा फोनमा गरौंला मेरो शुभकामना छ भन्नुभयो,’ ती प्रत्यक्षदर्शीले भने । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटनका क्रममा भए सहमति नभए चुनाव हुन्छ भनेका थिए । अन्य प्रदेशहरुमा चुनाव नगराउन र सहमति गराउन जोड गरेका ओलीले कोशी प्रदेशमा भने ढकाल र खतिवडा दुवैलाई नचिढ्याउने रणनीति बनाएको कार्यकर्ताहरु बताउँछन् । ‘यो प्रदेश अध्यक्षको आफ्नो प्रदेश हो, यहाँ विवाद भयो भने उहाँलाई पनि नराम्रो हुन्छ । अर्को कुरा उहाँले दुवैजनालाई माया गर्नुहुन्छ, कसैलाई पाखा र काखा गर्दिन भनेर हाम्रो सामुन्ने भन्नुभएको छ,’ उनले भने, ‘कतिपय दोस्रो तहका नेताले भनेजस्तो उहाँको उम्मेद्वार खतिवडा एक्लो होइन, उम्मेद्वार हुँदा दुवैजना उहाँकै उम्मेद्वार हुन् ।’

नेकपा एमाले मोरङमा खतिवडा र विनोद ढकालको राजनीति समकालिन जस्तै छ । तर, खतिवडाको भन्दा क्षमताको हिसावले ढकाल अब्बल मानिन्छन् । साधन, स्रोत, कार्यकर्ताको संरक्षण, पार्टीको समग्र परिचालन र व्यवस्थापनमा उनको सँधै प्रशंसा हुने गरेको छ । ‘तलका प्रतिनिधिहरु धेरै विनोद ढकाललाई नै अध्यक्ष भएको हेर्न चाहन्छन्,’ मोरङका एक प्रतिनिधि भन्छन्, ‘त्यो कुरा बुझेरै अध्यक्ष ओलीले मिले सहमति हुन्छ नमिले निर्वाचनबाट जो आउँदा पनि हुन्छ भनेर तटस्थ बस्नुभएको हुनसक्छ ।’ महाधिवेशनमा आएका धेरै कार्यकर्ताको भावना ढकाल अध्यक्ष भए हुन्थ्यो भन्ने रहेको देखिएपछि ओलीले उनैलाई बोलाएरै अँगालो मारेको अर्का प्रतिनिधि बताउँछन् ।

ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् । पार्टीभित्र विवाद सिर्जना हुँदा मिलाउने भूमिकामा ढकालको पहलकदमी सँधै प्रसंशनीय हुने गरेको एमालेहरु नै बताउँछन् ।

नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बन्ने परिस्थितिमा ढकाल नभएको भए एमाले मोरङमा मात्रै होइन प्रदेशमै ठूलो क्षति हुने विश्लेषण गरिन्छ । माधवकुमार नेपालका समर्थकहरु धेरै भएको जिल्ला मोरङमा लामो समयदेखि ओली पक्षमा रहेरै ढकालले ‘पिल्लर’को काम गरेका छन् । ‘ढकाल थिएनन् भने मोरङ एमालेमा ठूलो विभाजन हुन्थ्यो, उनैको कारण रोकियो,’ एमालेका स्थानीय एक नेताले भने । पार्टीभित्र ढकाल लोकप्रिय छन् ।

यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समयसम्म माधवकुमार नेपालको लाइनमा रहेका खतिवडा ७२ सालपछि भने ओली लाइनमा आएका हुन् । कुनै बेला उनै ढकालले खतिवडालाई मोरङ अध्यक्षमा पराजित गरेका थिए । अहिले पुनः खतिवडा र ढकालबीच कोशी प्रदेशको अध्यक्ष पदमा प्रतिस्पर्धा हुने सम्भावना बढेर गएको छ ।

यस्तै प्रदेश अध्यक्षमा दाबी गरेका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले पनि आफ्नो दाबी छोडेको बताइन्छ । अन्य पदहरुमा भने दाबी गर्नेको संख्या बढ्दै गएको छ । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनका लागि मनोनयन हुने ५० जना प्रतिनिधि भने अझै चयन भएका छैनन् । नेतृत्वमा भइरहेको हानाथाप र विवाद कै कारण अहिलेसम्म प्रतिनिधिहरु मनोनयन हुन नसकेको हो । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

शुक्रबार, १२ असोज, २०८०, रातीको ०८:४९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर