नेकपा एमाले कोशीको अधिवेशन सुरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशन उद्घाटन गरेका हुन् ।

अधिवेशनमा सहभागी हुन एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु सहभागी छन् ।

मुलुक प्रदेश संरचनामा गएपछि नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छन् ।

यसैबीच विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै एमाले अध्यक्ष ओलीले सरकारले जनभावना अनुसार काम नगरेको भन्दै यो सरकार रहेसम्म मुलुकलाई फाइदा नहुने बताएका थिए ।

उनले सरकारमा कांग्रेसको भूमिका नदेखिएको टिप्पणी पनि गरे । सरकारको विकल्का बारेमा दलहरुले छलफल चलाउने बेला भएको तर आफूहरु सरकारमा जान इच्छुक नरहेको उनले बताए ।

शुक्रबार, १२ असोज, २०८०, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर