विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यबाट ज्यादतीपूर्ण व्यवहार भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्नुहुँदै अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरी सरकारले ज्यादतीपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका हुन् ।
दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको उहाँको भनाइ थियो । ‘सरकार अपराधी छोड्न सिफारिस गर्ने, राष्ट्रपति कांग्रेसको त्यसमा पनि तरुण दलको सभापति नै भएपछि मान्छे काटेपनि माफि दिनुपर्छ भनेर छोड्ने अनि कांग्रेसका नेताहरु अपराधीलाई फुलमाला लगाउने काम गरिरहेका छन्, विपक्षीलाई मुद्दा लगाउने ज्यादतीपूर्ण व्यवहार सरकारले गरिरहेको छ,’ अध्यक्ष ओलीले भने ।
अधिकांशी समय सरकार र सत्ता गठबन्धनलाई गाली गर्नमै खर्चनुभएका अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा पनि दिए । ‘यो गठबन्धन नेपालका लागि पिलो हो, पीडा हो र जनताका लागि आँशु हो आँशु,’ अध्यक्ष ओलीले भने ‘अहिले शिक्षकहरु सडकमा छन्, पेशाकर्मीहरु आन्दोलनमा छन्, उद्योगीहरु सडकमा छन्, उद्योग कसरी चलाउने, ब्याज कसरी तिर्ने भनिरहेका छन् र यो बेलामा दक्षिणपन्थी अतिवादी शक्ति र हिंसा भड्काउन खोज्ने तत्वहरु फाइदा लिन खोज्दैछन् ।’ उनले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिनाअर्थको विदेश भ्रमण गरेको टिप्पणी गरे । ‘प्रधानमन्त्री छुट्टी मनाउन विदेश गएजस्तो छ, दुई हप्ता लामो विदेश भ्रमण कुनै देशका प्रधानमन्त्रीले गर्दैनन्, बरु हामीजस्ता रिटायर्ड भएकाले गर्दा मिल्छ,’ उनले भने ‘भ्रमणमा गएर देश र राष्ट्रिय हितको पक्षमा बोल्न नसक्ने, सीमाको समस्या उठाउन नसक्ने भ्रमण किन गर्नुपर्यो । दक्षिण जाँदा गेरु बस्त्र लगाउने, १०८ किलो रुद्राक्ष चढाउने, उत्तर जाँदा मानसरोबरमा डुबुल्की मार्ने बाहेक भ्रमणमा केही भएको छैन ।’
अध्यक्ष ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्न नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् । जसरी निर्वाचित भएपनि विरोधीले आफूहरुलाई धर नदिने भन्दै उनले भने ‘सर्वसम्मति गर्नुभयो भने विरोधीहरुले एमालेले चुनाव भन्ने कुरा कहाँ छ र भन्नेछन् अनि निर्वाचन गरेर प्रतिस्पर्धा गर्नुभयो भने एमालेमा असन्तुष्टि बढ्यो भन्ने छन्, जसरी पनि विरोधीले विरोध गर्नेछन् ।’ सर्वसहमति बनेन र निर्वाचन नै भयो भने पनि कुइँना ठोकाठोक नगर्नुहोला ।’
कोशी प्रदेश अधिवेशनमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सर्वसम्मतिबाट नेतृत्व छान्न सबैलाई आग्रह गरे । यस्तै महासचिव शंकर पोखरेलले पहिचानको नाममा नेकपा एमालेमाथि आक्रमण बढिरहेको भन्दै एमाले पहिचान विरोधी पार्टी नभएको बताए ।
मुलुक प्रदेश संरचनामा गएपछि नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छन् ।