त्रियुगाका पूर्वमेयर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

त्रियुगाका पूर्वमेयर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । उदयपुरको त्रियुवा नगरपालिकाका पूर्वप्रमुख एवं नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रियुगा नगरपालिकाका पूर्वप्रमुख चौधरीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, राजश्व शाखा प्रमुख र ठेकेदारसमेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले विषेश अदालतमा बुधार ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएको भन्दै मुद्दा दर्ता गरेको हो । आर्थिक वर्ष ०७८–७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानि नोक्सानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान गरि मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरि नगरस्तरीय राजस्व परामर्श समितिले आय प्रक्षेपण गरेकोमा नगर कार्यपालिकाको बैठकले न्यूनतम अंक कायम गरि मिलेमतोमा ठेक्का लगाएको अख्तियारको ठहर छ । नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आईई प्रतिबेदन वेवास्ता गरि ६२ लाख ९१ हजार २०४ रुपैयाँ२२ पैसा राजश्व चुहावट गरेको अख्तियारको आरोप छ । यस्तै चौधरीले ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको भन्दै चौधरीले १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट गरेको अख्तियारले जनाएको छ ।

चौधरीले जम्मा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा सोही रकम विगो कायम गरि मुद्दा दायर गरिएको हो । उनलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम कैद सजाय र चुहावट गरेको राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३२ पैसा जरिवाना हुनुपर्ने अख्तियारको मागदाबी छ ।

अख्तियारले त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्कीले चौधरीसँगको मिलेमतोमा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ । कार्कीलाई पनि कैद र १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३२ पैसा जरिवाना हुनुपर्ने अख्तियारको मागदाबी छ।

सो प्रकरणमा त्रियुगा नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकालविरुद्ध पनि सोही विगो कायम गरि जरिवाना र कैदको मागसहित मुद्दा दायर गरिएको छ । ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको कारण राजस्व चुहावट भएको अख्तियारको आरोप छ ।

अख्तियारले सो प्रकरणमा निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ । नगर प्रमुख बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की र तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त बिपरित बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको भन्दै बछारविरुद्ध मुद्दा दायर भएको हो । उनीविरुद्ध सम्झौताको सर्त बमोजिमको कार्य नगरी बलौटे र भरौट माटो अबैध रुपमा उत्खनन र बिक्री गरी १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा राजस्व चुहावटमा मतियार भएको अखियोगमा कैद सजायसहित सोही रकम विगो कायम गरि त्यसको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ ८८ पैसा असुलउपर गर्न अख्तियारको मागदावी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्