विराटनगर । कोसी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाहेकका पार्टीहरुले संसदीय दलको कार्यसमितिलाई अझै पूर्णता दिएका छैनन् ।
प्रदेशसभा संचालन नियमावलीको परिच्छेद २३ मा दलको कार्यालय र त्यस सम्बन्धी व्यवस्था छ । यसअनुरुप दलले आफ्नो सदस्यहरुको विवरण सभालाई उपलब्ध गराउनु पर्छ । दललाई आफ्नो छुट्टै विधानसमेत निर्माण गर्ने अधिकार छ । यही विधानअनुरुप दल संचालन हुने व्यवस्था छ ।
हाल कोशी प्रदेशसभामा ६ दल छन् । तीमध्ये एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचतेक समेत चयन गरी कार्यसमितिलाई पूर्णता दिइसकेको छ । सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता हिक्मत कार्की छन् । अहिले उनले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । एमाले उपनेता रामबहादुर मगर, प्रमुख सचेतक रेवतिरमण भण्डारी र सचेतक कमला दर्नाल छन् । दर्नाललाई संसदीय दलले आइतबार सचेतक नियुक्त गरेको हो ।
यसअघि सो जिम्मेवारीमा रहेकी सिर्जना राई प्रदेशको सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् । राईको स्थानमा एमालेले तेह्रथुमकी सांसद दर्नाललाई सचेतक नियुक्त गरेको हो । प्रमुख सचेतक भण्डारीले भने,“हामीले सबैभन्दा पहिले पदाधिकारी चयनदेखि दललाई पूर्णता दिने काम गरेका हौं ।” कोशी प्रदेशसभामा (सभामुखसहित) एमालेका ४० सांसद छन् ।सभामा दोस्रो ठूलो दल कांग्रेसका २९ सांसद छन् । कांग्रेसले भने दललाई पूर्णता दिइसकेको छैन । संसदीय दलको नेता उद्धव थापा, उपनेता हिमाल कार्की र प्रमुख सचेतक भुपेन्द्र राई छन् । कांग्रेसले सचेतक भने चयन गर्न बाँकी छ । प्रमुख सचेतक राईले चाँडै नै दलका पदाधिकारी पूर्णता दिने तयारी रहेको सुनाए ।
तेस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दलको नेताबाहेक अरु पदाधिकारी चयन गरेको छैन् । माओवादी केन्द्र दलको नेतामा इन्द्रबहादुर आङ्बो छन् । माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले आफ्नो पार्टीले दलमा पदाधिकारी चयन गर्न बाँकी रहेको बताउँदै भने, “अहिले सबै निर्णय र दलको प्रतिनिधित्व दलका नेताले नै गर्दै आउनु भएको छ । हामीले दललाई पूर्णता दिन आग्रह गरिरहेका छौं ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । उपेनता र सचेतक भने चयन गर्न बाँकी छ । राप्रपा सांसद सविना बजगाईंले भनिन्, “बाँकी पदाधिकारी चयन गर्ने विषयमा दलको बैठकमा समेत छलफल अघि बढेको छैन् ।” प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । दलको नेता भक्तिप्रसाद सिटौला र प्रमुख सचेतक अमरबहादुर विष्ट छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दलको नेताको जिम्मेवारीमा राजेन्द्र राई छन् । सभामा ४ जना सांसद रहेको समाजवादीले पदाधिकारी चयन गर्नेबारे थप केही छलफल नगरेको सांसद विद्या चाम्लिङले बताइन् ।कोशी प्रदेशसभामा एक जनामात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) मा निर्मला तावा लिम्बू दलको नेता छन् । कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि सभामुख चयन गर्न बाँकी छ ।