खोटाङमा सुमो चालक मृत भेटिए

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालकको शव फेला परेको छ ।

यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौ चलाउने चालक नवराज आचार्यको शव रावाबेँसी वडा नं ३ ऐसेलुखर्क बजारको त्रिभुवन माध्यमिक विद्यालयको गेट नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । शव शङ्कास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिए । ‘आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ’, उनले भने, ‘आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।’

बुधवार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए ।

आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौंबाट घटनास्थल आउँदै गरेको जनाइएको छ ।

बिहिबार, ११ असोज, २०८०, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर